१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नुवाकोटमा एमाले जोगाइदिने वीरबल र आशामायालाई केपी ओलीले दिए बधाई


८ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा नुवाकोटमा नेकपा एमाले जोगाउन महत्वपूर्ण योगदान दिएका दुई नेतालाई निवासमै बोलाएर बधाई दिएका छन ।

अध्यक्ष ओलीले आइतबार आफ्नै निजी निवास भक्तपुरको बालकोट बोलाएर नेकपा एमालेका नेताद्धय आशामाया तामाङ र वीरबल तामाङलाई बधाई दिएका हुन । १२ स्थानीय तह भएको नुवाकोटमा जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वले गरेको बदमासी, टिकट वितरणमा गरिएको मनोमानी र एमालेका केही उम्मेदवार नै बिक्रीमा पर्दा जम्मा एउटा स्थानीय तहको प्रमुख मात्र एमालेले जितेको छ ।

जिल्ला नेतृत्वको हेपाइमा परेको नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख मा पर्ने किस्पाङ गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका नेता वीरबल तामाङ विजयी भएका छन । उनलाई विजयी गराउन चुनावी कमाण्डरको भूमिका निर्वाह गरेकी आशामाया तामाङ र गाउँपालिका अध्यक्षमा विजयी भएका उनै वीरबललाई निवासमा बोलाएर अध्यक्ष ओलीले बधाई दिएका हुन ।

जिल्ला नेतृत्वले विवेक गुमाउँदा एमाले चुनावी परिणाममा खुम्चिनुपरेको भन्दै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउँदै आएका छन । ओलीले एमालेबाट विजयी भएका वीरबललाई बालकोट बोलाए पनि जिल्ला कमिटीका पदाधिकारी अन्य कसैलाई सम्झिएनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार २०:४९