१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुई कोइरालामध्ये एक अबको सभापतिकाे उम्मेदवार बन्ने पक्का


४ भदाै, विराटनगर । कांग्रेस महामन्त्री शशांक कोइरालाले पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफ्ना कुरा सुन्न छाडेको बताएका छन् । पार्टीलाई एक बनाएर अघि बढाउनका लागि आफूले सभापतिलाई साथ दिए पनि अब आजित भइसकेको उनले बताए ।

प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । सभापति देउवाको साथ दिँदा धेरैले देउवाको मान्छे भनेको गुनासो गर्दै उनले भने, ‘म न देउवाको मान्छे हुँ, न त पौडेलको ।’ आफ्नो लक्ष्य कसैको मान्छे बन्ने भन्दा पनि पार्टीलाई एक बनाउने रहेको उनको भनाइ थियो ।

कार्यक्रममै कोइरालाद्वयले नेतृत्व लिने विषयमा स्पष्ट जवाफ दिएनन् तर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले दुई कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने दाबी गरे । ‘शेखर दासँग कुरा भइरहेको छ । हामी दुईमध्ये एक जना सभापतिको उम्मेदवार बन्नेमा शंका छैन,’ उनले भने, ‘तर म कि दा भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ ।’ उम्मेदवारीका विषयमा सुजाता, शेखर दा र आफूबीच पटक–पटक कुरा भएको उनले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ०७:२५