१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा


१२ मंसिर, रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए ।

बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको जनाइएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।

उनले ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिबार स्थलगत निरीक्षण गरेका थिए । यी दुई आयोजनाले भने एक वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ । ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्दे शन दिएका थिए ।

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट यी तीन जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण सुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।

सबैको मनमस्तिकमा गढेको उज्यालो नायकका रूपमा परिचित घिसिङको भ्रमणले रसुवामा सञ्चालित अन्य विद्युत् आयोजना लक्षित समयमा पूरा गराउन प्राविधिकलाई थप हौसला बढेको र आगामी दिनमा उहाँको भ्रमणले निरन्तरता पाइरहने आफूहरू आशावादी रहेको विद्युत् क्षेत्रमा कार्यरत प्राविधिक बताउँछन् ।

चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था मिलाउने कार्यमा कार्यकारी निर्देशक घिसिङले योगदान दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १४:१४