दैनिकी

  • २२ बैशाख २०७९, बिहीबार ०७:४५

परिवर्तनको उपनाम अर्जुन न्याैपाने

-जनकराज ढुंगाना कालु

भनिन्छ मानवीय जीवन जिउन अति कष्टकर छ । तर त्यसो हुँदाहुँदै पनि कष्टकर मानवीय जीवनमा अरुको सेवा गर्न झन कठिननै हुन्छ । जीवनका अनेकौँ आरोहअवरोह पार गर्दै हजारौँ दुःख र चुनौतीहरूको सामना गर्दै सामाजिक सेवा भावसँगै इमान्दार र कर्मठ हुँदाहुँदै पनि कहिले राज्यबाट त कहिले आफ्नै आन्तरिक संगठनबाट छायाँमा पार्ने प्रयास गरिएका संघर्षशील व्यक्तिको पर्यायवाची अुर्जन न्यौपानेको बारेमा यहाँ छोटकरीमा प्रष्ट गर्न खोजेको छु ।

यो परिचय दिँदैगर्दा म माथि अनेक राजनीतिक आरोप तर्क र वितर्क आउनसक्छ तर पनि सत्य र निष्ठावान सामाजिक व्यक्तिको बारेमा बहस गर्दा आइपर्ने सबै चुनौतिलाई सामाना गर्न तयार छु । किनकी अर्जुन न्यौपानेको पीडादायी इतिहासको अगाडी म माथिको आलोचना मिथ्या हुन्छ ।

सामान्य किसान परिवारमा जन्मिएका अर्जुन बाल्यकालमै महाभारको अर्जुनभन्दा कम थिएनन्र । एउटा गरिब किसानको छोरो बाउआमाको पसिनाको महलमाथिको मास्टर डिग्रीको अध्ययन गरी सफलताको घर बनाउँछ । २०३२ सालको उनको जन्मले परिवारमा खुशीसँगसँगै कसरी हुर्काउने र कसरी बढाउने पढाउने भन्ने चिन्ताले उनकका बुबा सप्तनाथ न्यौपानेलाई कुनै रात निन्द्राले अंकमाल गर्दैन तर पनि त्रिशुलीदेखि फिकुरीसम्म भरियाको काम गरी ती सप्तनाथले आफ्नो सपना साकार पार्न प्रयत्न निरन्तर गरिरहन्छन ।

चण्डेश्वरी माविबाट एसएलसीको परीक्षामा सफलता प्राप्त गरेपछि अर्जुन अध्ययनकै लागि बिरानो सहर काठमाडौँ प्रवेश गर्छन । होटलमा भाँडा माझ्ने काम गरी उनले आफ्नो अध्ययन यात्रालाई थप अघि बढाउँछन । त्यहीक्रममा उनले स्नातकोत्तरसम्मको अध्ययन पनि पूरा गर्छन ।

सरकारी जागिर खान त्यतिबेला पनि पहुँच चाहिन्थ्यो तर पहुँचवाला कोही नभेटेपछि उनी पुनः गाउँ फर्किने निधो गर्छन । गाउँमा उनका बुबाले हारगुहार गरी बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुलमा छोरालाई जागिरका लागि वातावरण बनाउँछन । त्यसपछि अर्जुनले पनि पारिवारिक आवश्यकता र समस्यालाई मध्यनजर गरी शिक्षकको नियुक्ति लिन्छन र काम सुरू गर्छन ।

देशमा दरबार हत्याकाण्ड पछि माओवादी बिद्रोहले सबैलाई प्रभावमा पार्छ । नुवाकोटको तत्कालीन अवस्थामा विकट मानिने फिकुरीमा जन्मिएको अर्जुनलाई पनि संकटकालको रापतापले छाडेन । त्यसपछि शिक्षक पेशाबाट राजिनामा दिएर २०५८ सालमा तत्कालीन माओवादी पार्टीको स्पेशल टास्कफोर्सका लागि भूमिगत हुन पुगे ।

भूमिगत भएर माओवादी सेनाको बटालियन कमिसार समेत भएका अर्जुनले बेनी, कृष्णभीर, खारा, हापुरे, चैतारा र थानकोट आक्रमण जस्ता ठूला युद्धमा कमान्डरको रुपमा आफ्नो जिम्मेवारी पूरा गरे । तर उनीमा कतिपय आक्रमणमा आफ्नो बटालियन पराजित हुँदा पनि विचलन देखिएन । जुन विचलनता अहिले नुवाकोटमा भएका अन्य माओवादी नेताको इतिहासमा कालो धब्बा बनेर बसेको छ ।

२०६३ पछि माओवादी १२ बुँदे शान्ति सम्झौता गरेर शान्तिपूर्ण बाटोमा अघि बढ्यो त्यसबेला अर्जुन बासुस्मृति बिग्रेडको कमिसार थिए । विस्तृत शान्ति सम्झौता भयो, सेना समायोजन भयो तर अर्जुन समायोजनमा गएनन् । उनी स्थानीय राजनीतिमा सहभागी हुन्छु भन्दै नुवाकोट फर्किए ।

अर्जुन त्यतिखेर समायोजनामा गएको भए अहिले कुनै गुल्मको गुल्मपति भएर सयौँ सेनाको सलामी खाँदै हुन्थे । उनी आर्मी अफिसरको रुपमा सरकारी सुरक्षाका साथ बसिरहेका हुन्थे । तर उनलाई त्यो भन्दा महत्वपूर्ण जनतासँग नजिक भएर उनीहरुकै सेवा गर्छु भन्ने भयो । त्यसपछि उनी त्यतिखेरको वाइसियलको केन्द्रीय सदस्य र नुवाकोटको जिल्ला अध्यक्ष भए । नुवाकोट आएपश्चात उनले २०७१ सालसम्म नेकपा मओवादी केन्द्र नुवाकोटको जिल्ला कमिटीको सचिवालय सदस्यको रुपमा पनि आफ्नो राजनीतिक कर्मलाई अघि बढाए ।

माओवादीका अन्य नेताहरुको चुरीफुरी बढेको पैसाको थुप्रो बनाका अन्य कामरेडहरुलाई आफूसँग तुलना गर्न थालेपछि बीचमा २०६५ साल भादौ २ गते उनी डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी विशेष राजनीतिक सल्लाहकारको जिम्मेवारी लिनपुग्छन । देशका अन्य प्रधानमन्त्रीको प्रमुख सल्लाहकारहरुको आर्थिक अवस्था हेरेर उनलाई तुलना गर्ने हो भने आकाशपातालको फरक देखिन्छ ।


भ्रष्ट गन्हाउने अन्य नेता कार्यकर्ताको अगाडी अर्जुन आफैँभत्रि हिनताबोधन गरी २०६७ सालमा सुरक्षा गार्डको जागिर खान रोजगारीका लागि मलेसिया जान्छन । मलेसियामा सरक्षागार्डको जागिरले उनको न परिवारको आवश्यकता पूरा गर्यो न त कुनै राजनीतिक प्यास नै मेटाउन सक्यो । त्यसपछि उनी मलेसियाबाट स्वदेश फर्किएर पुनः माओवादीको संगठनमा क्रियाशिल हुनपुगे ।

उनले ज्ञानज्योति उच्चमाविको निर्वाचित अध्यक्ष र सिंगला सहकारीको संस्थापक अध्यक्ष समेत भएर काम गरे ।  काम गर्दै जाँदा उनलाई २०७५ साल मंसिरमा बामती प्रदेश सरकारले जीर्ण अवस्थामा रहेको त्रिशुली अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्छ । र उनी त्यसैमा तल्लीन भएर काम गर्छन । जीर्ण अवस्थामा रहेको अस्पताल पिलो निचोरेर निको पारिदिने अवस्था समेत नदेखेपछि त्रिशुली अस्पताल व्यवस्थित र सुबिधायुक्त बनाउन उनी अहोरात्र खटेर काम गर्दछन । उनीले त्रिशुली अस्पतालको नेतृत्व गरिरहेकै समयमा अस्पतालमा धेरै सुधारहरु देखा पर्दछन ।

लागातार दुई वर्षसम्म त अस्पतालले देशकै उत्कृष्ट सरकारी अस्पतालको सम्मान समेत प्राप्त गर्दछ । उनले देशको नमुना सरकारी अस्पताल त्रिशुलीको नेतृत्व गरिरहेकै समयमा केही ठूला रोगबाहेका धेरै सेवा सुविधा प्राप्त गर्न सकिन्छ । उनले धेरैसँग सहयोग लिँदै समन्वय गरेर अघि बढ्दै जान्छन । सामान्य उपचारका लागि काठमाडौँ धाउनुपर्ने नुवाकोटको जनताको बाध्यता विस्तारै कम हुँदै जान्छ र अहिले दैनिक तीनदेखि पाँच सय नगरिकले त्रिशुली अस्पतालमा सेवा लिँदै आएका छन ।

भनिन्छ राम्रो काम गर्ने मानिस अहिलेको समयमा कुनै पनि संघसंस्था वा निकायको प्रमुखको रुपमा रहन सक्दैनन् । चोरहरुको बीचमा साधुले सुली चढ्नुपर्छ । त्यस्तै भयो अर्जुनको सवालमा पनि । देशमा उनको पार्टी समेत सहभागी भएको गठबन्धनको सरकार बन्छ । प्रदेशमा पनि सोही शैलीमा सरकारहरू परिवर्तन हुन्छ । सरकारसँगै मन्त्रीहरु परिवर्तन भएर नयाँ आउँछन । नुवाकोटकै कांग्रेस नेतृ कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री हुन्छिन । त्यसपछि सबै अस्पतालका अध्यक्षसँगै अजुर्नमाथि पनि सरकारको गिद्देदृष्टि पर्छ । उनी माथि स्पष्टिकरण सोधिन्छ ।

२०७८ माघ २६ गते उनीमाथि राजनीतिक पूर्वाग्रहको आधारमा जिम्मेवारी खोस्ने काम हुन्छ । त्यसपछि अर्जुन विचलित नभइ अन्य केही अस्पतालका अध्यक्षसँग परामर्श गरेर अदालतको ढाको ढकढकाउन पुग्छन । सर्वोच्च अदालतले उनीहरुको माग अनुसारकै आदेश दिँदै गैरकानुनी रुपमा अध्यक्षबाट नहटाउन भन्छ । त्यसपछि उनीहरु काममा फर्किन्छन ।

अहिले अर्जुन स्थानीय सरकारको नेतृत्व गरेर जनताको सेवा गर्ने अभियानमा लागि परेका छन । उनी अस्पतालको अध्यक्ष भएरमात्र जनताको सेवा गर्ने रहर पूरा नभएपछि अहिले किस्पाङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन । उनी नेकपा माओवादीका तर्फबाटउम्मेदवार बनेका छन । जहाँ नेकपा एमाले र माओवदीको गठबन्धन भएको छ । अर्जुनको जीवनको विगतलाइ एक बाक्यमा संक्षेपीकरण गर्ने हो भने संघर्षको मैदानमा कहिल्यै नहारेका व्यक्ति भन्न सकिन्छ । अर्जुन न्यौपानेलाई मतदान गर्न जरुरी छ । महाभारत युद्धमा कृष्णलाई साथ दिने कि कौरवहरुलाई साथ दिने आगे जनता जनार्दनको मर्जी ।

लेखक ढुंगाना हाल कामको सिलसिलामा अमेरिकामा रहेका छन । 

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहीबार ०७:४५