७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कांग्रेस सभापतिमा निर्वाचित भएलगत्तै खड्काले गरे पार्टी भवन बनाउने घोषणा


१३ मंसिर, इलाम । नेपाली कांग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच रोपनी जग्गा पार्टी भवन निर्माणका लागि दिएका हुन् ।

खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम करिब ९० लाख रुपैयाँ मूल्य बराबरको जग्गा पार्टी कार्यालयको भवन बनाउन दिने घोषणा गरेका हुन् ।

‘इलाम बजारमा मेरो नाममा भएको जग्गा पार्टीलाई दिने घोषणा गरेको छु, प्रक्रिया पूरा गरेर पार्टीको नाममा पास गर्छु’, खड्काले सभापतिमा निर्वाचित भएको भोलिपल्ट आइतबार पत्रकार सम्मेलन गरेर भने, ‘त्यहाँ भवन निर्माण थाल्छौ, त्यो जग्गामा भएको रुख काट्न भनिसकेको छु ।’

उनले तुरुन्तै पार्टीको कार्यालय भवन निर्माण सुरु हुने जानकारी दिए । पार्टी भवन निर्माणका लागि आइतबार नै सात लाख रुपैयाँको प्रतिबद्धता पाएकोसमेत उनले बताए । आफूले पार्टी भवन निर्माणका लागि एक करोड रुपैयाँको योगदान गर्ने बताएका खड्काले जग्गाको मूल्यांकनभन्दा बाँकी रकम भवन निर्माणमा लगाउने बताए ।

‘मैले उपलब्ध गराएको जग्गाको मूल्यांकनभन्दा बाहेककाे रकम पार्टी भवनको लागि खर्चिन्छु’, खड्काले भने,‘भवन निर्माणका लागि सात लाख रुपैयाँको प्रतिबद्धता आएको छ, अरु साथीहरू पनि भवन निर्माणका लागि लगानी गर्न तयार हुनुहुन्छ ।’

जिल्ला सभापतिमा निर्वाचित भएका खड्काले पराजित भएका सबैलाई मिलाएर लैजाने दाबी गरे । ‘म महाधिवेशनमा पराजित भएकाहरूलाई सम्मान गर्छु, उहाँहरूलाई उचित स्थान दिन्छु’, खड्काले भने,‘पार्टीमा प्रतिस्पर्धा गरेका कारण तिक्ततामा रहनुपर्ने केही कारण छैन ।’ खड्काले इलाममा गुटको राजनीति अन्त्य गर्ने र मूल्यांकनको राजनीति स्थापित गर्ने दावी गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १०:४६