११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सैनामैनामा एमालेको प्रतिबद्धता, सामुदायिक वनहरु पुष्परसका विरुवाले हराभरा पारिने


–अमृत गिरी

३० वैशाख, सैनामैना । सैनामैना नगरपालिकामा मेयरका उम्मेदवार बनेका संस्थापक मेयर चित्रबहादुर कार्कीले सैनामैनाका सामुदायिक वनको संरक्षण गर्दै त्यहाँ पुष्परसका विरुवा रोप्ने कार्यलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका छन् । पहिलो कार्यकालमा असल र नमुना कामको सुरुआत गरेका एमालेबाट मेयरमा उम्मेदवार बनेका नेता कार्कीले अबको कार्यकालमा हरियालीसहितको नगर बनाउने र जडिबुटीयुक्त महको स्रोत केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

सैनामैनामा रहेका सामुदायिक वनहरुको संरक्षण गर्दै हरियाली बढाउने र माहुरीका लागि चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धता छ । सैनामैना नगरपालिकाको प्रथम मेयरका रुपमा निर्वाचित हुँदा सुरु गरेको यो अभियानलाई अब निर्वाचित भएपछि सार्थक बनाउने उम्मेदवार कार्कीको प्रतिबद्धता छ । सैनामैनालाई हरियाली सहितको सुन्दर सहर बनाउने प्रतिबद्धता अनुरुप माहुरीको पनि स्रोत केन्द्र बनाउने उनको संकल्प छ । सैनामैनामा रहेका सामुदायिक वन र खुला क्षेत्रको संरक्षण गर्दै तिनमा चिउरीका विरुवा रोप्ने र त्यसैमा माहुरीको चरणका लागि वातावरण मिलाइने कार्कीको भनाइ छ । चिउरीलाई पुष्परसको उपयुक्त विरुवा मानिन्छ ।

अहिले रहेको माहुरीको स्रोत केन्द्रलाई संरक्षण र विस्तार गर्दै जडिबुटीयुक्त मह उत्पादनमा केन्द्रित गराउने लक्ष्यका साथ यस्तो अभियान सुरु गरिएको उनले बताए । सैनामैनालाई मह उत्पादनको स्रोत केन्द्र बनाउन पहिलो कार्यकालमा सुरु गरिएका कार्यक्रमलाई यस कार्यकालमा पूरा गरिने उनको प्रतिबद्धता छ ।

औषधीय गुणका जडिबुटीयुक्त विरुवा

सैनामैनामा १७ वटा सामुदायिक वन रहेका छन । यी वनको संरक्षण र हरियाली बिस्तारका काममा केही नमुना प्रयास भएका छन् । सैनामैनामा एमालेका प्रतिनिधि निर्वाचित भएपछि ती नमुना कामको निरन्तरता हुने र अझ विशिष्टिकृत हुने दाबी गरिएको छ । एमालेले जारी गरेको नयाँ चुनाबी प्रतिबद्धतामा नौला कार्यक्रमको निरन्तरता र नयाँ कामको प्रभावकारितामा जोड दिइएको छ ।

अब कृषि क्षेत्रमा गरिने कामको एउटा बुँदाका रुपमा माहुरीको स्रोत केन्द्र बनाउने पनि एमालेको प्रतिबद्धतामा उल्लेख छ । जडिबुटीयुक्त पुष्परसका विरुवाहरु वनमा रोप्ने, हेरचाह गर्न हेरालु राख्ने र तिनैमा माहुरीको चरण बनाइ औषधीय गुणको मह उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रमलाई अब विस्तार गरिने प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ ।

सैनामैनामा ३३७७ हेक्टर वन क्षेत्र रहेको छ । चुरे क्षेत्रलाई नगरपालिकाले तारबार लगाएर संरक्षण गर्दै आएको छ । हालसम्ममा नगर पालिकाले करिब ७ किलोमिटर तारबार लगाएर संरक्षण गरिएको छ । संरक्षित वन क्षेत्रमा पुष्परसका विरुवा रोपिने पहिलो चरणमा चिउरीका विरुवा रोप्ने कार्यलाई निरन्तरता दिइने प्रमुखका उम्मेदवार कार्कीले बताए ।

यसअघि भएका केही प्रयास

सैनामैनाले कृषिलाई समृद्धिको पहिलो आधार बनाएको छ । कृषि क्षेत्रको विकास, विस्तार र सम्बद्र्धनका लागि नगरपालिकाले आवश्यक उपकरण, मल बीऊ, प्राविधिक ज्ञान र कृषि उपजको बजारिकरणका लागि समेत सहयोग गर्दै आएको छ । नगरपालिकाले विभिन्न समयमा माहुरीपालक किसानलाई घारमा अनुदान उपलब्ध गराएको थियो । माहुरी पालक किसानलाई विशेषज्ञता तालिम प्रदान गर्ने र किसानहरुको समुह गठन गरी प्रोहोत्सान गरिएको छ । चुरे क्षेत्रमा माहुरी उत्पादनको मुख्य पुष्परस प्रदायक करिब ५० हजार चिउरीका रूखहरु रोपिएको थियो । ती विरुवाका लागि हेरालु समेत राखिएको छ ।

कल्पबृक्ष पनि हो चिउरी

समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीलाई कल्पबृक्ष पनि भनिन्छ । रुख १५ देखि २० मिटरसम्म अग्लो हुने चिउरीलाई बहुउपयोगी रुख मानिन्छ । नेपालमा पूर्व–देखि पश्चिमसम्मै यसलाई हुर्काउन सकिन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइने वैज्ञानिकहरु बताउँछन् । हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् । यिनै फुलको रस खान माहुरीको आकर्षण हुन्छ । सोही रस खाएका मुहारीबाट उत्पादन हुने महलाई औषधीय गुणको र बहुउपयोगी मानिन्छ ।

चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न र पुजाआजामा पनि प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिने विज्ञहरुले बताएका छन् ।

आयुर्वेदका जानकार र माहुरी पालक किसानहरु खुशी

माहुरीका लागि पुष्परसको चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धताले यहाँका आयुर्वेदका वैद्यहरु तथा माहुरीपालक किसानहरु खुशी भएका छन् । योग आयुर्वेदको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका बाबायोगीराजले सैनामैनाले अगाडि सारेका कार्यक्रम वातावरणीय हिसाबले उपयोगी रहेको बताए । पञ्चगब्यका विषयका विज्ञ समेत रहेका योगिराजले जडिबुटीका फुलको रस चुसेका माहुरीले उत्पादन गरेको मह बहुउपयोगी हुने बताए ।

सयौं घार माहुरी पालन गर्दै आएका सैनामैनाका किसानहरुले पुष्परसका विरुवा रोप्ने र माहुरीका लागि आवश्यक चरण बनाउने एमालेको संकल्पले उत्साहीत भएको बताएका छन् । सैनामैना नगरपालिकामा चुनिएका एमालेका प्रतिनिधिले आफूहरूको कृषि कर्ममा महत्वपूर्ण सघाउ गरेको र अहिले फेरि नयाँ संकल्प गरेको भन्दै किसानहरु खुशी भएका छन् ।

सैनामैना–४ का माहुरीपालक किसान लेखनाथ न्यौपानेले किसानलाई प्राथमिकतामा राख्नु खुशीको कुरा भएको बताए । उनले सहयोग पाएमा विभिन्न प्रकारका मह उत्पादन गर्न सकिने बताए । न्यौपानेले विगत चार वर्षदेखि माहुरीपालन गर्दै आएका छन् । बिदेशबाट फर्केर कृषिमा होमिएका न्यौपानेलाई नगरपालिकाको अनुदान कार्यक्रमले हौसला बढाएको छ । १० घारबाट सुरु भएको व्यवसायमा अहिले ५० घर माहुरी छन् । मौरीपालक कृषक समूह नै गठन गरेर व्यवसायिक काममा यहाँका किसानहरु जुटेका छन् । १८ जना सदस्य रहेको समूहले माहुरीका लागि आवश्यक चरण क्षेत्रको पहिचान गर्ने, जडिबुटीयुक्त मह उत्पादनका लागि तालिम लिएका छन् । १८ जना सदस्य आबद्ध समूहमा १७ सय माहुरीका घारबाट मह उत्पादन हुँदै आएको छ ।

सैनामैना–३, पर्सावलका टंकबहादुर खत्रीले व्यावसायिक रूपमा ५ सय घार मौरीपालन गरेका छन । उनले नगरपालिकाले अनुदान र हौसला प्रदान गरेर काममा समिर्पित हुने वातावरण बनाएको बताए । न्यु मलमला माहुरी उद्योग नाम राखी पाँचवटा घारबाट सुरु गरी अहिले एक्लै पाँच सय घारमा माहुरी पालन गरिरहेको उनको भनाइ छ । उद्योगमा हाल ५० क्विन्टल मह उत्पादन भएको छ भने वैशाखसम्म मौसम र फूलले साथ दिए थप ५० क्विन्टल उत्पादन हुने लक्ष्य रहेको खत्रीको भनाइ छ । उत्पादित मह बाल्टीमा प्याक गरी मुलुकका विभिन्न स्थानमा पठाइन्छ ।

कति हुन्छ मह उत्पादन ?

सैनामैनामा हाल करिब १८०० घार माहुरी रहेका छन जसबाट बार्षिक ५०० क्विन्टल मह उत्पादन हुँदै आएको छ । यसलाई विस्तार गर्ने तयारी छ । उत्पादित महलाई नगरपालिकाको सहयोगमा माहुरी पालक समुहले महको लेबलिङ भई ब्रान्ड गरी बिक्री बितरण गर्दै आएका छन । व्यावसायिक रूपमा माहुरी पालनको लागि सैनामैना उपयूक्त रहेको माहुरी पालक किसानहरुले बताउँदै आएका छन । मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्य वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।

वनको संरक्षण र वहुउपयोगको योजना

सैनामैनामा भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नुका साथै वनको बहुउपयोग गर्ने योजना रहेको प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ । चुरेमा रहेका वन र तराईमा रहेका वनको थप अध्ययन गरेर दुबै ठाउँमा उपयुक्त हुने विरुवा रोप्ने, भूस्खलन रोक्ने र जडिबुटीको अलग प्लट बनाउने योजना रहेको कार्कीले बताए । सैनामैनामा एमालेले प्राकृतिक रूपमा नै वनको पुनःस्थापना गर्ने र वहु उपयोग गर्ने रणनीतिका साथ नयाँ कार्यक्रम बनाएको प्रतिवद्धतामा उल्लेख गरेको पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका इन्चार्ज मिनप्रसाद पौडेलले बताए । उनले वनको संरक्षण, सम्बद्र्धन र विस्तारका साथै हरियाली प्रबद्र्धनका क्षेत्रमा पार्टीबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएर गएकाहरुले योजनाबद्ध कामको थालनी गरेको र सैनामैनाको मुहार फेर्ने कामको सुरुआत गरेको बताए ।

कार्बन संचितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरको मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षारोपण परियोजनाहरूमा विभिन्न प्रजातिका चाँडै हुर्कने बिरुवाहरू रोप्ने, पुष्परसका विरुवामा ध्यान दिने, वनको संरक्षण गर्ने, वनपथ, वनअध्यय्न केन्द्रको विकास गर्नेलगायतका कार्यक्रम बनाइएको एमालेको प्रतिबद्धतामा उल्लेख गरिएको एमाले सैनामैनाका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक चेतनारायण न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १२:०५