पीएम कपः पुलिस क्लबकाे लगातार चौंथो जित

३ माघ, काठमाडाैँ । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो ।

यस समूहमा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अंक जोडेको छ । खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान गरे । भुर्तेलले २८ बल खेल्दा समान तीन चौका र तीन छक्का प्रहार गरे । प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो । प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे । करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार १५:२८