१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी


२६ पुस, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट का नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सेक्य’रिटी स्टान्डर्डको नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित ब्याक इन्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार २३:०९