८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पर्यटन विभागबाट मात्रै एक महिनामा बीस करोड राजश्व संकलन


९ साउन, काठमाडाैँ ।  चालु आर्थिक वर्षको एक महिनामा पर्यटन विभागले रु २० करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा विभागले आव २०७४÷०७५ मा रु एक अर्ब तीन करोड सात लाख ८९ हजार ७२९ राजश्व उठाएको थियो । आव २०७३÷०७४ मा रु ६६ करोड ७४ लाख ८० हजार ४९ बराबरको राजश्व सङ्कलन गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हालै विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव २०७२÷०७३ मा रु ६० करोड ४९ लाख ९२ हजार २७६ बराबरको राजश्व उठाएको थियो ।

विभागले पर्यटनसँग सम्बन्धित विभिन्न संस्था दर्ता शुल्कबाट रु दुई करोड ७२ लाख १९ हजार ५५० बराबरको राजश्व उठाएको छ । आव २०७३÷०७४ मा रु पाँच करोड २५ लाख ९८ हजार ९२७ राजश्व सङ्कलन गरेको थियो ।

सो आवको भन्दा गत आवमा संस्था दर्तातर्फको राजश्वमा भने कमी आएको छ । क्यासिनोबाट प्राप्त रोयल्टी शीर्षकमा भने राजश्व सङ्कलन आव २०७३÷०७४ को तुलनामा बढेर रु ४० करोड ६७ लाख पुगेको छ । सो आवमा मात्रै रु २२ करोड छ लाख १० हजार सङ्कलन भएको थियो ।

आव २०७२÷०७३ मा सो शीर्षकमा रु ३१ करोड ८० लाख ७५ हजार सङ्कलन भएको थियो । विभागले अन्य प्रशासनिक सेवा शुल्कबाट रु चार लाख २९ हजार ९०० सङ्कलन गरेको छ । विभागको महत्वपूर्ण आम्दानीको स्रोतका रुपमा रहेको पर्वतारोहण र पदयात्रा स्वीकृत शुल्कबाट रु ४६ करोड ६१ लाख ६२ हजार ७६ सङ्कलन गरेको छ । आव २०७३÷०७४ मा उक्त शुल्कबाट रु ३९ करोड ३४ लाख ९८ हजार ५२२ सङ्कलन भएको थियो ।

आव २०७२÷०७३ मा रु २५ करोड ८६ लाख ९३ हजार १६९ सङ्कलन गरेको थियो । यस्तै विभागले हनुमानढोका कुमारी चोकबाट मात्रै रु १३ करोडको हाराहारीमा राजश्व सङ्कलन गरेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले राजश्व सङ्कलनमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।

विभागको सम्पूर्ण कार्यालयसहित आव २०७४÷०७५ मा ६.१५ प्रतिशत मात्रै बेरुजु फछ्र्योट गरेको छ । यस्तै विभागको मात्रै भने ४९.४५ प्रतिशत बेरुजु फछ्र्यौट भएको विवरणमा उल्लेख छ ।

चालू आवमा भने विभागले असुली लगत कायम गर्ने तथा असुलतर्फ आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार २३:२७