१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थनः मन्त्री खतिवडा


८ वैशाख, काठमाडाैँ । नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका थिए ।

मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए । उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे ।

मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिए । भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लुएचओको साथ निरन्तर रहने बताएका थिए । त्यस्तै बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गरे । सिंहदरबारमा भएको भेटमा दुईपक्षिय हितका बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:१६