१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022

प्रस्तावित निजगढ विमानस्थल र अदालतको फैसला

-अर्जुन पाण्डे

अदालतले निजगढ विमानस्थल निर्माणमा रोक लगाएको फैसला अहिले सबैतिर चर्चाको विषय छ । रोचक त के छ भने सरकारी तथा प्रतिपक्ष दुवैको भनाइ उहि छ । अदालतले औकात नाघ्यो । जहिले जहिले नेपालमा विकास योजनाका कुरा उठ्छन् तब क्यै न क्यै फण्डा आइलाग्छन् र त्यो विथोलिन्छ । यो नेपालको दूर्भाथ्ग्य हो । यस्तै विश्वास धेरैमा छ । तर सत्य के पनि हो भने अध्ययन गर्नु तथ्य केलाउनु भन्दा भटाभट टिप्पणी गर्ने हाम्रो राष्ट्रिय बानी छ ।

हो मा हो मिलाएर अदालतले विकासमा भाँजो हाल्यो भन्ने आवाज देशका पक्ष विपक्षका ठूला साना नेतादेखि समान्यजनसम्म नै घनिभूत भैरहेको बखत म आफैँ पनि त्यै मेसोमा परेको ठान्छु र त्यही होहोमा लोली मिलाउन पुगेकोमा अहिले स्वआलोचित छु । सबै पक्षलाइ केलाएर हेर्दा, यथार्थमा अदालतले जे गर्यो त्यो बेठीक रहेनछ भन्ने निष्कर्षमा पुगेको छु कारण यहाँ अनुत्तरित धेरै प्रश्नहरु छन् जसलाई नाघेर कुनै पनि योजना अघिबढ्न सक्दैन । बढाउनु हुन्न ।

जस्तैः
१. वातावरणीय पक्षः हामी सबैले देखेको, पूर्व पश्चिम राजमार्गको पथलैया देखि पूर्व तर्फ जाँदा जुन जंगल देख्दछौं त्यो पश्चिमको त्रिवेणी धाम देखि पूर्व, चितवन राष्टिय निकुन्ज र पर्सा आरक्षणसंग जोडिएको लामो जंगलको अंग हो (निजगढको यो जंगललाइ बम्जन तपस्या जंगल पनि भन्ने गरिएको छ) ।

बाघ, चितुवा, भालु, हात्ती जस्ता बन्यजन्तुहरुको बासस्थान मात्र होइन, ति पूर्व मेची पारी देखि पश्चिम त्रिबेणी सम्म ओहोर दोहोर गर्ने यो नेपालको मूल जंगल हो भन्दा हुन्छ । निजगढको यति ठूलो जंगल सखाप पार्दा ति बन्यजन्तु कहाँ जान्छन् ? बन फडानीबाट ठूलो संख्यामा विस्थापित हुन पुग्ने स्पष्ट देखिन्छ । यो अत्यन्त संबेदनशील विषय छ । यसो गर्नु भनेको देशको पर्यटन क्षेत्रलाइ सोझै असर गर्नु हो ।

२. रुख काट्ने कुराः यो एउटा यस्तो प्रोजेक्ट हो जहाँ मुल परियोजनाको छेउछाउका अलि अलि रुख काट्ने होइन, मूल जंगल नै सखाप पार्ने हो । झण्डै नौ हज्जार हेक्टर जंगल फाँड्ने हो । यहाँ चौबिस लाख रुख काट्नु पर्छ । नेपालमा एकै चोटी यति ठूलो बन विनाश शायदै कहिल्यै होला । के हाम्रो तराइमा जंगल फडानी नगरीकन दुइ तिन हजार हेक्टर जमीन भेट्न सकिन्न ?

३. बृक्षारोपण गर्ने कुराः विमानस्थल बनाउन बन फडानी भएपछि त्यसको सट्टा छ करोड रुख रोप्ने भनिएको छ जसको निम्ति अर्को २४ । २५ हज्जार हेक्टर जमीन चहिन्छ त्यो कहाँ हो ? त्यसको पत्तो छैन । अर्को तर्फ बन विनास अन्तराष्टिय चासोको विषय पनि हो । हामी आफैले सही गरेका वातावरणीय सन्धीहरु छन् । यही कारणले आन्तरराष्टिय समुदाय विपक्षमा जान सक्छन् ।

४. स्थान विशेषः विमानस्थल बनाउने भनिएको निजगड जंगलको दुइ तर्फ ठूला नदिः (खहरे ?) पूर्व तर्फ लाल बकैया र पश्चिम तर्फ पसाहा नदि छन् । यि दुवै बर्षातमा पहाड र चुरिया देखि ठूूलो आयतनमा माटो ढुंगा बगाएर ल्याउने नदि हुन् । बर्षतमा आउने बाढीको दृष्टिले यो ठाउँ सुरक्षित छैन । हामीसंग यो भन्दा सुरक्षित ठाउँहरु विकल्पमा छन् ।

५. स्मार्ट सिटीः विमानस्थल सम्पूर्ण प्रोजेक्टका निम्ति आठ हजार पैंतालिस हेक्टर जमीन माग गरिएको छ । २५ सय, ३ हजार हेक्टर जमीनमा सन्सारका ठूला विमानस्थल सन्चालित छन् । हामीलाइ चाहिएको यो ठूलो जग्गा कथित स्मार्र्ट सिटीका निम्ति हो । जग्गा प्लटिंग गर्ने, शहर बनाउने, योजना विमानस्थलसंग संबन्धित छैन । शहर बसाउन भन्दै यति ठूलो जंगल मास्ने कुराको रहस्य के हो ?

६. नक्कली इआइएः कुनै पनि योजनाको संभाव्यता अध्ययन गर्दा वातावरणीय दृष्टिले संभव छ छैन, महत्वपूर्ण प्रश्न मानिन्छ । बातावरण अध्ययन गरिएको इआइए रिपोर्ट भनि जुन हामीसंग छ त्यो सक्कली होइन । नक्कली हो । यस्तो रिपोर्टको आधारमा योजना अघि बढाउनु भनेको नक्कली रिपोर्टका आधारमा विरामीको अपरेशन गर्नु बराबर हो ।

७. कानुनको पालनाः विद्यमान कानुनको पालना नभएको देखिएर नै अदालतले फैसला दिएको हो । यदि बिमानस्थल चाहिएकै हो भने बन, बातावरण, कानुन परिवर्तन गरिदिए टण्टै साफ । बहुमतको सरकारले यो जतिबेला पनि गर्न सक्छ । प्रतिपक्ष पनि यो बिषयमा राजी नै छ । तब अदालतले पनि चाहे अनुसार फैसला गरिदिइहाल्छ ।

समग्रमा के देखिन्छ भने हामी कुनै पनि योजनाका कुरा जसरी सुरुआत गर्छौं त्यो अत्यन्त हलुका, सतही र कच्चा हुन्छ । अध्ययन अनुसन्धान, गृहकार्य राम्रो गर्दैनौं तर काम गर्न आँटेको स्वाँग गदर्छौं । अझ कहीँ त झुट र नक्कली रिपोर्टहरुको सहारा लिन पुग्दछौं । भाषणमा जति ठूला र चर्का कुरा गरेपनि हामीमा काम गर्ने योग्यता, क्षमता र शीप छैन । यो सत्य बारंबार प्रगट भएको छ । आफ्नो अकर्मण्यता र अयोग्यतालाइ छोप्न अरुलाइ दोषारोपण गर्नु, उम्कन खोज्नु झन ठूलो मूर्खता हो । आशा गरौं अवका दिनमा हामीमा यस्तो अयोग्यता हटोस् । सुझबुझ बढोस् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १०:४१