६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

तनहुँका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन


१२ मंसिर, तनहुँ । नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका १० मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो । दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेले बताए ।

शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेतृत्व चयन हुन नसकेको उनको भनाई छ । सहमतिबाट नेतृत्व छान्ने प्रयास भइरहेको न्यौपानेले बताए । माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भए पनि सकभर सर्वसम्मत नेतृत्वको टुंगो लगाउने रणनीति बनाएको छ । आकांक्षी धेरै हुँदा पनि मतदान प्रक्रियामा जान सकेको छैन । ‘सर्वसम्मत गर्ने प्रयास गरिरहेका छौं । सहमतिमा नेतृत्वको टुंगो नलागे अन्तिम अस्त्र प्रयोग गर्दै मतदान प्रक्रियामा जान्छौं’, न्यौपानेले भने ।

बन्दीपुर गाउँ कमिटीको नेतृत्व चयन गर्न शनिबारदेखि छलफल जारी छ । शुक्लागण्डकी नगरपालिकामा १८ मंसिरसम्म सहमति गर्ने म्याद निर्वाचन समितिले दिएको छ । यहाँ शनिबार नै ६५ सदस्यीय नगर कमिटी चयन गरिएको थियो ।

एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरेर सात जना पदाधिकारी मात्र चयन गर्न बाँकी रहेको माओवादी केन्द्र तनहुँकी सहइञ्चार्ज आशा कोइरालाले बताइन् । सातै पदमा सर्वसम्मत गराउन लामो रस्साकस्सी भए पनि उम्मेदवार ब्याक हुन नखोजेपछि १८ मंसिर सम्मलाई अधिवेशन स्थगित गरिएको छ । उम्मेदवारी आन्तरिक तयारीमा जुटेका छन् । नेता उम्मेदवारलाई ब्याक गराउन कसरत गर्दैछन् । ‘निर्वाचन समितिले दिएको समयसम्म सर्वसम्मत गराउन प्रयास गर्नेछौँ । नभए त्यही दिन मतदानमार्फत पदाधिकारीको टुंगो लाग्नेछ’, कोइरालाले सुनाइन् ।

नगर कमिटीको सात पदमा १६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) ले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङ हाल नगर कमिटीका सचिव हुन् । सापकोटा वाइसिएल तनहुँ इन्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन् ।

नगर कमिटी उपाध्यक्षमा रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एक महिला सहित तीन जना निर्वाचित हुनेछन् । सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल, मिलन महतको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पहलसिं विक, झ्यामकुमारी थापाले उम्मेदवारी दिएका छन् ।

जिल्लाको व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत भएको छ । व्यासमा रामचन्द्र सापकोटाको अध्यक्षतामा नगर ६५ सदस्यीय कमिटी गठन भएको छ । दुई दिन लामो छलफलले आइतबार साँझ व्यास नगर कमिटीको छिनोफानो गरेको हो । कमिटीको उपाध्यक्षमा देवीका बुर्जा मगर, ईश्वर बस्याल र गोपाल सुर्खाली चयन भए । सचिवमा वसन्त दरै, सहसचिवमा हर्कबहादुर थापा र कोषाध्यक्षमा केहरसिंह आले चयन भएका हुन् ।

भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल सर्वसम्मत भए । कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थापा चयन भएका छन् ।

ऋषिङ गाउँ कमिटीको अध्यक्षमा वीरबहादुर थापा चयन भएका छन् । गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाइएको छ । उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला आले, वसन्त सदाशंकर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको म्याग्दे गाउँ कमिटी अध्यक्ष दिलबहादुर नेपाली बनेका छन् । उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, दण्डमान श्रेष्ठ रहेका छन् । सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशंकर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भए ।

चुननारायण श्रेष्ठको अध्यक्षतामा घिरिङ गाउँ कमिटीले नयाँ नेतृत्व पाएको छ । उपाध्यक्षमा गोविन्दराज काफ्ले, बिनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन् ।

आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा खगराज गौली सर्वसम्मत भए । उपाध्यक्षमा बाबुराम शर्मा, गणेश थापा, दुर्गा अर्याल, सचिवमा गंगाराम कोइराला, सहसचिवमा श्रीप्रसाद गुरुङ चयन भए । कोषाध्यक्ष गाउँ कमिटीले चयन गर्ने जनाइएको छ ।

भानु नगरपालिका र देवघाट गाउँपालिकामा भने शनिबार अधिवेशन सुरु हुन सकेन । १८ मंसिरमा यी दुई स्थानीय तहमा अधिवेशन गरिने माओवादी केन्द्र तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार २०:०६