८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोट एमालेका लागि दुई विकल्पः सुध्रिने कि सत्यानाशको बाटो रोज्ने ?


–रामचन्द्र भट्ट

हुनतः मैले जीवनमा पहिलो मताधिकार प्रयोग गरेको बिक्रम सम्वत् २०४८ मा हो । बहुदलीय प्रजातन्त्र पुनःस्थापना पछिको पहिलो संसदीय चुनावमा पहिलो मत प्रयोग गरेको थिएँ । तर, चुनावलाई हल्का रुपमा बुझेको र महसुस गरेको भने त्यसको नौ वर्ष पहिलेनै अर्थात २०३९ सालमै हो । जतिखेर तत्कालिन विदुर गाउँ पञ्चायतको चुनाव थियो ।

नौ वर्षको उमेर भएपनि प्रधानपञ्चमा गाउँकै शिवप्रसाद गजुरेल उम्मेदवार थिए । मेरा पिताजीले गजुरेललाई सहयोग गर्नुभएको थियो । घरमा चुनावका रणनीति बन्नेदेखि लिएर पर्चा, पोष्टरहरु थुप्रै हुन्थे । त्यतिखेरको जिल्ला सदरमुकाम रहेको हुँदा विदुर गाउँ पञ्चायतको सिमाना ढुंगेको धोबीखोलादेखि सुरु भएर देबीघाटसम्ममात्र थियो । मेरो गाउँ पिपल्टारनै तीनवटा वडामा विभक्त थियो ।

२०३९ को चुनावमा प्रधानपञ्चमा शिबप्रसादले जिते । उपप्रधानमञ्च भने बट्टार बजारका जनकलाल श्रेष्ठ चुनिए । तत्कालिन ५ नम्बर वडाको वडाध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित भएका थिए । २०४४ मा जब नगरपञ्चायत बनाइयो त्यतिखेर तत्कालिन त्रिशूली गाउँ पञ्चायत, भैरबी गाउँ पञ्चायतका केही भाग र विदुर गाउँ पञ्चायतलाई पुरै मिलाइएको थियो ।

नगर पंचायत भएपछि विदुरको पहिलो प्रधानपञ्च शिवप्रसादनै निर्वाचित भए । त्यतिखेर उप–प्रधानपञ्च भने समाजसेवी लालबहादुर ओझा चुनिए । त्यतिखेर नगरका वडाहरुका सिमानामा व्यापक फेरवदल गरिएको थियो । पिपल्टारको आधा भाग ५ नम्बर वडा र आधा भाग ७ नम्बर वडामा पारियो । ५ नम्बर वडा गंगटेबाट सुरु भएर पिपल्टारको आधासम्म थियो भने ७ नम्बर पिपल्टारबाट सुरु भएर देबीघाटसम्म फैलिएको थियो ।

बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि भएको विदुर नगरपालिकाको चुनावमा नेपाली कांग्रेसबाट मेयरमा शिवप्रसादलाई टिकट दिइयो । त्यतिखेर एमालेबाट उम्मेदवार भएका ठाकुरप्रसाद गजुरेलले बाजी मारे । उपमेयरमा त्रिशूलीका माणिकलाल श्रेष्ठले जिते ।

एमालेले टिकट दिँदा भेगीय र जातीय सन्तुलन मिलाउनका लागि निकै विचार पु¥याएको थियो । तर कांग्रेसले त्यो विचार त पु¥याएन नै । पंचायतकै विभिन्न तहमा निर्वाचित भएकालाई जनआन्दोलनको भावना विपरित टिकट बाँड्यो । २०५४ को नगर निर्वाचनमा समेत त्यही गल्तीलाई फेरि दोहो¥यायो नेपाली कांग्रेसले । त्यसको परिणाम विदुर नगरपालिकामा नेपाली कांग्रेस सदा पछि परिरह्यो । २०७४ मा कांग्रेसले केही सुधार गरेपनि चुनाव जित्न सकेन ।

यसपटक अर्थात २०७९ को चुनाव नुवाकोट एमालेका लागि ठूलो क्षतीको वर्ष बनेको छ । ३० वर्षदेखि एमालेले आफ्नो किल्ला बनाउँदै आएको विदुर नगरबाट हात धोएको छ । २०४९ सालमा देशै भरिका स्थानीय निकायमा नेपाली कांग्रेसले जितेको, नुवाकोटका पनि एमालेले केही गाउँ विकास समितिहरु जितेको थियो । त्यस्तो अवस्थामा समेत एमालेले पकड जमाएको विदुर यसपटक हातबाट गुमेको छ । गंभीर भएर सोच्ने हो भने यो भन्दा ठूलो पीडा एमाले हुँ भन्नेहरुलाई नहुनु पर्ने हो । यो भन्दा ठूलो झड्का अरु कुनै पनि नलाग्नुपर्ने हो ।

तर, एमालेका नेताहरु अझै चेतेका छैनन् । उनीहरुको चेत पलाउन अझै बाँकी छ भन्ने तथ्य बुझ्न गहन बैठक हुन जरुरी पनि छैन । नत कुनै आयोग बनाउन र त्यसको प्रतिवेदन कुर्ननै पर्ने देखिन्छ । आफूले टिकट नपाएपछि किन जिताउने भन्ने सोच हाँडीघोप्टे स्वभावले एमालेले तीन दशकपछि विदुर नगर गुमाएको छ ।

विदुर नगर गुमाउनुमा धेरै कारण एमाले भित्रको आन्तरिक द्वन्द्व होला । थोरै कारणमध्य नगरप्रमुख भएका सञ्जु पण्डितले डेलिभर्ड गर्न नसकेका काम, हुन नसकेका विकास, उनले बेलाबखतमा चिढाएका जनता/मतदाता पनि पक्कै होलान् । टिकटका आकांक्षीहरु बढ्नु, उम्मेदवारी चयनमा खल्तीबाट सूचि निकालेर टिकट दिने परम्परा पनि पक्कै कारण होला । तर अघिल्लो पटकनै आउन दिन नहुने समस्यालाई यसपटक पनि जब निरन्तरता दिइयो । त्यसको कारणले पनि यसपटक एमालेले विदुर गुमाएको ठोकुवा गर्न गाह्रो छैन ।

मैले माथि सुरुमै विदुर गाउँ पञ्चायतका लागि २०३९ सालमा भएको चुनावको प्रसंग उठाइसकेको छु । त्यतिखेर प्रधानपञ्च खस ब्राह्मण समुदायका थिए । उपप्रधान भने नेवार समुदायबाट निर्वाचित भएका थिए । २०४९ र २०५४ मा एमालेले टिकट वितरण गर्दा उपमेयरमा नेवार समुदायबाट माणिकलाल श्रेष्ठलाई खडा गरेको थियो । त्यसले गर्दा एमालेले सहजै जीत हाँसिल गरेको थियो ।

तस्बीरमा नेकपा (एमाले)की केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे, नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा र नेकपा (एमाले) नुवाकोटको जिल्ला कमिटीका अध्यक्ष बद्री मैनाली । उनीहरू नुवाकोट एमालेको अहिलेको निर्णायक नेताहरू हुन । लेखकले आफ्नो विचारमा नेताहरूको नाम व्यक्तिगत ढंगले उल्लेख नगरेको भए पनि पाठकले बुझ्न सजिलो होस भनेर नेतृत्वको तस्बीर प्रस्तुत गरिएको हो । -सम्पादक

कसैलाई अप्रिय लाग्न पनि सक्छ । वर्ग, जातका कुरा उठाउनु ठीक होइन भन्ने कुरा नमिठो पनि हुनसक्छ । तर विचार, सिद्धान्तले मात्र देश, शासन, पार्टी, सरकार, संगठन चल्दैनन् । ती सबै बन्ने भनेको व्यक्ति मिलेर हो । हरेक व्यक्तिका फरक फरक सोच हुन्छन् । त्यो सोचले कहिलेकाँही सिद्धान्त, नीतिलाई भुल्छ ।

जतिसुकै आदर्शका कुरा गरेपनि राजधानी काठमाडौंमा कुनै सुदूरपश्चिमका दुईजना भेटिए भने तिनले आफ्नै भेगमा बोलिने भाषामा कुरा गर्न थालिहाल्छन् । तराईका कुनै दुई बाटामा भेटिए भने मैथिलीमा कुराकानी गर्न सुरु गर्छन् । दुई नेवार भेट हुँदा उनीहरुले पनि आफ्नो मातृभाषामा कुरा थाल्छन् । यसले के प्रष्ट पार्छ भने मानिसलाई प्रभावमा पार्नुछ भने भाषा मार्फत सबैभन्दा सहज हुन्छ ।

दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मण्डेलाले भनेका थिए–‘यदी तिमीले अरुले बुझ्ने भाषामा कुराकानी ग¥यौ भने त्यो सुन्ने श्रोताको दिमागमा बस्छ । तर तिमीले उसले बोल्ने भाषामा कुराकानी ग¥यौ भने त्यो उसको हृदयमा गएर बस्छ ।’

हो, एमालेले भाइटल पोजिसनमा उम्मेदवारी दिँदा यसपटक चुकेको परिणामले निर्वाचन परिणाम प्रतिकुल आएको हो । अघिल्लो पटक मेयर, उपमेयर जसरी खस आर्य समुदायबाटै दिइयो । यसपटक त्यो गल्तीलाई निरन्तरता दिनु एमालेका नेताहरुका गंभीर लापरवाही र हेलचक्राई हो ।

विदुर नगरपालिकाका त्रिशूली, बट्टार, गंगटे, देबीघाट, विदुर, नुवाकोट जस्ता घना आवादी भएका वस्तीहरुमा नेवार समुदायको बाहुल्यता छ । तर मुख्य पदमा एमालेले उम्मेदवारी दिनका लागि जुन हिसाबले चुक्यो त्यसको असर चुनावमा देखियो । त्यसको फाइदा नेपाली कांग्रेस लगायत गठवन्धनले यसपटक व्यवस्थित साथ उठाएको देखिएको छ ।

यसपटक कांग्रेसले विदुरको इतिहासमै पहिलोपटक नेवार समुदायबाट मेयरको उम्मेदवार बनायो । त्यसले गर्दा नेवार समुदायको अधिकांश भोट कांग्रेसका राजन श्रेष्ठले लिन सफल भए । विदुर नपाका नेवार समुदाय लामो समयदेखि नेतृत्वका लागि लालायीत रहेको तथ्य बाहिर आइरहेकै थिए । ३५ वर्षदेखि अरुलाई बोकेर हिँडेको यो समुदायबाटै एमालेले उम्मेदवार दिएको भए शायद जित्ने थियो या हारेकै भएपनि यति ठूलो मतान्तर हुने थिएन भन्ने एउटा अनुमान गर्न सकिन्छ ।

एमाले यसपटक जिल्लाका स्थानीय निकायमा पखालिएको छ । २०४९ सालको भन्दा पनि दयनीय अवस्थामा पुगेको छ । यसको कारण पक्कै एमालेले निकालिसक्यो पनि होला । विवेक प्रयोग गरेर आगामी दिनमा सुध्रिने कि अब सत्यानाशको बाटो रोज्ने नुवाकोट एमालेका नेता, कार्यकर्ताहरुका लागि यी दुई बाटामात्र अघिल्तिर छन् ।

(त्रिशुली प्रवाह साप्ताहिकमा प्रकाशित भट्टको लेख उनको अनुमतिमा दैनिकीमा प्रकाशन गरिएको हो । सम्पादक)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १७:३४