१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मिडिया अवार्डका नाममा पत्रकार महासंघको नाम बेचेर चन्दा संकलन, चाैतर्फी बिरोध


२२ पुस, काठमाडौँ । ड्रिम हाई नेपालले नेपाल पत्रकार महासंघका केही पदाधिकारीसँग सहमति गरी संस्थाको नाम बेचेर रकम उठाएको (चन्दा संकलन) पाइएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको हस्ताक्षर समेत दुरूपयोग गरेर ड्रिम हाई नेपालका कमल जिसीले मिडिया अवार्डका नाममा असुली गरेका हुन ।

२४ पुसमा हुन लागेको अवार्ड चरम विवादित बन्दै गएपछि कम्पनीले मनोनयनमा पारेका पत्रकारले धमाधम नाम फिर्ता लिइरहेका छन भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरूले अवार्ड अपारदर्शी भएकाले त्यसमा महासंघको नाम जोड्न नमिल्ने भन्दै आपत्ति जनाएका छन ।

अवार्ड बितरणका लागि भनेर होटल सोल्टीमा गरिएको पत्रकार सम्मेलनमा सहभागी भएका नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र एशोसियट प्रदेशका अध्यक्ष वैकुण्ठ पराजुली लगायत ।

उनीहरू मध्ये केहीले सामूहिक विज्ञप्ति नै जारी गरेका छन । पत्रकार महासंघको यस्ता अवार्डमा संस्थागत प्रतिनिधित्व गर्न नमिल्ने हो तर पत्रकार महासंघसँग सहकार्य गरेको भन्दै प्रायोजकहरूसँग जिसीले पैसा मागेको तथ्य दैनिकीले प्राप्त गरेको छ ।

पत्रकार महासंघका महासचिवको हस्ताक्षर दुरूपयोग 

नेपाल पत्रकार महासंघको महासिचव रोशन पुरीको हस्ताक्षर हस्ताक्षर जिसीले दुरूपयोग गरेका छन ।  उनले पुरीको डिजिटल हस्ताक्षर प्रयोग गरी पुरी र आफ्नो नाम राखेर सरकारी निकायमा आर्थिक सहयोगका लागि पत्र लेखेका छन । जिसीले काठमाडौँ महानगरपालिका, नेपाल आयल निगम, नेपाल वायु सेवा निगम, नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड लगायतका निकायमाले पुरीको हस्ताक्षर अनुमति बिनै प्रयोग गरिएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी र ड्रिम हाइ नेपाल प्रालिका सञ्चालक कमल जिसी।

दैनिकीले आर्थिक सहयोग माग गरिएको विषयमा पुरीको पनि हस्ताक्षर भएको पत्र पुगेको जानकारीसहित जिज्ञासा राख्दा उनले यसबारेमा आफू गम्भीर ढंगले कानुनी कारबाहीमा जान लागेको बताए । उनले अनुमति बिना आफ्नो हस्ताक्षर प्रयोग भएको विषयमा विभिन्न निकायबाट आफूलाई जानकारी आएको र प्रमाणसहित प्रहरीकोमा जाने बताए ।

महासचिव पुरीले दैनिकीसँग भने, ‘नेपाल मिडिया अवार्डका नाममा सहयोग माग्दै मेरो पनि डिजिटल हस्ताक्षर प्रयोग गरेको पत्रहरू विभिन्न निकायमा पुगेको जानकारी पाएँ । मैले यसबारेमा सम्बन्धित निकायलाई पनि जानकारी गराउने छु र प्रहरीकोमा पनि उजुरी दिन्छु । महासंघमा यस्ता अवार्डहरू गर्नेबारेमा कुनै छलफल पनि भएको छैन र केही निर्णय पनि भएको छैन । महासंघको सहकार्य भनेर जसरी प्रचार गरिएको छ त्यो पनि खेद जन्य छ ।’

महासंघका अध्यक्ष नै संलग्न 

अवार्डका नाममा महासंघका अध्यक्ष विपुल पोखरेलले केही प्रक्रिया मिलाइदिएको पाइएको छ । उनी आफैँ त्यसमा खुलेर नलागे पनि अवार्डको तयारीका नाममा ड्रिम हाई नेपालमा केही छलफलमा सहभागी भएर पत्रकार महासंघको नाम जोड्न अनुमति दिएको पाइएको छ । आयोजक ड्रिम हाई नेपालका जिसीले दैनिकीसँग कुरा गर्दै महासंघका अध्यक्ष र कोषाध्यक्षले आफूलाई सहयोग गरेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल ।

जिसीले दैनिकीसँग भने, ‘मैले महासंघसँग सहकार्यका लागि कोषाध्यक्षसँग नेपाली कागमजै हस्ताक्षर गरेर सम्झौता पनि गरेको छु । महासंघका लागि केही सहयोग गरेको छु । उहाँ पदाधिकारीहरूलाई पनि सहोयग गर्छु भनेको छु । म उहाँहरूलाई पनि सहयोग गर्छु । अवार्डका बारेमा नबुझेका मान्छेहरूले हल्ला चलाए ।’ जिसीले अवार्डका नाममा गरेको पत्रकार सम्मेलनमा भने महासंघका सचिव पवन आचार्य र एशोसियट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुली उपस्थित भएका थिए ।

मनोनयनमा परेका अधिकाशंले नाम फिर्ता लिए

अवार्डका नाममा जसलाई कम्पनीले सम्मान गर्ने भनेर मनोनयको नाम सार्वजनिक गरेको थियो तिनै पत्रकारहरूले सार्वजनिक रूपमा टिप्पणी गर्दै आफ्नो नाम फिर्ता गरिदिन अनुरोध गरेका छन । अधिकांश पत्रकारले आफ्नो नाम हटाउन आयोजकलाई आग्रह गरेका छन । अवार्ड नाममा अपारदर्शी काम भएको र प्रश्न उठेको भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत आफ्नो नामहरू हटाइदिनु अपिल गरेका छन ।

त्यसरी नाम हटाउन अपिल गर्नेमा हिमलखबरका सागर बुढाथोकी, कान्तिपुर दैनिकका मणि दाहाल, अनलाइनखबरका कृष्ण ज्ञवाली, नयाँ पत्रिका दैनिकका जनार्दन बराल लगायत रहेका छन । बराल लगायत केहीले संयुक्त रूपमा विज्ञप्ति नै जारी गरी आफूहरूको नाम विना जानकारी प्रयोगभएकोमा आपत्ति जनाएका छन ।

विज्ञप्ति नै जारी गरेको अपरादर्शी काममा नाम प्रयोग नगर्न आग्रह गर्ने पत्रकारहरू ।
विज्ञप्ति नै जारी गरेको अपरादर्शी काममा नाम प्रयोग नगर्न आग्रह गर्ने पत्रकारहरू ।

महासंघका केन्द्रीय सदस्यको पनि आपत्ति

अवार्डका अनाममा अपारदर्शी ढंगले चन्दा उठाउने, महासचिवको हस्ताक्षर जानकारीबिना नै आर्थिक लेनदेनको विषयमा उपयोग गर्ने जस्ता काम भएको जानकारी पाएपछि महासंघका केन्द्रीय सदस्य मणि दाहाल र विकास कार्की लगायतले पनि आपत्ति जनाएका छन । उनीहरूले अपारदर्शी काममा महासंघको नाम दुरूपयोग हुनु दुःखको विषय भएको बताएका छन । उनीहरूले पुस ३० गते हुने महासंघको केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीर ढंगले उठान गर्ने बताए ।

हस्ताक्षर भएको चिठ्ठी प्रयोग गरेको हुँः जिसी 

ड्रिम हाई नेपालका जिसीले आफूले पत्रकार महासंघका महासचिव रोशन पुरीको जानकारी बिनानै हस्ताक्षर प्रयोग गरेको स्वीकार गरे । उनले दैनिकीसँग भने, ‘मैले महासचिव रोशन पुरीको नाम राखेर उहाँको हस्ताक्षर भएको पत्र प्रयोग गरेको हो तर मैले महासचिव पुरीसँग कुरा गरेको थिइन तर महासंघको नेतृत्वले अनुमति दिएकैले प्रयोग गरेको हो ।’

यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा गर्ने भनिएको उक्त कार्यक्रममा दुबईमा रहेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ सह(प्रायोजक राखेर उनीहरूको कम्पनीका प्रतिनिधिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको हातबाट सम्मानित गराउने कार्यक्रम समेत बनाएको नेपाल पत्रकार महासंघका एक पदाधिकारीले बताएका छन । केही व्यक्तिले कमाउने उद्देश्यका निम्ति व्यवसायिक संस्थाको वद्नाम भएको भन्दै धेरैले सामाजिक सञ्जाल मार्फत चिन्ता प्रकट गरेका छन ।

मिडिया अवार्डका नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बीर राखेर प्रचार गरिएको पोस्टर । जहाँ नेपाल पत्रकार महासंघको नाम र लोगो सहकार्य भनेर प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १५:५२