१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चिकित्सा क्षेत्रमा दुर्लभ घटनाः क्यानडाकी महिलाको कलेजोमा भ्रुण


७ पुस, काठमाडाैँ । क्यानडामा एक महिलाको कलेजोमा भ्रुण विकसित भएको पाइएको छ । क्यानडाकी ३३ वर्षीया एक युवतीको कलेजोमा देखिएको भ्रुणलाई चिकित्सा क्षेत्रमा निकै दुर्लभ भएको चिकित्सकहरुले बताएका छन् ।

विरामीको यस अस्वाभाविक अवस्थालाई उनको उपचारमा संलग्न एक चिकित्सकले भिडियोमार्फत खुलासा गरेका हुन् । क्यानडास्थित हस्पिटल रिसर्च इन्स्टिच्युट अफ मनिटोबाका बालरोग विशेषज्ञ डा. मिसेल नार्भेले महिलाको कलेजोमा भ्रुण देखिएको बताए । उनले भने, ‘महिलामा लगातार १४ दिनसम्म रजस्वला भएको गुनासो गर्दै परीक्षणका लागि अस्पताल आएकी थिइन् ।’

परीक्षणका क्रममा चिकित्सकले महिलाको अस्वभाविक स्थानमा गर्भ रहेको पाएका थिए । निषेचित अन्डा गर्भाशयको छिद्रामा पुग्नुको सट्टा शरीरको अन्य भागमा पुग्नुलाई अस्वभाविक गर्भ (एक्टोपिक प्रिगनेन्सी) भनिन्छ ।

नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनका अनुसार कलेजोमा हुने एक्टोपिक प्रिगनेन्सी चिकित्सा क्षेत्रमा दुर्लभ भन्दा पनि दुर्लभ घटना हो । भिडियोमा डा. नार्भेले अगाडि भनेका छन् ‘यसअघि कहिलेकाही हामीले पेटभित्र अस्वभाविक गर्भधारण देखेका थियौं । कलेजोमा पहिलो पटक देखिएको हो ।’

चिकित्सकहरुले सो भ्रुणको शल्यक्रिया गरेर महिलाको जीवन जोगाएको क्यानडाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १०:४२