दैनिकी

  • १२ बैशाख २०७९, सोमबार ११:२५

आइएमई जनरल इन्स्योरेन्सको शेयर आजदेखि बिक्रीमा

१२ वैशाख, काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले आजदेखि ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

इन्स्योरेन्सले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो ।

इन्स्योरेन्सको उक्त शेयर वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार ११:२५