१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले–माओवादी र फोरमको बैठक अनिश्चित, लम्बियो सरकार विस्तार


१९ फागुन, काठमाडौँ । नेकपा एमाले, नेकपा मओवादी केन्द्र र संघीय समाजवादी फोरमबीचको बैठक अनिश्चित बनेको छ । आज दुई पक्षका बीचमा बैठक हुने भनिए पनि यतिखेरसम्म समय निश्चित भएको छैन ।

योसँगै संघीय सरकारको पूर्णतामा संघीय समाजवादी फोरम तत्कालका लागि बाधक देखिएको छ । संविधान संशोधनको मागलाई सम्बोधन गर्न नेकपा एमाले तयार देखिए पनि सरकारमा सहभागिताको विषयले मन्त्रिपरिषद्को विस्तार अड्किएको छ ।

आवश्यकता र औचित्यको प्रश्न उठाउँदै संविधान संशोधनलाई राष्ट्रघाती र राष्ट्रहित बिरोधी भन्दै आएको एमाले र त्यसको नेतृत्व गरेका केपी शर्मा ओली आज सरकारको नेतृत्वमा रहेका छन ।

उनले सरकारको नेतृत्व पनि गरिरहेका कारण विगतको अडानमा लचिलो बन्दै कतिपय औचित्य र कतिपय आवश्यकताको सन्दर्भ देखाएर संविधानका केही विषयवस्तुमा संशोधनका लागि तयार हुनुलाई स्वभाविक मानिएको छ ।

एमालेले भन्दै आएको जस्तो संविधान संशोधनका लागि औचित्य पूष्टि गर्न समस्या भएपनि दुई तिहाइको सरकारका लागि संशोधन आजका दिनमा आवश्यक बनेको छ । यस परिप्रेक्षमा नेपाली जनताले दिएको म्यान्डेट अनुसार आर्थिक समृद्धि र स्थायी सरकारका लागि दुई तिहाई मत आवश्यक छ ।

आजका दिनमा सरकारको पक्षमा स्पष्ट दुई तिहाईका लागि संघीय समाजवादी फोरमको मत निर्णायक देखिएको छ । उक्त मतका लागि मधेशको मुद्दाका नाममा फोरमले उठाउँदै आएको संशोधनको केही एजेण्डामा एमालेले सहमति जनाएको हो ।

तथापी सरकारमा सहभागिताका लागि तीन मन्त्रालय मागेर बार्गेनिङ गरिरहेको फोरमको माग सहजै समाधान हुने देखिएको छैन । मन्त्रीका लागि एमालेभित्रै रुवावासी चलिरहेको बेला फोरमलाई तीन मन्त्रालय दिन समस्या देखिएको छ । यद्यपी दुई मन्त्रीसहित फोरम सरकारमा सहभागी हुन राजी हुने माओवादी केन्द्रका एक नेताले बताएका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १३:१७