१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कानुन विपरित माओवादी केन्द्रीय कमिटीमा


१९ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रले कानुन विपरित उपसभामुखहरूलाई पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाएर केन्द्रीय सदस्य बनाएको पाइएको छ । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट पि घर्ती को नाममा केन्द्रीय कमिटीमा छानिएकी छिन । भूमिगतकालमा दुइ थरी नाम बनाउने माओवादीले खुला राजनीतिमा पनि उपसभामुखलाइ पार्टीको कमिटीमा निर्वाचित गरेर कानुन विपरित नौलो अभ्यास गरेको छ ।

त्यस्तै बागमती प्रदेशको उपसभामुख राधिका तामाङ आइतबार सम्पन्न माओवादी महाधिवेशनबाट केन्द्रीय सदस्यमा पुनः चयन भएकी छिन ।  पूरा नाम राख्दा सबैले थाहा पाएर आलोचना गर्ने भएकाले केन्द्रीय कमिटीको सूचीमा आर तामाङ बनाइएको छ । उपसभामुख भएपछि मओवादीबाट राजिनामा दिएकी तामाङ त्यसपछि पनि पार्टीको वडा कमिटीको भेलादेखि हरेक खालको गुटमा सहभागी हुँदै आएकी थिइन ।

केही साताअघि काठमाडाैँमा सम्पन्न नुवाकोट काठमाडाैँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बाेधन गर्दै उपसभामुख तामाङ ।

नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क बाट बागमती प्रदेशसभामा विजयी तामाङ जिल्लाको पार्टी राजनीतिमा निकै मसिनोगरी लाग्ने गरेकी छिन ।  नुवाकोटका नेता कार्यकर्ताले उनलाई मओवादीको केन्द्रीय सदस्य भएकोमा व्यापक बधाई दिइरहेका छन । माओवादीको विदुर नगरकमिटीको अध्यक्ष प्रभा बोगटीले पनि उनलाई सामाजिक सञ्जाल मार्फत बधाइ दिएकी छिन । सायौँ माओवादी कार्यकर्ताको फेसबुकमा बधाई पाइरहेकी उपसभामुख तामाङले फेसबुकको टाइमलाइनमा भने ट्याग अन गरेकी छैनन् ।

उद्यपी उनले फोन मार्फत बधाई ग्रहण गरिरहेकी छिन । राधिकासँगै हितबहादुर तामङ र विमला सुवेदी पनि माओवादीको केन्द्रीय कमिटीमा परेका छन । संविधानको व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष र प्रदेशसभाका सभामुख र उपभामुखले आफू पदमा निर्वाचित भए पनि दलीय आवद्धता त्याग्नुपर्ने हुन्छ ।

पदमा निर्वाचित भएपछि उनीहरूको राजिनामा स्वीकृत हुने र दल त्याग गरेको नमननिने कानुनी व्यवस्था छ । तर, त्यसो भन्दैमा उनीहरूले पार्टीको गतिबिधिमा भने सहभागिता जनाउन पाँदैनन् । तर माओवादीले भने उपासभामुखलाई प्रतिनिधि बनाएर केन्द्रीय कमिटीमा समेत निर्वाचित गरेको छ ।

नुवाकोटको तादी गाउँपालिकाको वडा कमिटीको बैठकमा सहभागी हुँदै उपसभामुख तामाङ ।

उपसभामुखमा निर्वाचित भएपछि पार्टीको गतिबिधिबाट टाढा रहनुपर्नेमा तामाङ गृह जिल्ला नुवाकोटमा हुने पार्टीको वडा कमिटीको कार्यक्रममा समेत पुगेर भाषण गर्छिन । उनले केही साता अघिमात्र भएको माओवादीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा गएर पनि भाषण गरेकी थिइन ।

नुवाकोटमा माओवादीको दुइ गुट रहेका छन । जसमा हितबहादुर तामाङ निकटका नेताहरूको गुटको नेृतृत्व तामाङले गर्दै आएकी छिन भने अर्को समूहको नेतृत्व हिरानाथ खतिवडाले गर्दै आएका छन । नेता कार्यकर्ताहरू गुटमा विभाजित हुँदै जाँदा माओवादीकै इतिहासमा पहिलो पटक भएको भनिएको आन्तरिक चुनावमा प्रतिनिधि नै नभएको व्यक्ति समेत प्रदेश कमिटीमा निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १५:४१