७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेसको घोषणापत्र जनतामा भ्रम सिर्जना गर्ने दस्तावेज


-डिल्लीराम उप्रेती

आगामी २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका सन्र्दभमा इतिहासका विभिन्न कालखण्डमा नेपाली कांग्रेसले निर्वाह गरेको युगान्तकारी भूमिकाको स्मरण गर्दै आगामी ५ वर्षको मार्गचित्र भनी नेपाली कांग्रेसले संकल्प पत्रको रुपमा ८४ पृष्ठको चुनावी घोषणा पत्र जारी गरेको छ । उक्त घोषणा पत्रलाई गहिरो अध्ययन गर्दा यो घोषणापत्रभन्दा पनि पूर्वाग्रह रुपमा निश्चित विधि अपनाई तयार गरिएको भ्रामक प्रतिवेदन जस्तो देखिन्छ ।

घोषणा पत्र मूलतः चुनाव जिते पछि के के गरिन्छ, के कस्ता कार्यक्रमहरु ल्याइन्छ ? कसरी कार्यान्वयन गरिन्छ ? भन्ने तथ्य सहित अग्रगामी चिन्तन र सोच सहित तयार गरिन्छ । चुनावी घोषणा पत्र इतिहासको दस्तावेज वा कसै प्रति आग्रह पुर्वाग्रह साँध्ने दस्तावेज होइन तर नेपाली कांग्रेसको घोषणा पत्र र पूर्वाग्रही र आरोपमा केन्द्रीय रहेको छ ।

यो किन भनिएको हो भन्दा शुरुमा राजनीतिक कालखण्डको विवेचनाको प्रस्तुतीको क्रममा २०६० सालभन्दा पछिका घटना क्रमका कुरा र पछिल्लो खण्डमा हेर्ने हो भने २०४८ सालमा नेपाली कांग्रेसको सरकार गठन भएको अवधिको उपलब्धिको कुरालाई उल्लेख गरेको पाइन्छ । सायद यो बुझिकनै लेखेको हुनु पर्दछ ।

संकल्पपत्रका अधिकांश पानाहरु के.पी.ओलीको विरोध र संसद विघटनको कुरामा खर्चिएको छ र संसद विघटनको कुरालाई जोडतोडका साथ प्रतिगमन भनी चित्रण गरिएको छ । तर २०४८ सालदेखिको राजनीतिक परिदृश्यको विवेचना गर्ने हो भने नेपाली कांग्रेसले मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात्को पहिलो निर्वाचनमा झण्डै दुई तिहाई सिट जितेर सरकार गठन गरेको थियो । त्यसबेला कांग्रेसको आन्तरिक कलहले गर्दा सरकारले कार्यकाल पूरा गर्न सकेन र संसद विघटन गरी मध्यावधि निर्वाचन गराएको थियो ।

यसैगरी अहिलेका गठबन्धनका नाइके प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसपछि मुलुकमा पजेरो र प्राडो काण्ड, सांसद खरिद÷विक्री र सांसदलाई विदेश लगेर राख्ने जस्ता संसदीय व्यवस्थामा अपराधीकरणका घटनाहरु भित्याएका थिए । त्यसैले आफ्नो गलत कामको ढाकछोप गर्न कांग्रेसले आफ्नो घोषणा पत्रमा राजनीतिका कालखण्डको विश्लेषण गर्ने क्रममा २०६० भन्दा पछिका समयको मात्रै उल्लेख गरेर जनताले बिर्सिहाले नि भन्ने आभाष दिन खोजेको छ भने पछिल्लो खण्डमा २०४८ को सरकारले गरेको उपलब्धिको विषयवस्तु प्रस्तुत गरेर आफू बिकास प्रेमी भनेर भ्रम छर्न खोजेकाले यस संकल्प पत्रलाई घोषणा पत्र नभनी पूर्वाग्रही भएर प्रस्तुत गरिएको प्रतिवेदन भनेको छु ।

घोषणा पत्रमा समावेश गरिएका विषय वस्तुलाई हेर्दा अध्ययन समूहले यो घोषणा पत्र कुन तहबाट जारी गरिएको हो त्यसको हेक्का समेत राख्न सकेको देखिदैन । कतै राष्ट्रिय स्तरका कुरा समावेश गरेको छ भने कतै वडा स्तरले निकाल्ने संकल्प प्रस्तावमा उल्लेख गर्ने कार्यक्रम समेत केन्द्रीय संकल्प पत्रमा समावेश गरेको छ । ८४ पृष्ठको संकल्प पत्रमा करिव ५५ प्रतिशत बितेका ४ वर्ष मुलुकमा केही नभइ खेर गयो भन्ने कुरा बढाई चढाई गरिएको छ भने कयौं ठाउमा नेकपाको सरकारको विरोध गर्नुको सट्टा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र माधव नेपालले नेकपा (एमाले) को विरोध गर्दा प्रयोग गर्ने के.पी.ओली प्रवृतिको विरोध भनी उल्लेख गरेको देखिन्छ । विश्लेषण गर्दा निष्पक्ष हुनु पर्दछ तर यो संकल्प पत्र यसो नभएर एक पक्षिय देखिन्छ ।

नेकपाको सरकारले विगत साढे तीन वर्षमा देश जनता र राष्ट्रियताको पक्षमा गरेका काम जस्तो मन मस्तिकमा ताजै रहेका कार्यहरुलाई समेत नेपाली कांग्रेसका संकल्प पत्रले उक्त कामहरु भएको भनेर भन्ने आटसम्म गर्न सकेको देखिदैन । उल्टै विगत ४ वर्ष त्यसै खेर गयो भनेर भ्रम छर्ने प्रयास गरेको छ । त्यसैले उक्त अवधिमा भएका केही क्षेत्रका कामहरुलाई यस लेखमा प्रस्तुत गरेको छु ।

पूर्वाधार विकासका क्षेत्रमा मुख्य गरी विद्युत उत्पादन र प्रसारण लाईन विस्तार, सडकको कालो पत्रे र आर्थिक पक्षका केही सुचकको स्थितिलाई यस लेखमा समावेश गरेको छु । आर्थिक सर्वेक्षणमा प्रकाशित विवरणलाई हेर्ने हो भने जो कहिले देख्न सक्छ कि २०७३÷०७४ मा रहेको विद्युत उत्पादनको परिमाण ९७२.५० मेगावाटमा ४४ प्रतिशतले बृद्धी भै २०७७ फाल्गुनमा १४०४ मेगावाट पुगेको देखिन्छ । उक्त अवधिमा विद्युत प्रसारण लाइन २२ प्रतिशतले बृद्धी भै ३४८३ किलोमिटरबाट ४२५१ किलोमिटर पुगेको देखिन्छ ।

सडक यातायातको क्षेत्रमा २०७६ फाल्गुनदेखि २०७७ फाल्गुनसम्म एक वर्षे अबधिमा मुलुकमा ७२० किलोमिटर बाटो कालोपत्रे भएको छ । दैनिक रुपमा हेर्ने हो भने प्रतिदिन २ किलोमिटर सडक कालोपत्रे गरिएको विवरण प्रष्ट देख्न सकिन्छ । यसका साथै २०७२ को भुकम्पले क्षतविक्षत बनाएका करिब ८ लाख घरको निर्माणरपुननिर्माण, स्कूल, अस्पताल, प्रहरी चौकी, मठमन्दिर लगायत लाखौंको संख्यामा निर्माणका कामहरु यही नेकपाको सरकारको अवधिमा नै भएका छन् ।

साथै राष्टिय गौरबका रुपमा रहेको धरहराको निर्माण, रानीपोखरी निर्माण र साँस्कृतिक धरोहरको रुपमा रहेको बसन्तपूर क्षेत्रको निर्माणले पनि यही अवधिमा तिब्रता पाएको छ । तराईमा हावाहुरी ले नष्ट गरेका सयौं घरहरु छोटो अवधिमा निर्माण गरी जनतालाई उपलब्ध गराउने काम पनि यसै अवधिमा भएका छन् । यसका अतिरिक्त पूर्वाधारको नयाँ क्षेत्रहरु जस्तै सुरुङ मार्ग निर्माण र रेल सञ्जालको क्षेत्रको विस्तारका साथै इन्धन ढुवानीका लागि अमलेखगञ्जसम्म पाइपबाट नै तेल ल्याउने कामको शुरुवात समेत यसै अवधिमा भएका छन् । यसका अतिरिक्त पूर्वाधार विकासका क्षेत्रमा धेरै कामहरुले गति लिएका छन् । सबै राजनितिक दललाई सहमतिमा ल्याएर देशको वास्तविक भौगोलिक क्षेत्रलाई समेटेर चुच्चे नक्सा प्रकाशित गर्ने र मुलुकमा विद्यमान पृथकतावाद तथा हिंसामा आधारित राजनितीलाई लोकतान्त्रिक मुलधारमा ल्याउन नेकपाको सरकार सफल भएको थियो ।

नेकपाको सरकारले अंगिकार गरेको आर्थिक नितीले मुलुकमा मुल्यस्फितीको स्थितीलाई करिब ४ प्रतिशतको हाराहारी कायम राख्न सफल भएको थियो । उक्त अवधिमा शोधानान्तरको स्थिती २०७७ फाल्गुनमा रु.६८ अर्बले बचत गर्न सफल रहेको थियो । कुल विदेशी विनिमय सञ्चिती २०७७ फाल्गुन मसान्तमा रु.१४ खर्ब ३६ अरब ५४ करोड पुगेको थियो । सोही अवधिमा अमेरिकी डलरको विनिमय सञ्चिती १२ अर्ब ३७ करोड रहेको थियो । यसका अतिरिक्त आयात प्रतिस्थापन गर्दै जाने गरी अंगिकार गरिएको नितीको परिणाम स्वरुप आर्थिक वर्ष २०७५/७६ को तुलनामा आयातमा १५.६ प्रतिशले घट्न गई २०७६/७७ मा आयातको परिमाण रु.११९६७९.६ करोडमा सिमित हुन पुगेको थियो भने निर्यात तर्पm २०७३/७४ मा रहेको रु.७३०४.९ करोडबाट ३३ प्रतिशतले बढेर आर्थिक वर्ष २०७६/७७ मा रु.९७७०.९ करोड पुगेको थियो ।

तर परमादेशबाट गठन भएको देउवा सरकारले विगमा के.पी.ओली सरकारले ल्याएका नीति तथा कार्यक्रममा व्यापक परिवर्तन गरी मुलुक संचालन गरेको छोटो अवधिमा नै मूल्य स्फितिको स्थितीमा विगतको तुलनामा झण्डै ७५ प्रतिशतले वृद्धि मूल्य स्फितीको अवस्था आकाशिएको छ । तरलताको अभावले बैकिङ्ग क्षेत्र प्रभावित बन्न पुगेको छ । पुजीगत खर्च गर्न नसकेकाले मुलुकमा बिकास निर्माणको कार्य प्राय ठप्प हुन पुगेका छन् । हाल देखिएका यी विकराल स्थितिलाई भने कांग्रेसको संकल्प पत्रले वेवास्ता गरी मुलुक राम्रो अवस्थामा संचालनमा रहेको भनी चित्रण गर्न खोजेको छ ।

माथिको वस्तुस्थितिलाई विश्लेषण गर्दा कांग्रेसको घोषणा पत्रले सूर्यको उज्ज्यालोलाई हत्केलाले छेकेर दिउसोलाई राति बनाउने गरी भ्रम सृजना गर्ने प्रयास गरेको देखिन्छ । जनतालाई यथार्थ तथ्य दिई जनताको मन जित्ने भन्दा भ्रम सृजना गर्ने, गलत परम्परा स्थापित गर्ने कार्यमा कांग्रेसका युवा पुस्ता समेत लागेका देखिन्छन । भ्रमको पुलिन्दा बोक्ने, गलत परम्परा बसाल्ने, पूर्वाग्रही दृष्टिकोण राख्ने, समाजलाई विभाजित गर्ने र चर्को कुरा गर्ने कार्यमा संलग्न हुने कांग्रेसका युवा पुस्ताबाट भविष्यमा समेत आशा गर्न नसकिने तथ्य यस घोषणा पत्रले उजागर गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १०:४५