१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मेरो उद्देश्य हिजो, आज र भोली पनि जनताको सेवा गर्नु होः लोकप्रिय उमेदवार भेटुवाल


वैशाख २५, काठमाडाैँ । मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते सात सय ५३ स्थानीय तहको लागि निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । यस निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रतिष्प्रर्धामा छन् । हाल निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये ७६ राजनीतिक दलले आफ्ना उम्मेदवार उठाएका छन् । त्यसैगरी यस निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाको विभिन्न पदमा स्वतन्त्र उमेदवारी परेको मध्ये वडा नं. १६ को वडा अध्यक्षमा बसन्त राज भेटुवाल उमेदवारीको रूपमा उभिएका छन् । उनको चुनाव चिन्ह पुतली हो । प्रचारप्रसार सचिवालयले दिएको जानकारी अनुसार स्वतन्त्र उमेदवारी दिएका भेटुवाल विगत ३ दशकदेखि सक्रिय राजनीतिमा थिए । उनी वडा नं. १६ का लोकप्रिय उमेदवार पनि हुन् । जनतामाझ भिजेका उम्मेदवार भेटुवालसँगको संक्षिप्त कुराकानी ।

स्थानीय तहको चुनाव नजिक आइसकेको छ, यस्तो बेला तपाईंको चुनावी गतिविधिहरू के कुरामा केन्द्रित भएको छ ?

हो, आगामी बैशाख ३० गते सम्पन्न हुने चुनावमा सबै उमेदवारहरूको प्रचारप्रसार र मतदाता केन्द्रित गतिविधिहरूमा तिव्रता आएको छ । यससन्दर्भमा मलाई पनि चुनावको चटारोले छोपेको छ । मैले यसअवसरलाई मतदाताको मत माग्नेभन्दा मनसँग जोडिने कुरामा बढी ध्यान केन्द्रित गरेको छु । उहाँहरूको चिन्ता,चासो र कठिनाइहरूको अन्वेषण गर्ने र सोको निराकरणका उपायहरू पत्ता लगाउने अवसरको रूपमा यो चुनावलाई लिएको छु । यसका लागि मतदाताको घरदैलोसम्म पुग्ने, समुदायले संचालन गरेका कार्यक्रमहरूमा सहभागी हुने र मतदाताले आफ्नो अमूल्य मतको सदुपयोग गरून् भनी अन्य शन्देसमूलक र प्रचारात्मक कार्यहरू संचालन गरिरहेको छु ।

तपाईंको चुनाव जित्ने सम्भावना कत्तिको छ ?

मलाई यो प्रश्न आफैंमा नियोजित जस्तो लाग्छ, किनकि आजसम्म कुनै उमेदवारले म चाहीँ हार्छु भनेको सुनेको छैन । अन्य उमेदवार झैं मेरो पनि सफलताको श्रेणी बराबरनै छ । तर, यो अवसरमा मतदातामा मेरो नम्र निवेदन छ कि, वास्तवमा स्थानीय तह भनेको राजनीतिकरूपमा प्राप्त स्थानीय सरकारनै हो । यसले कयौं नीतिहरू आफैले बनाउँछ र लागू पनि गर्छ । यसप्रकारको कार्य जनहितमा गर्नको लागि असल र सही भावना भएको नेतृत्व चाहिन्छ र यहीँनेर मतदाता सचेत हुनुपर्छ ।

एउटा उमेदवारले चुनाव किन जित्ने ? ल भन्नुस् त तपाईंले जितेपछि के हुन्छ ?

चुनाव किन जित्ने वा जितेर के गर्न सकिन्छ भन्ने प्रश्नको बनिबनाउ जवाफ त छ, तर यो साँचो अर्थमा राजनीतिक दलमा लागि जनता झुक्याउने मेलो हो । यसलाई दुई कोणबाट मैले बुझेको छु । एउटा, यो राष्ट्रिय राजनीतिको हिस्सा हो र अर्को स्थानीय राजनीति, सामाजिक र जनचासोको विषय हो । एउटा उमेदवार कुनै दल वा पार्टीबाट मतदाता सामुन्य उभिएको छ भने सोच्नुहोस् त्यहाँ उमेदवार मात्र उभिएको छैन । ऊसँगै उसको राजनीतिक विचार, सिद्धान्त र व्यवहार पनि उभिएको छ । यो भन्न सकिन्छ कि राजनीतिक स्कूलिङ ऊसँगै हुन्छ, कार्यक्रम, योजना र दृष्टिकोण सोही अनुरूप बनेको हुन्छ । यसलाई आमरूपमा राष्ट्रिय परिप्रेक्षको राम्रो र नराम्रोको दृष्टिकोणबाट बुझ्न सकिन्छ । तपार्इंले पछिल्लो गतिविधिलाई हेर्नुभयो भने राजनीतिक दलहरूको गतिविधि कहीँबाट पनि जनपक्षीय लाग्दैनन् । यो माथिदेखि तलसम्म बिग्रिएको छ ।चुनाव भनेको नराम्रोलाई राम्रोले प्रतिस्थापन गर्ने अवसर हो, यसलाई ध्यानमा राख्न पनि आम जनसमुदायमा अनुरोध गर्दछु ।

पहिले-पहिले तपाईं त चुनावबाट समग्र राजनीति सुधारिँदैन भनेर अडिक भएको मानिस, एक्कासी यसपटक के कारणले चुनावमा आकर्षित हुनुभयो ?

यो पनि राजनीतिक अवधारणाको एक विषयनै हो । म माक्र्सवादको विद्यार्थी हुँ । लामो समय यसकै अवधारणागत दृष्टिकोण र विधीमा चलेको मानिस हुँ । थथार्थमा कम्युनिष्ट बन्न प्रयासरत एक राजनीतिकरूपमा सचेत व्यक्ति भएकोले यसलाई मैले राजनीतिक धाराबाट नै बुझ्न अनुरोध गर्छु । तर, यो दलगत वा पार्टीगतद्वारा निर्देशित छैन, संविधानसभाले बनाएको संविधानले निर्दिष्ट गरेको अधिकारको प्रयोग गरेको हुँ । यो मेरो व्यक्तिगत निर्णय हो । मैले सष्लेषण गरेको छु कि, साँचो अर्थमा जनताको सेवा गर्न व्यक्ति, समूह र राजनीतिक दल सबै स्वतन्त्र छन् । जनअधिकार र जनआकांक्षा पुरा गर्ने विधी भनेको असल नियत र सही दृष्टिकोण हो । यसकारण म स्वतन्त्ररूपमा उमेदवारको रूपमा उभिएको हुँ । मेरो एकमात्र उद्देश्य भनेको हिजो, आज र भोली पनि जनताको सेवा गर्नु नै हो ।

तपाईं काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उमेदवार, वास्तवमा यो वडाको समग्र कठिनाइ र समस्याहरू के हुन् ?

म कामनपा वडा नं. १६ को स्थायी वासिन्दा हुँ । मैले करिब ३ दशकदेखि यही माटो र जनताको मनोभावनासँग सात्क्षाकार गरिरहेको छु । मैले यस वडामा त्रिपक्षीय समस्या पहिचान गरेको छु । एक; स्थायी प्रकृतिको छ, जुन मतदातासँग प्रत्यक्ष जोडिन्छ, दुई; यहाँ अस्थायी बसोवास गर्ने जनसमुदायको छ, उहाँहरूको दैनिकीसँग यो सम्बन्धित छ र तीन; यहाँको भूगोल र अर्थ राजनीतिसँग सम्बन्धित छ । यसलाई एकै ठाउँमा राखेर भन्दा यहाँका मतदाता, जनता र भूगोलको समस्या बहुआयामिक छ । यो वडामा करिब २५ हजार मतदाता छन् । उहाँहरूको बसोवास, सरसफाई, बिजुली, पानी, सडक, पूर्वाधारआदीमा बढी चासो रहेको पाएको छु । यो क्षेत्र घना आवादी क्षेत्र पनि हो, करिब ५ लाख मानिसहरू यहाँ बस्छन् । वास्तवमा म उहाँहरूलाई विर्सन सक्दिन, किनकि उहाँहरू आर्थिक क्षेत्रको एक प्रमुख स्रोत पनि हो । उहाँहरूको व्यवसाय सुविधा, घर बहाल, सहज दैनिक कार्य संचालनलगायतका चासोहरू छन् । अर्को, यस भूगोल सामरिक महत्वको पनि छ । यहाँको भूगोल प्रयोग गरेर दैनिक हजारौं मानिसहरूले ओहेरदोहोर गर्छन्, यसले नकारात्मक असरहरू पनि देखाएको छ । एकातिर, लागूऔषध ओसारपसार बढेको, दुर्बेसनी बढेको र मानव बेचविखनको ट्रान्जिट भएको भन्ने गुनासाहरू छन् भने अर्कातिर ताजा तरकारी र अस्थायी प्रकृतिका साना सडक व्यवसाय संचालन गर्नुपर्ने बाध्यताका कारण स्थानीयले समस्या र कठिनाइ थपिएको महसुस गरेका छन् । योलगायत वडाले प्रवाह गर्ने प्रशासनीय प्रकृयामा ढिलासुस्ती, करको दायरा र दरमा बढोत्तरी, भ्रष्टाचार, अनियमीतताजस्ता गतिविधिहरू यहाँको समस्याको रूपमा रहेका छन् ।

यी समस्या तथा विकृतिहरूको समाधान पनि त होला नि ?

जहाँ समस्या र विकृतिहरू छ त्यहाँ सँगसँगै समाधान पनि हुन्छ भन्ने कुरामा म गहिरो गरी विश्वास गर्छु । स्थानीय समुदायले देखाएको चासो बारेको एक क्षण यहाँ साझा गर्न चाहन्छु । यस १६ नं. वडाको माछापोखरी वरिपरी वसोवास गर्ने डाक्टरहरू १३ जनाभन्दा बढी रहेछन् । उहाँहरू समाज र समुदायमा कुनै न कुनै तरिकाले सेवा गर्न चाहनुहुन्छ । उहाँहरूले निःशुल्क रूपमा हप्ताको २ वा ३ घण्टा समय दिन चाहिरहनु भएको छ । यत्ति मात्र होइन आवश्यक उपकरण र औषधीहरू समेत उपलब्ध गराउनु हुनेछ । हामीले गर्ने भनेको उपचारका लागि आवश्यक ठाउँको प्रबन्ध र बिरामीहरू आउने वातावरण मात्र हो । यसको लागि न ठूलो पैसा चाहिन्छ न ठूलो योजना । यस प्रकारका सेवाहरू हरेक क्षेत्रका हरेक मानिसहरूले गर्न चाहिरहेका छन् । वास्तवमा वडाका प्रतिनिधिले गर्ने भनेको व्यवस्थापकीय कार्यहरू हुन् ।

यसपटकको स्थानीय तहको चुनावमा के कस्ता उमेदवारलाई मतदाताले भोट दिनुपर्छ होला ? तपाईंलाई के लाग्छ ?

सर्वप्रथम ठूलाठूला नारा ल्याउने तर व्यवहारमा सिन्को समेत नभाच्ने प्रवृत्ति हाम्रो राजनीतिको प्रमुख समस्या बनेको छ, यसमा विशेष सतर्कता अपनाउनु पर्छ । म प्रष्टरूपमा भन्न चाहन्छु, राजनीतिक पार्टीहरू कोहीले खुशी र समृद्धि, कोहीले समुन्नती र सम्मान तथा कोहीले परिवर्तन र जनआकांक्षाको नारा दिएको पनि धेरै समय बितिसकेको छ, तर आज पनि जनताको जीवनमा खुशीयाली, समुन्नती र परिवर्तन किन आएन ? यो अहिलेको अहम् प्रश्न भएको छ । आदरणीय मतदाता समुदायमा यसबारे गम्भीरतापूर्वक विचार पुर्याउन म आग्रह गर्छु । म उहाँहरूलाई फगत नाराको पछि नलाग्न र वास्तविक जनताको सेवक रोज्न अनुरोध गर्छु । त्यो उमेदवार म वा अन्य पनि हुन सक्छन् । त्यो स्वतन्त्र वा एकल उमेदवार पनि हुन सक्छन् । अहिले तपार्इंको सतर्कताले तपार्इंकै भोलीको दिन सहज र सुव्यवस्थित हुनसक्छ । मतदाता यससमयमा बढी चनाखो हुनुपर्छ भन्न चाहन्छु ।

तपाईंलाई नै यस वडाका मतदाताले भोट किन हाल्ने त ?

म दावीसहित भन्न सक्छु कि, अन्य उमेदवारले भन्दा बढी मैले यहाँको जनताको समस्या र समाजको अन्तरविरोधलाई बुझेको छु । मैले लामो समयदेखि यही समाजको सदस्यको रूपमा जनताको पीर, मर्का, पीडा र समस्याहरूमा सँगसँगै हिँडेको छु । व्यक्ति, समाज र समुदायको लागि सकेको सहयोग, आवश्यक परामर्श र सत्भाव प्रकट गरेको छु । वडावासीको आधारभूत आवश्यकता, सामाजिक विकासको चाहना, कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वर्धनको भावनालाई मैले प्रतिनिधित्व गर्छु । यो शहरमा सानासाना तर ठोस प्रकृतिका कामहरू गर्नुपर्ने म देख्छु । निःशुल्क पुस्तकालय, पार्किङ, शौचालय, खुल्ला बगैंचा, उद्यान र खेलमैदानआदीको व्यवस्था गर्छु । वृद्धवृद्धा र बालबालिका लागि दिवा केन्द्रहरूको व्यवस्थाका साथसाथै योग र ध्यान केन्द्र, विश्राम गृह, सूचना केन्द्र, प्राथमिक स्वास्थ्य, शिक्षाको लागि उचित व्यवस्था गर्न अग्रसर रहनेछु । युवाको लागि अवसरहरू ल्याउन लगानी र व्यापारको उचित वातावरण बनाउनु पर्नेछ, त्यसका लागि कर छूट, सहुलियत र सटर भाडामा विशेष सहयोगको योजना लागु गर्नेछु । समग्रमा म मतदाता र यसक्षेत्रमा वसोवास गर्ने समुदायप्रति प्रतिवद्ध रहने छु ।

अघिल्लो स्थानीय सरकारको काम र गतिविधि कस्तो पाउनु भयो ? अब के कुरामा ध्यान वा सुधार गर्नुपर्छ ?

दुःखपूर्वक भन्नुपर्छ कि स्थानीय प्रतिनिधि वा सरकारको काम सन्तोषजनक रहेन । यदी त्यस्तो हुन्थ्यो भने आज मैले उमेदवारी दिइरहनु पर्ने स्थिति आउने थिएन । जनताका प्रतिनिधिहरू तिनै जनताका लागि सेवकभन्दा बढी मालिक जस्ता देखिए । यो त जनताका लागि भारी जस्तो भयो । अब जोसुकै आउन् तर जनताको सेवक हुनुपर्छ भन्ने मान्यतामा म दृढ छु ।

जनताको दैनिक जीवनयापनलाई सहज र प्रशासनीक कार्यलाई दुरूस्त बनाउने तपाईंका योजना के छन् ?

जनताको प्रश्न भनेकै हामीले चुनेर पठाएका मानिस किन हाम्रो चासो र समस्यासँग सँगै भएन भन्ने हो । उनीहरू किन भ्रष्ट, अस्पष्ट, अबुझ, अपसंस्कृतिपूर्ण र एकांकी भए ? किन मालिक जस्ता भए ? किन सिमित घेरामा रमाए ? किन ठेकेदार र दलालहरूलाई प्रसय दिने भए ? किन अमानवीय र कठोर हुन पुगे ? निष्कर्ष भयो कि, जनप्रतिनिधिले धोका दिए, जनताको साथ छोडे । यस्तो अवस्थामा जनताको साथ र समर्थन गर्दै मैले उमेदवारी दिएको हुँ । म हिजो पनि जनता र समाजको हितमा हिँडेको मानिस, तसर्थ आज पनि २४ सै घण्टा जनताको सेवामा खटिने संकल्पसहित उमेदवारी दिएको छु ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार १४:३४