१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उदयपुरमा रात्रिको समयमा गिट्टी, बालुवा तस्करीमा बृद्धि


३० साउन,उदयपुर । स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ ।

ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको थियो । तस्करी गरी निकासी गरिएका ती नदीजन्य पदार्थ दोब्बर मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका– १२ बगरटोलका स्थानीयवासी लिलानाथ दाहालले बताउनुभयो ।

तस्करीमा संलग्न ट्र्याक्टर व्यवसायीले रु एक हजार २०० प्रतिट्र्याक्टर मूल्यको बालुवा रु दुई हजार ५०० र रु दुई हजार ५०० प्रतिट्र्याक्टरको गिट्टी, रोडा रु चार हजार ट्र्याक्टरका दरले बिक्री गर्ने गरेको गाईघाट शिवालय टोलका कनक कार्कीले बताउनुभयो । चोरी गरी निकासी गरिएका ढुङ्गा रु सात हजार प्रतिट्र्याक्टरसम्म मूल्यमा तस्करीमा संलग्नले बिक्री गर्ने गरेको गाईघाट ढिम्की टोलाका देवेन्द्र खड्का बताउनुभयो । कर छलेर नदीजन्य पदार्थ चोरी भएपनि सम्बन्धित निकाय मौन बस्ने गरेको स्थानीय जनताले आरोप लगाउन थालेका छन् ।

नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईका अनुसार यसको जिम्मा प्रहरी प्रशासनको भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारका अनुसार अर्को बोलपत्र नखोलेसम्म नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध लगाएको र यसको हेर्ने जिम्मा प्रहरी प्रशासनको रहेको बताउनुहुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १३:५१