७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हाइकूसङ्ग्रह ‘ऐलानी घाम’ को लोकार्पण


९ पुस, काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकार दिल पौडेलको आठौँ कृति हाइकूसङ्ग्रह ‘ऐलानी घाम’ को विमोचन गर्नुभएको छ । नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा कुलपति उप्रेतीले कोरोनाको महामारी फैलिएपछिको बन्दाबन्दीका समयमा लेखक पौडेलले समयको सदुपयोग गर्दै आफ्नो प्रतिभाको प्रस्फुरण गरेर उक्त कृतिको सिर्जना गरेकामा खुशी व्यक्त गर्नुभयो ।

कुलपति उप्रेतीले नयाँ नयाँ प्रयोग गर्दै लेखकले हाइकू विधामा फरक पहिचान कायम गर्न कोसिस गरेको बताउनुभयो ।प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले साहित्यकार पौडेलले प्रकृति, जीवन र समयसापेक्षतालाई आत्मसात् गरेर व्यङ्ग्यप्रधानयुक्त हाइकूहरुको सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो । पाँच, सात र पाँच गरी १७ अक्षरमा हाइकू रचना गरिन्छ ।

समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले लघुतम विषयमा लेखक र पाठकको आकर्षण देखिएका बेला उक्त कृति बजारमा आएको भन्दै स्रष्टाहरुले जटिल नभई सरल तथा सम्प्रेषणीय शैलीमा सिर्जना गर्नुपर्ने बताउनुभयो । अर्का समालोचक डा यज्ञेश्वर निरौलाले जापानी साहित्यबाट आएको हाइकू विधालाई नेपालमा स्थापित गराउने क्रममा प्रस्तुत कृति महत्वपूर्ण हुने बताउनुभयो । नागार्जुनका अध्यक्ष प्रकाश सिलवालले हाइकू विधामा विज्ञसहित संगोष्ठी र प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरिने योजना सुनाउनुभयो ।

कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनी, महेश प्रसाइँ, डा कृष्णप्रसाद दाहाल, निजामती कर्मचारी सङ्गठनको आधिकारिक ट्रेड युनियन पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाललगायतले पौडेलको कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो भने सुमिता पौडेल, माधव निर्दाेष, डिजे पौडेल र युवराज नास्तिकले हाइकू र गीत प्रस्तुत गर्नुभएको थियो ।

कूल २०० पृष्ठको सो कृतिमा एक हजार ५१५ हाइकू र ५६३ सेन्यु गरी दुई हजार ७८ रचना छन् । कृतिमा एउटै अक्षरबाट सुरु भएका करिब २०० हाइकू र संस्कृति शब्दबाट बनेका केही हाइकू उच्चस्तरको प्रस्तुति पाइएको जनाइएको छ । छोटो विधा मानिने हाइकूले एटम बमको प्रहार बराबरको अर्थ सामथ्र्य बोक्ने सक्ने यसका विज्ञहरुले जनाएका छन् ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार २१:४१