१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

~डा. विदुर चालिसे

एकदिन जनता माथिकाे अन्याय अत्याचार देखेर भगवान राेए । उनले देश परिवर्तन गर्न कसैलाई अह्राए । छानिएकाले निकै विमर्श गरे । विमर्शमा कुराहरू अनेकाैं दुखद कुराहरू निस्क्याे । उल्फतमा समय गयाे । राेगी, दुखी, भाेका, नाङ्गा, पीडित र हेपिएकाहरू छटपटाउन थाले । उनीहरू साेच्न लागे ।

–“देश परिवर्तन त भिजन भएकाले गर्ने हाे !”

यसपछि परिवर्तनका आशामुखी जनताले भिजन भएका नेता खाेजी गर्न लागे । खाेज्दै जाँदा बाटाेमा एउटा महापुरूष भेटेर साेधे ।

–“यहाँसँग हामीलाई परिवर्तन गर्ने भिजन छ ?”

–“मलाई विश्वास गर्नुस, कायापलट हुन्छ !”

–“कस्ताे कायापलट !”

–“हेर्दै जानुस न देखाइदिन्छु !

महापुरूषले भीड देखेपछि आश्वासनकाे प्रलाेभन जनतालाई छरे । उनीहरू पनि मख्ख पर्नथाले । आफूजस्तै गरिब र दरिद्र नेताहरू मात्रै फेला परेपछि जनताहरूले साेध्न थाले ।

–“नेता हुनलाई धनी हुनु पर्दैन र ?”

–“गरिब नेता भए पाे गरिबकाे सेवा गर्छ त, धनी नेताले धनी कै सेवा पाे गर्छ त ।”

उनीहरूकाे बिचमा बहस खुब चर्कियाे । त्यसपछि पिल्सिएका दुखित, गरिब, दरिद्र र उत्पीडितहरूले आफू जस्तै गरिब नेता आफ्नाे समाजमा पाएपछि दङ्ग परे ।

–“हाम्राे सेवा गर !”

गरिबहरूकाे दुखेसाे सडकमा उठिरहेकाे थियाे । गरिब नेता बर्बराउन थाले ।

–“सेवा त गर्ने, खर्च बर्च छैन ! बरू चन्दा दिनाेस अनि कदम चालुँला !”

जनताहरू चन्दासँग कायापलट साट्न खाेजिरहेका थिए तर सट्टा बजारकाे भाउ घटिसकेकाे थियाे । भगवानकाे नयनमा आँसु झरिरहेकाे थियाे । भगवानले दुनियातिर रसिला नयन घुमाएर भने ।

–“यिनकाे केमेष्ट्री मिलेन !”

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ११:१७