४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

केसी परिवारको सिण्डिकेट तोडिएपछि नुवाकोट छिरे डा प्रकाशरण महत


७ फागुन, नुवाकोट । पार्टीको चौधौँ महाधिवेशनको दौरानमा नुवाकोट जिल्लामा अर्जुननरसिंह केसीको पारिवारिक सिण्डिकेट तोडिएपछि नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएर पनि केन्द्रीय सदस्य मनोनित भएर पार्टी प्रवक्तामा नियुक्त डा प्रकाशशरण महत गृह जिल्ला प्रवेश गरेका छन ।

पूर्व जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जिल्ला पार्टी कार्यालय उद्घाटनमा केन्द्रका एक दर्जन नेता नुवाकोट निम्त्याउँदा डा महतलाई निमन्त्रणा नै दिएका थिएनन् । आफ्नो गृह जिल्लामा कांग्रेसको कार्यालय उद्घाटनमा पार्टी सभापतिसहित सहभागि हुने कार्यक्रममा निमन्त्रणा नपाएपछि डा महत नेताहरूसँग भेटघाट गर्नेगरी भोजपुर पुगेका थिए ।

तर केही महिनाअघि सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा भितजा रमेश महत नै विजयी भएपछि शनिबार डा महतले प्रमुख अतिथिको हैसियतमा छहरे बजारमा पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गरे । पछिल्लो विवादित घटनापछि कांग्रेसको संस्थागत सार्वजनिक कार्यक्रममा डा महतको यो पहिलो कार्यक्रम हो । कतिपयले क्षेत्र नम्बर १ बाट दाजु डा रामशरण महतको विकल्पमा प्रकाशले संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने आंकलन समेत गरेका छन ।

शनिबारको कार्यक्रमा कांग्रेस प्रवक्ता डा महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन । नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र रामहरि खतिवडाले कांग्रेसको सङ्गठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीररूपमा लिएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार २२:३७