७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेसले अन्याय गरेको भन्दै कांग्रेसकै नेता अनशनमा


२८ साउन, काठमाडाैँ ।  नेपाली काँग्रेसका नेता रामजी पौडेल हत्यामा आफूलाई दोषी बनाइएको भनी न्यायको माग गर्दै पार्टीका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने आजदेखि सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नुभएको छ ।

घटनामा आफू निर्दोष रहेपनि विभिन्न तवरबाट हत्याको आरोप आइरहेका अवस्थामा त्यसबाट मुक्त गरियोस् भनेर पटकपटक माग गर्दा पनि पार्टीबाट न्याय नपाएपछि अनशन बस्न बाध्य भएको लामिछानेको भनाइ छ । विसं २०७२ साउन २८ गते राति काँग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता रामजीको जघन्य हत्या भएको थियो ।

हत्यापछि नेता रामजीका दाजु राममणि पौडेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएकामा घटनामा संलग्नमध्ये छ जनालाई कास्की जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । आफूलाई लगाइएको आरोप पार्टीले सार्वजनिक रुपमा फिर्ता लिनुपर्ने माग गर्दै उहाँले कानूनीरुपमा मुद्दा फिर्ता भए पनि परिवारका साथै काँग्रेस पार्टीका केहीले अझै पनि हत्याकाण्डको योजनाकार बनाएको बताउनुभयो । घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ कुरा बाहिर आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

हत्या आरोपमा किटानी जाहेरीपछि २६ दिनसम्म कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई आरोप प्रमाणित हुन नसकेपछि रिहा गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार २२:२०