७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पार्टीभित्रको गुट र गोजीबाट टिकट वितरणले धनकुटामा एमालेले गुमायो चार पालिका


-रविन राई

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अन्य दललाई क्लिनस्वीप गरेको नेकपा एमालेले यसपटको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । जिल्ला कमिटिको बैठक होस, कार्यक्रम र चिया गफ कन्फर्म जितिन्छ भनेका पालिकामा एमालेका उम्मेदवारहरु पराजित भए । चौविसे गाउँपालिका बाहेक एमालेले जितेका धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा झिनो मतान्तर भयो ।

बलियो संगठन, जुझारु कार्यकर्ता र संगठित मतदाता हुँदा पनि एमालेले धनकुटामा ४ वटा पालिका किन गुमायो त भनेर राजनीतिक बहस र सांगठानिक समिक्षा गर्न जरुरी रहेको छ । हारको कारण एमालेले आफैले समिक्षा गर्ला तर एउटा एमालेको शुभेच्छुकको र धनकुटाको मतदाताको हैसियतले हारको कारण उजागर गर्ने प्रयास गरेको छु ।

पार्टीभित्रको गुट ब्यबस्थापन नहुनु

नेकपा एमाले धनकुटामा विगत लामो समयदेखि दुईवटा समुहबीच अन्तरसंघर्ष चल्दै आएको थियो । एमाले धनकुटामा पहिले माधव नेपाल र केपी ओली समुह थियो भने पछिल्लो केही बर्षदेखि जिल्ला इन्चार्ज राजेन्द्र राई र जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीको समुहबीच अन्तरसंघर्ष निरन्तर चल्दै आएको थियो । इन्चार्ज राईको समुहमा जिल्लास्तरका धेरै नेताहरु छन् भने गाउँ तहमा कार्यकर्ता समेत धेरै रहेको छ ।

अध्यक्ष पराजुलीको पक्षमा एमालेका केन्द्रिय सल्लाहकार गोपाल गुरागाई, जिल्ला सहइन्चार्ज सकुन्तला बस्नेत, प्रदेश कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङ र सदस्य दीपक बुढाथोकी लगायतका ब्यक्ति छन् । राजेन्द्र राई जिल्ला अध्यक्ष हुँदा उहाँहरुको भुमिका कमजोर थियो । अहिले इन्द्रमणी पराजुली अध्यक्ष भएपछि जिल्लाको निर्णयमा उहाँहरुको भूमिका प्रमुख बन्न थालेको छ । यही कारण एमाले धनकुटामा खटपटसमेत भयो । यसको प्रभाव गाउँ तहसम्म पुग्यो र एमालेमा अन्तरद्वन्द्व चुलियो ।

जिल्ला अधिवेशनको असन्तुष्टि

एमाले धनकुटाले २०७८ पुसमा सम्पन्न गरेका धनकुटा जिल्ला अधिवेशनमा ठुलो समुह असन्तुष्ट बने । अधिवेशनमा सहभागी हुन आएका प्रतिनीधिहरु लोकतान्त्रिक विधीबाट जिल्ला कार्यसमिति निर्वाचित गर्नु पर्ने पक्षमा थिए । तर केन्द्रको निर्देशन भनेर एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राईले नेताहरु गोपाल गुरागाई, सकुन्तला बस्नेत र टिकाराम चेम्जोङको सहयोगमा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु घोषणा गरे ।

जिल्ला अध्यक्ष बनेका इन्द्रमणी पराजुलीलाई अधिवेशनमा सहभागी भएका ७० प्रतिसत प्रतिनिधिले अस्वीकार गरे । असहमति जनाए । नाराजुलुस गरे । तर जिल्ला इन्चार्ज राजेन्द्र राईले भिटो प्रयोग गरेर घोषणा गरे । जसले गर्दा कार्यकर्ता असन्तुष्ट बने । ती कार्यकर्ताले इन्चार्ज राई र अध्यक्ष पराजुलीका नजिकका उम्मेदवार हुन भनेर चिनिएकालाई असहयोग गरे र हराए । जुनपालिकामा राई र पराजुलीसँग नाम जोडिएका उम्मेदवार थिएनन्, ती पालिकामा एमालेले सान्दार जित निकालेको छ । यो तथ्यलाई एमालेका नेता स्वीकार गर्न मान्दैनन् तर तितो सत्य यही हो ।

टिकट पाएका नेताका निकट ब्यक्तिलाई मतदाताले अस्वीकार गरे

धनकुटामा यो निर्वाचनमा एमालेका नेताहरुले गाउँमा परिचित र लोकप्रिय ब्यक्तिलाई भन्दापनि आफुसँग नजिक वा टाढा के छ भनेर मुल्याङकन गरे । कस्ले चुनाव जित्छ भन्ने विश्लेषण नगरी पुरानो गुटको साथी वा जिल्ला अधिवेशनमा सहयोग गरेका ब्यक्ति भनेर टिकट वितरण गर्ने मापदण्ड बनाइयो । यो काममा पनि जिल्ला इन्चार्ज राई र अध्यक्ष पराजुली अगाडि रहे । अध्यक्ष पराजुलीले महालक्ष्मी नगरपालिकाको ९ वटै वडा कमिटिबाट सिफारीस भइ आएका निवर्तमान मेयर पर्शुराम नेपाललाई टिकट नदिएर पुराना गुटको साथीको नाताले दीपक बुढाथोकीलाई टिकट दिए ।

बुढाथोकीको ४ वटा वडाबाट मात्रै नाम सिफारीस भएको थियो । पार्टीको स्थानीय नेतृत्वले पटकपटक प्रतिवाद गरेपनि उनीहरुको कुरा सुनुवाई भएन । पुराना र अनुभवी नेता भएपनि बुढाथोकी लामो समयदेखि गाउँमा थिएनन् । धेरैजसो समय इटहरीमा विताउदै आएका बुढाथोकीलाई टिकट दिएपछि कार्यकर्ता असन्तुष्ट बने । बुढाथोकीले स्थानीय कमिटि परिचालन गर्नपनि सकेनन् भने स्थानीय कमिटिले खुलेर साथसमेत दिएन । बुढाथोकीका समर्थकले निवर्तमान मेयर पर्शुराम नेपाललाई अविश्वास गरेर भोट हालेको मतपत्र सार्वजनिक रुपमा देखाउनु पर्ने बाध्यत्मक अवस्था समेत बनाए । यही कारण संगठन मजबुत हुँदा पनि एमालेले महालक्ष्मी नगरपालिका गुमाउन पुग्यो ।

त्यस्तै साँगुरीगढी गाउँपालिकामा पनि टिकट वितरणमा समस्य थियो । यो पालिकामा वडाको सिफारीस गर्ने बेलादेखि नै एकले अर्कालाई निषेध गर्न थालेको थियो । निवर्तमान अध्यक्ष कुमारजंग याखा र गाउँपालिका इन्चार्ज देवमान राईबीच सुरु भएको द्वन्द्वको चेपारोमा गाउँपालिका अध्यक्ष बालकृष्ण राई परे । वडाको सिफारीस बराबरी भएपछि एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राई र अध्यक्ष इन्द्रमणी पराजुलीको निर्देशनमा उम्मेदवार नबन्ने भन्दै गाउँपालिका अध्यक्ष बालकृष्ण राई पछि हटे । तर विवाद सकिएन ।

देवमान राईलाई दोहोरो मतदाता नामवली भएको भन्दै अप्ठ्यारो बनाइयो । यो कार्यमा बालकृष्ण राई र कुमारजंग याखालाई दोष लगाइएपनि यसको असली सूचनादाता देवमान राईकै गाउँले थिए । आफ्नो मान्छेलाई टिकट दिलाउनको लागि उनले गरेको यो षडयन्त्र चुनाव अघि कसैले बुझेनन् र अहिले पनि बुझेका छैनन् । सर्पको खुट्टा सर्पले देख्छ भन्ने उखानलाई अहिलेसम्म पनि एमालेका नेताले विश्लेषण गर्न सकेका छैनन् ।

यो सँगै अध्यक्षका टिकट पाएका कुमारजंग शालिन र भद्र भएपनि गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि मादक पदार्थ सेवन गरेर अफिस आउने, गाउँको विकासमा ध्यान नदिने लगायतको आरोप एमाले कार्यकर्ताहरुले नै लगाउदै आएका थिए । उनी उम्मेदवार भए भोट हाल्न नजाने भनेर अभिब्यक्ति दिने कार्यकर्तासमेत धेरै थिए । यो अवस्था हुँदा पनि एमाले नेताले कुमारजंग याखालाई विश्वास गरे र पालिका अध्यक्ष गुमाए।

त्यस्तै छथर जोरापाटी गाउँपालिका एमालेले जित्ने सुरक्षित पालिका भनेर चर्चा गरिएको थियो । तर १९५ मत झिनो अन्तरले गठबन्धनका उम्मेदवारसँग एमाले उम्मेदवार शेरबहादुर लिम्बु पराजित भए । जिल्लामा सवैभन्दा राम्रो पालिका चलाएको, ऐन नियम कानुन बनाएर काम गरेको र जनतामा लोकप्रिय रहेका लिम्बु थोरै मतले पराजित हुनको पछाडि उनको नाममा जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीसँग जोडिनु एउटा कारण रह्यो । पराजुलीको खास मान्छे भनेपछि जिल्ला अधिवेशनको असन्तुष्टिलाई एमालेका मतदाता र कार्यकर्ताले निर्वाचनमा पोखे ।

पराजुलीसँग जोडिएका ६ नं. वडाका वडाध्यक्ष उम्मेदवार निलबहादुर थापाले अन्तर्घात भएर हारेको भन्दै सामाजिक संजालमा गुनासो लेखे । जिल्ला इन्चार्ज राजेन्द्र राईसँग नाम जोडिएका वडा नं. ४ का उम्मेदवार टेकबहादुर घिसिङले मुस्किलले चुनाव जिते । उनलाई मत किनेर जितेको आरोप लागेको छ । त्यस्तै उपाध्यक्षका उम्मेदवार गोमा कार्कीलाई धनकुटा इन्चार्ज राजेन्द्र राईको निकट भएकै कारण पार्टीकै कार्यकर्ताले विभिन्न आरोप लगाए । भोट नदिएको खुलेआम बोल्दै हिड्ने कार्यकर्तासमेत भेटिएका छन् ।

त्यस्तै पाख्रीबास नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम राईलाई पनि जिल्ला इन्चार्ज राईसँग निकट रहेको अरोपमा असहयोग भयो । उनलाई असहयोग गर्ने भन्दा एमाले धनकुटाका सदस्य राजेन्द्र बस्नेतको नेतृत्वमा एक टोली नै परिचालन भएको थियो । उनले खुलेरै राईलाई भोट हालिन्न भनेर हिडेको चर्चा चुनावताका धनकुटामा थियो । पुराना र निष्ठावान भीम राईलाई हराउन पैसाको चलखेल समेत भएको स्पष्ट छ । पहिले एमालेले जितेको वडाबाट भीम राईलाई २० प्रतिसतमात्रै मत खसेको थियो । निवर्तमान नगरप्रमुख विर्खबहादुर राईले त पुरै असहयोग गरे । जसको कारण एमालेका उम्मेदवार हार्नु प¥यो ।

एमाले नेताहरुले वडा तहसम्म पनि मेरो गुटको हो की होइन भनेर खुलमखुल्ला गुटबन्दी गर्दा २०७४ सालमा जितेका ११ वटा वडा एमालेले गुमाएको छ । गुटबन्दी नभएको चौविसेमा एमालेले गएको बर्ष हारेका वडाहरु समेत यसपटक जितेको छ । सहिदभूमि गाउँपालिकामा पनि एमालेले गुटबन्दीकै कारण ३ वटा वडा गुमाएको छ । उम्मेदवार छनौटमा नेताले ध्यान दिएको भए यी वडामा धेरै मतान्तरले एमाले उम्मेदवार जित्ने अवस्था थियो ।

गठबन्धनको आक्रमक प्रचार रोक्न नसक्नु

यी तथ्य बाहेक गठबन्धनको जसरी पनि जित्नै पर्ने मनोविज्ञान र मतदातालाई जितियो भनेर आक्रमक प्रचारशैलीलाई एमालेका उम्मेदवारले रोक्न सकेनन् । कार्यकर्ताहरु सडकमा नाराजुलुस र नाचगान गर्दै हिडे तर मतदाताको घरमा मत माग्दै हिडेनन् । गठबन्धनको प्रचार र चुनावी रणनीतिलाई बुझेका एमालेका कार्यकर्ताको सुझावलाई समेत नेताहरु वस्ता गरेनन् । नचाहिदो हल्लाको संज्ञा दिए । केही कार्यकर्तालाई त उल्टै कार्वाही गर्ने धम्की दिए । यो कारण पनि एमालेको पराजयलाई मलजल गरेको हो ।

कोठे र चिया पसलमा विश्लेषण

चियापसल र कोठामा बसेर २०७४ सालमा पाएको मतको आधारमा जोडघटाउ गर्दै बस्ने कार्यकर्ताको पङ्ती एमालेमा ठुलो थियो । यो पङ्तीको विश्लेषणलाई एमाले नेताले विश्वास गरे । बुज्ज्रुक भनाउदा कार्यकर्ताले जित सुनिश्चित छ भन्दै रिपोर्ट दिए । अनि केही कार्यकर्ताले पार्टीको आन्तरिक सुचना समेत विपक्षीलाई पु¥याए । जसले गर्दा मतदातालाई आकर्षित गर्न एमाले असमर्थ भयो ।

जनताको घरमा नजाने तर सोलिट छ भन्दै बस्ने, स्वार्थ जोडिएका कार्यकर्ताको कुरा पत्याउदा एमालेका नेताहरुको निष्कर्ष फेल खाएको हो । यी तथ्यमा एमाले धनकुटाले आन्तरिक छलफल र बहस गर्ला । तर यसपटकको निर्वाचन परिणामले मतदाताले जात, भुगोल, क्षेत्र, उम्मेदवारको शैक्षिक योग्यता, नेतृत्व क्षमता र केन्द्रिय तहमा सम्बन्ध कस्तो छ भनेर समेत मुल्याङकन गरी मतदान गरेका छन् ।

संकटपुर्ण अवस्थामा पनि मतदाताले एमालेलाई धनकुटामा पहिलो दल बनाएको छ । मतदाताले गलत गरिरहेका छौ, सच्चिएर आउनु भनेर सन्देस मात्र दिएका छन् । बलियो गठबन्धन हुँदा पनि ३ वटा पालिकामा प्रमुख र उपप्रमुख र ३ वटा पालिकामा उपप्रमुख जितेको छ । ६० वटा वडा मध्ये ३१ वटा वडा जितेको छ । १३१ जना वडा सदस्य जितेको छ । जिल्ला समन्वय समिति एकल बनाउन सक्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १४:०५