१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

काठमाडौँकाे धोविखोलामा आएको बाढीले अनामनगर र बिजुली बजार प्रभावित


३० साउन,काठमाडौँ । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताउनुभयो । बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिनुभयो । नीलोपुलमा राति एक बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काई पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् ।

त्यस्तै गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो । बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुग्नुभएको थियो । उहाँले जनतासँग बाढीले पु¥याएको क्षतिबारे जानकारी लिदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौँ महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराउनुभएको थियो । उहाँले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १४:१८