१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

 नेपालले नेदरल्यान्ड र एमसीसीसँग टी-२० सिरिज खेल्दै


१३ साउन, काठमाडौं । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो ।इङ्ग्ल्याण्ड टुरमा रहेको नेपालले आइतबार नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लब सँग त्रिकोणात्मक टी-२० क्रिकेट खेल्ने भएकाे छ ।

क्रिकेटको ‘घर’ मानिने लर्ड्स मैदानमा दिउँसो नेदरल्याण्ड र एमसीसी आमने सामने हुनेछन् । भने नेपालले पहिलो खेल एमसीसीसँग खेल्ने छ । त्यसपछि दोस्रो खेल नेदरल्याण्डसँग खेल्ने छ । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी-२० को मान्यता दिएको छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले आजको खेल महत्वपूर्ण भएको बताउँदै जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताएका छन् । नेपालले दुई वर्ष अगाडि पनि लर्ड्स मैदानमै पुरानो क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टी-२० को सिरिज खेल्न नेपाल एक साताअघि इङ्ग्ल्याण्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले तीनमा जित र एकमा हार व्यहोरेको थियो । त्रिकोणात्मक श्रृंखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । त्यहाँ बुधबार र शुक्रबार नेपाल र नेदरल्याण्डबीच खेल हुने छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०९:४८