१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

जमिन खण्डीकरणलाई रोक्यौँ, अब व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी


दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा चौधरीसँग न्युज कारखानाले गरेको कुराकानी :

चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ ?

पार्टीका एजेण्डालाई जनतामाझ पुर्‍याउने र जनताका सुझावसहित मत माग्ने काममा व्यस्त छौं । प्रचार प्रसारका विभिन्न विधि अपनाइएको छ । पहिलो त प्रत्यक्षरुपमै मतदातालाई घरमै पुगेर भेट्ने काम जारी छ । त्यस्तै व्यक्तिगत भेटघाटलाई पनि तीव्र बनाएका छौं । जनसभालगायतका प्रचारका काममा हामी लागेका छौं ।

तपाइँको उम्मेदवारी किन ?

यसमा व्यक्तिगत रुपमा केही भन्नु छैन । एमाले पार्टीले २०७४ सालमा जे घोषणापत्र जारी गरेको थियो । पाँच वर्षसम्म त्यही घोषणापत्रलाई आधार बनाएर काम गरौँ । अधिकांश जनताको बीचमा गरेको वाचाअनुरूपको काम गरेका छौँ । एकाध कुराहरू जो पूरा गर्न सकेनौँ । केही राम्रा कामहरू अधुरा छन । त्यसलाई पूरा गर्नुपर्नेछ । पाँच वर्षे अनुभवले धेरै सिकाएको छ । हामीले विकासका आधारहरू तयार गरेका छौं । कानुन निर्माण गरेका छौं । घोराहीका कुना कुनामा पुगेर त्यहाँको समस्या बुझेका छौं । त्यसो भएर छोटो समयमा धेरै उपलब्धी आउने गरी काम गर्न सकिने भएर नेतृत्वलाई दोहोर्‍याउन लागेको हो ।

तपाइँँका एजेण्डाहरू के के हुन् ?

समृद्ध घोराही र सुखी जनता बनाउने हो । त्यसका लागि आर्थिक विकासमा जोड दिन्छौं । हरेक नागरिकहरूलाई सीप सिकाउने र उसलाई रोजगारमा जोड्ने योजना छ । निर्माण भएका सडक, बाटाहरूलाई स्तरोन्नति गर्ने योजना छ । घोराहीमा जनघनत्व बढेको छ । त्यसोभएर तुलसीपुर चौराहमा स्काइ ब्रीज निर्माण गर्ने योजना छ । डीपीआर तयार भइसकेको छ । त्यसका लागि माटो परीक्षण पनि गरिसकिएको छ । तयारी पूरा भइसकेको छ । हामी निर्वाचित भएलगत्तै त्यो काम सुरु हुन्छ । विद्यालयमा दरबन्दी मिलान गरिएको छ । अझै विषयगत शिक्षकको व्यवस्थापन थालिएको छ । शैक्षिक क्षेत्रमा अरु सुधारको काम गर्न बाँकी छ ।

शैक्षिक गुणस्तर राम्रो हुनु भनेको असल जनशक्ति उत्पादन गर्नु हो । त्यसैगरी कृषियोग्य जमिन खण्डीकरणलाई रोकेका छौं । व्यवस्थित वस्ती विकासका लागि काम गर्नुपर्नेछ । जथाभावी घर घडेरी बनाउन नदिन मापदण्ड तयार गरेका छौं । खाद्यवस्तुमा घोराहीलाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादनमा जोड दिने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गरिरहेका छौं । कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, माहुरी पालन, भैंसीपालनजस्ता कृषि उद्यमका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई आत्मनिर्भर बनाउने तयारी छ ।

खानेपानी नपुगेको ठाउँमा धारा पुर्‍याउनु छ । सिँचाइका लागि सकेसम्म ताल निर्माण गर्ने, सम्भव नभएको ठाउँमा डिप बोरिङ गरेर सिँचाइ व्यवस्थापन गर्छौ । आगामी कार्यक्रम भनेको आर्थिक समृद्धि, पूर्वाधार निर्माण, शैक्षिक सुधार र स्वास्य सेवा सुधारलाई प्राथमिकतामा राखेका छौं । पर्यटनमा हामीसँग भएका धारापानी, अम्बीकेश्वरी, मन्ठोरिया, बाह्रकुने, चौघेराजस्ता धार्मिक पर्यटकीय स्थलको विकास, तालतलैया तथा विभिन्न कला, संस्कृति, भेषभुषाको संरक्षण गर्ने योजना छ । समग्रमा योजनावद्ध विकास हाम्रो प्राथमिकता हो ।

जित्ने आधार के ?

एमाले बलियो छ भन्ने कुरा गठबन्धनले नै प्रमाणित गरेको छ । गठबन्धनमा रहेका काँग्रेस, माओवादीलगायतका दलहरू कम्जोर भएरै गठबन्धनमा जोडिएका हुन । बलियो भइदिएको भए एक्लै लड्थे । कमजोरसँग लड्न एमालेलाई के को चुनौती ? अर्को कुरा अहिलेका दलहरू सबै जनताबाट परिक्षण भएका छन् । को सत्तामा पुग्दा काम भयो भन्ने कुरा त जनतालाई राम्ररी थाहा छ । एमालेले गरेको काम, उसका एजेण्डा, राष्ट्रियताका लागि एमालेले लिएको अडान सबै हेर्दा अबको विकल्प एमालेमात्रै हो । जनताको समर्थन एमालेलाई नै छ । एमालेले जबरजस्ती गठबन्धनका दलहरूलाई कमजोर बनाएको होइन । उहाँहरूका नीति, कार्यक्रम, काम र व्यवहारले खुम्चिँदै खुम्चिँदै जानुभएको हो । जनताको बीचमा खुम्चिएका दलसँग हामीलाई चुनौती छैन । उहाँहरू जनताबाट त टाढिसक्नु भएको छ । अब आफ्नै कार्यकर्ता, शुभेच्छुकसँग पनि यसपालिदेखि टाढिँदै हुनुहुन्छ । कार्यकर्ता, शुभेच्छुकले गठबन्धन चाहनु भएको छैन । तर, नेताहरू जसरी पनि पद हत्याउनका लागि नीति, विचार, व्यवहार केही नमिल्नेहरूसँग घाटी जोड्नु भएको छ । यसले जनतामात्रै होइन आफ्नै कार्यकर्ताबाट गठबन्धनलाई टाढा बढाउँदैछ । त्यसो भएर गठबन्धनको असर हामीलाई पर्दैन ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १२:१०