१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विचरा गठबन्धन शून्य, एमाले सगाैरव शतप्रतिशत !


-सूर्य थापा 

पालिका प्रमुख र उपप्रमुखमा महिला उम्मेद्वारी दिने अभ्यासमा प्युठानमा पाँच दलीय गठबन्धन ९ वटै पालिकामा शून्य भएको छ। सबै ठाउँमा काले-काले मिलेर खाउँ भाले भनेजस्तो गरी महिलाकाे अधिकार खाेसेर पुरूषहरूले नै उम्मेद्वारीमा भागबण्डा गरेकाे पाइएकाे छ।

जस्ताेकि –
* सरूमारानी, माण्डवी, ऐरावती, मल्लरानी, झिमरूक, गाैमुखी र नाै बहिनी गाउँपालिका तथा स्वर्गद्वारी र प्युठान नगरपालिकामा कहीँकतै प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनैपर्ने कानुनी व्यवस्था, समावेशिताकाे मर्म र महिला-पुरूष समानता र साझेदारीकाे मान्यताविपरीत गठबन्धनले महिलाहरूलाई ठगेर आफूलाई ठगबन्धन सावित गरेकाे छ।

* पुरूषै पुरूष उम्मेद्वार त २००८ सालमा भएको नेपालकाे पहिलाे नगर निर्वाचनमा पनि थिए ! पञ्चायतमा समेत दलित देखाउनुपर्दा हिरालाल र टिआर विश्वकर्मा तथा महिलाको रूपमा सरस्वती राई र सुशीला थापाहरू माननीय र मन्त्री बनाइन्थे। प्युठानमा ठगबन्धनले प्रमुख नेतृत्वमा एकजना पनि दलित, जनजाति तथा उपप्रमुखमा सम्म एक मात्र महिलाको पनि उम्मेद्वारी दिन जरूरी ठानेन। याे लज्जास्पद र घृणित कार्यअभ्यास हाे । यसमा निर्वाचन आयाेग र काठमाडौंमा वक्तव्यबाजी गर्ने नक्कली महिला अधिकारकर्मीहरू(!)काे माैनता अझै उदेकलाग्दो देखिएकाे छ।

* नेकपा(एमाले)ले चाहिँ प्रमुख तहमै दाेस्राे कार्यकालका लागि सरूमारानीमा झगबहादुर विश्वकर्मालाई उम्मेद्वार बनाएकाे छ। उहाँ पार्टीको जिल्ला उपाध्यक्ष समेत निर्वाचित रहेकाे तथ्य जगजाहेर छ। माण्डवीमा श्रीधर राेका मगर, स्वर्गद्वारीमा रामप्रसाद श्रेष्ठ, मल्लरानीमा शिवराज श्रेष्ठ र नाैबहिनीमा डिलाराम थापा मगरलाई पालिका प्रमुखमा जनजाति समुदायबाट उम्मेद्वार बनाएकाे छ। उपाध्यक्ष मात्रै उम्मेद्वारी दिनुपर्दासमेत झिमरूकमा विष्णु जिएमलाई उठाएकाे छ भने जनजाति समुदायबाट माण्डवीमा सम्झना घर्ती र गाैमुखीमा मगर समुदायकी छाेरी ज्ञानुमायालाई उपाध्यक्षमा उम्मेद्वार बनाएकाे तथ्य स्पष्टै छ।

* जेण्डरकाे नाममा कराेडाैं डलर खेलाउने र मस्तीपूर्ण जीवन जिउने देउवापत्नी डा. आरजु, महिला समानताको भाषण गरेर नथाक्ने माेहनविक्रम पत्नी दुर्गा, लीलामणि पत्नी शशी, कृष्णध्वजपत्नी रेखा र वाइवी पत्नी उर्मिलाहरू यस्तो अभ्यासमा एक शब्द नबाेली विगतमा महिला सशक्तिकरण तथा जागरणका खातिर आआफ्ना अनेमसंघकाे नेतृत्व गरी बसेकाे सकारात्मक इतिहाससमेत खरानी बनाउने कार्य गरेकाे देखिनु झन् खेदजनक छ। देउवापत्नीबाहेक बाँकी चारै जना महाशयाहरू प्युठानकै बुहारी नेतृहरू भइकन यस्ताे अवस्थामा माैनब्रत बस्नु अझ मजाककाे उदाहरण भएकाे छ।

* पिताजी कृष्णप्रसादका श्रीमती तथा बीपी-मातृका काेइराला र मनमाेहन-भरतमोहन अधिकारीका आमाहरूले यस्तै पुरूषप्रधान हैकम र हालीमुहालीलाई थाहा दिन विसं १९७४ सालमा सिरहामा ‘महिला समिति’ गठन गरी चन्द्रशम्शेरका ‘रानी’ हरूलाई फाटेका लुगा र चुराआदि पार्सल गरी पठाएको गाैरवशाली इतिहास रहेकाे छ।

*जुद्दशम्शेरकी नातिनीपनाती(?) फस्ट लेडी रहेकाे आजकाे नेपालमा महिला अधिकार र उम्मेद्वारीविराेधी सरकार र पाँच दलीय ठगबन्धनलाई चुरापाेते, लुंगी र डाेरीरिबन पार्सल गरेर पठाइदिने अभियान नै संचालन गर्नुपर्ने हाे त ? जबकि राणाका रानी र महाराजका महारानीले त ती व्यवस्था र कालमा अहिले हाकाहाकी महिलाकाे हकअधिकार खाेसिंदा माैन र बेखबर नेतृहरूले भन्दा बढी सम्मान, मर्यादा र सुखको उपभाेग गरेका थिएनन् र ? महिला मन्त्रीका श्रीमानलाई ‘मन्त्राे’ भनेर सम्बाेधन गर्न भन्ने परमादेश सरकारका मन्त्रीले यस्ताे नकारात्मक अभ्यासमा माैनता साँध्नुलाई त एकदम स्वभाविक नै मानिएकाे हाेला !

खासमा पाँचदलीय गठबन्धन देशव्यापी रूपमा महिलाविरोधी सावित भएको छ र महिलाहरूलाई देशैभरी र प्युठानमा पनि केबल भाेट खसाल्नमा सीमित गरेकाे छ। याे सरासर महिलाको अपमान, तिरस्कार, तेजाेबध, संबैधानिक र कानुनी व्यवस्था तथा समानुपातिक समावेशिताकाे अभ्यासविपरित पश्चगमन नै रहेकाे स्पष्ट छ।

(नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य थापा प्यूठान जिल्लाकाे इन्जार्ज छन ।)

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १०:३२