१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पुरानै लयमा फर्किंदै लुम्बिनीको पर्यटन व्यवसाय


२२ मंसिर, वुटवल । कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए ।

तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए । लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन् । ‘यसले व्यवसायीलाई मात्र नभई घुम्न आउनेहरुलाई पनि उत्साही बनाएको हामीले पाएका छौं’, उनले भने ।

अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने महासचिव शर्माले बताए । ‘कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी छ, नभए पर्यटन व्यवसायले खासै फाइदा उठाउन सक्दैन,’ उनले भने ।

कोभिड-१९ को संक्रमणदर कम हुँदै जाँदा यतिबेला लुम्बिनीमा पर्यटकहरूको भीड लाग्न थालेको छ । तेस्रो मुलुकबाट भित्रिनेको संख्या बढ्दै गएको बेला अहिले भारतबाट आउने पर्यटकहरूको संख्या उल्लेख्य छ । संक्रमण नियन्त्रणउन्मुख भएसँगै खुला भएका विद्यालयहरू शैक्षिक भ्रमणमा निस्किन थालेका छन् । लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको संख्या बढेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चारहजार पर्यटक भ्रमणका लागि आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा अघिल्ला महिनाहरूको तुलनामा पर्यटक बढ्दै गएको कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा लुम्बिनी विकास कोषले यहाँको सौन्दर्यीकरणका साथै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ । त्यसैले पनि पछिल्लो समय लुम्बिनी आउनेहरूको संख्या बढ्न थालेको कोषको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १३:४४