७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नूः डब्लूएचओ


६ पुस, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ ।

‘जीवन नै रद्द गर्नभन्दा कार्यक्रम रद्द गर्नु उर्पुक्त हुन्छ,’ डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयससले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निणर्य’ लिनुपर्ने उनको भनाई छ । ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनको भनाई छ ।

नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरुले कोभिड प्रतिबन्ध लगाइरहेका बेला डब्लूएचओका प्रमुखको भनाई आएको हो । नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ । बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ । तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यलय ह्वाईटहाउसले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०९:०४