१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनकोशी किनारा बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र


२४ पुस, उदयपुर । त्रियुगा नगरपालिका-१४ सुनकोसी किनारा धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले बाँजगरामा सेवा केन्द्र स्थापना गरेको हो । याेसँगै रुघाखोकी र ज्वरोको औषधि उपचार गर्नु परे घण्टौँ हिँडेर जानु पर्ने बाध्यता हटेकाे छ ।

नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार हरेक वडामा स्वास्थ्य चौकी भए पनि वडाका कुना कन्दराका गाउँबस्तीसम्म स्वास्थ्य उपचार सहज बनाउन नगरपालिकाले सेवा केन्द्र स्थापना गर्दै आएको छ ।

नगरपालिकाले आन्तरिक स्राेतबाट सञ्चालन गर्ने गरी सेवा केन्द्र स्थापना गरेर स्वास्थ्यकर्मीको व्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए। केन्द्रको मेयर बलदेव चौधरी र उपमेयर देवीकुमारी चौधरीले संयुक्त रुपमा उदघाटन गरे ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार ०९:४६