१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेताहरू भोट माग्न गाउँपसे, किसान गहुँ भित्र्याउन खेतमा


७ वैशाख, बैतडी । नेताहरू वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि मत माग्न गाउँ पस्न थालेका छन । तर बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई भने यही बेला गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् ।

यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था रहेको रहेको उनले बताइन् । विगतमा सिँचाइको अभावले गहुँबाली बिग्रिने गरेकोमा यसपालि भने वर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका-६ दहतालका राम बोहराले जानकारी दिए ।

किसानको गहुँबाली सप्रिएपछि किसान खुसी हुँदै खेतमा गहुँ भित्र्याउन लागेको सिगास गाउँपालिका–९ चौखामका मुरलीधर अवस्थीले बताए । विभिन्न समयमा किसानहरूले आफ्नो खेतमा लगाएका कृषि उपजहरू असिनापानीले नष्ट गर्ने भए पनि यसपालि निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका-४का नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘कहिले बेमौसमी वर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठिक्क भएको बालीनाली बिग्रन्छ । तर, यसपालि सबैकुराको अनुकुलता मिलेकाले गहुँबाली सप्रिएको छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १८:३६