८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले कार्यकर्ताको अनुशाशित शैली, मिठो बोली-व्यवहारले लठ्ठियो साैराहा


-पूर्ण रिजाल 

मंसीरको १०, ११ र १२ गते नेकपा एमालेको महाधिवेशन नारायणी नदी किनारमा उद्घाटन पश्चात् नेपालको प्रमुख पर्यटनग्राम सौराहामा हुने खबरले मुर्झाएर बसेका पर्यटन ब्यवशायीहरूमा एकाएक चमक आएको थियो। होटल एशोशिएशन र नेकपा एमालेको पटक पटकको वार्तापछि सौराहामा आउने प्रतिनिधिहरूलाई खाना र आवासको टुंगो लाग्यो ।

होटल, रेष्टुँरा, पसल संचालकहरू आ-आफ्नो ब्यवस्थापनमा लागे अतिथि सत्कारका लागि ! यसै त सफा र सुन्दर सौराहा, ७७ जिल्लाबाटै प्रतिनिधि आउने, अझ बिदेशी पाहुनासमेत आउने भनेपछि दुलही झैँ सिंगारिएको थियो !

होटलका बेड, तन्ना फेरिए, गमलामा फूल फुले.! रेष्टुराँहरूका टेबलहरूमा नयाँ टेबलपोश सजिए, पसलेहरूले आ-आफ्ना पसलको राम्रो लेआउट गरे, चिटिक्क पारे ! ठाउँ ठाउँमा प्रवेशद्वार, ब्यानरले सौराहा राजकुमारी झैँ लाग्थी !

१० गते बेलुकीबाट सौराहाको चहलपहल बढ्दै गयो, सडकमा मानिसहरूको बाक्लो उपस्थिति.! होटल कता हो ? कताबाट जाने? प्रायः होटलहरूको नाममा केही न केही रूपमा समानता भएको कारणले मानिसहरू अलमलिएको प्रतीत हुन्थ्यो।

पार्टीको कार्यक्रम भएको सेवेनस्टार होटल भित्रका गतिविधिबारे समाचार सुनेरै थाहा हुन्थ्यो, प्रतिनिधिहरू, स्वयंसेवकहरू, र तोकिएका व्यक्तिहरू बाहेक अरूलाई निषेध थियो र सुरक्षा ब्यवस्था चुस्त थियो !

पार्टीको आन्तरिक कारणले अधिबेशन १२ गते समापन हुनेमा दुई दिन लम्बिएर १४ गते समापन भयो । यस अवधिमा करिब छ हजार जना सौराहा बसे, आतिथ्यता लिए ! ब्यवसायीहरू, सौराहावासीहरू केही भवितव्य पर्छ कि, झगड़ा पो पर्छ कि भन्ने त्रासमा थिए । बेलुका खाएर झगडा पर्ला, व्यवसायी र पाहुनाकाबीच भनाभन होला आदि कुराले चिन्ता मानेका व्यवशायीहरू एमाले प्रतिनिधि र कार्यकर्ताहरूको अनुशाशित शैली, मिठो बोली-ब्यवहारले कृतज्ञ भएका छन्।

एक टुक्रा कागज सडकमा फालिएका छैनन् ! प्लाष्टिकका खाली बोतलहरू हातमा लिएर हिँडेका छन्, जहाँपायो त्यहिँ फालिएका हुँदैनथे । बेलुकी बजार डुल्दा पनि शालीन तवरले प्रस्तुत हुने शैली अनुकरणीय लाग्थ्यो । कहिँ कतै अश्लील शब्द सुनिएन ।

कदिने कार्यक्रम हुँदा पनि बेलुकी भएपछि मादक पदार्थले लठ्ठिँदै म मा मि मी, च चा चि चि सुन्न र भोलिपल्ट सडकमा छरिएका फुटेका सिशा र अन्य फोहर उठाउन अभिशप्त पसलेहरू एमालेको यो पाँचदिने कार्यक्रममा एक टुक्रा काग़ज़ पनि सडकबाट टिप्न नपर्दा आश्चर्यचकित भएकाछन् ।

अझ अर्को आश्चर्य कुरा यो छ कि १४ गते बेलुकी ८ बजे निर्वाचितहरूको शपथग्रहण र मायाको चिनो आदान प्रदान गरेको समाचार सुनेका हामीले ९.३० त्यहि सड़कबाट क्रस हुँदा यहाँ कार्यक्रम थियो र ? जस्तो भान भयो। त्यत्रा मानिस, गाडी, प्रहरी, स्वयंसेवकमध्ये एकजना पनि नदेखिनु अचम्म थियो ।

राजनीतिक आस्था फरक हुँदा नभएको कुरालाई पनि हो भनेर बिपक्षीहरूको तेजोबध गर्ने हामी नेपालीको परंपरागत बानीलाई सौराहाबासीले नकारेका छन् र चुस्त, दुरूस्त ब्यवस्थापनप्रति एमालेको दील खोलेर प्रसंशा गरेका छन् । सौराहावासीको यो प्रतिकृया अत्यन्त सह्राहनीय छ।

‘चामलमा बियाँ‘ भने झैँ केहीले आलोचना वा बदनाम गर्न खोजेको पनि सुनियो । एमालेका पाँच/छ जना कार्यकर्ताले लेज, कुरकुरे, दालमोठसँग पसलभित्रै बसेर लगातार पाँचवटा साँझमा रक्सी खाएर २ लाख ५० हजारको ब्यापार दिए, हामीकहाँ बसेका केही महिला प्रतिनिधिहरूको कोठामा वाइन र रक्सीका बोत्तलहरू थिए ‘ आदि !

अझ नारायणघाटका एकजना औषधी पसलेले त “चितवनमा कण्डम र पिल्सको अत्यधिक बिक्री’ भनेर लेखे र पछि डिलिट गरे” भन्ने हल्ला पनि फिँजियो रे ! सौराहामा एमालेले देखाएको भद्रताले उपरोक्त व्यक्तिहरूलाई दह्रो झापड दिएको छ।

जे होस्, हाम्रो सौराहाको परिचयको नविकरण भएको छ । यो पाँच दिनमा कसैको धेरै कसैको कम ब्यापार भयो होला । तर यो महाधिवेशनका कारणले सौराहाको ब्यवशायको प्रवर्द्धनमा ठुलो योगदान पुगेको छ । हामी सौराहाबासीहरूको आह्वान छ – आउनुस्, जत्रोसुकै ठुलो कार्यक्रम भए पनि हामी तपाईँहरूको आतिथ्यमा कमी हुन दिनेछैनौँ ।

यो पाँच दिनमा नेकपा एमालेले देखाएको भद्रता, शालीनता र चुस्त ब्यवस्थापनका लागि उसलाई धन्यबाद छ र हामी सौराहाबासीहरू एमालेले देखाएको उपरोक्त कृयाकलापको खुलेर प्रशंशा गर्दछौँ र तपाईं नेता, प्रतिनिधि र कार्यकर्ताहरूलाई आतिथ्यता प्रदान गर्न पाएकोमा गौरव़ महशुश गर्द छौँ ! जय सौराहा !

(लेखक रिजाल साैराहाका व्यवसायी हुन ।)

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १२:२३