१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

व्यायायमको उचित समय महिला र पुरुषका लागि फरक


२२ जेठ, काठमाडाैँ । व्यायायम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायायम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायायम समय फरक हुनुपर्छ ।

अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायायम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । अध्ययनअनुसार बिहानको व्यायायममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायायम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको थियो । अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो ।

स्किडमोर कलेजका स्वास्थ्य र मानव शारीरिक विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक डा. पल अर्सेरियोले भने, ‘व्यायायमको लागि उत्तम समय भनेको तपाईंले यसलाई गर्न र आफ्नो तालिकामा फिट गर्न सक्ने उत्तम समय हो ।’

अनुसन्धान समूहले बिहानकोे तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायायममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्धयनमा उल्लेख छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १४:०५