७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छःमन्त्री विश्वकर्मा


१२ साउन,पोखरा । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

खेलकूद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकूद आयोजना गर्नका लागिमात्रै नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकूद अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उहाँले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पार्नुभयो ।

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशराज श्रेष्ठले राजनीतिकरुपमा खेलकूदका विषयमा कुनै पनि दलले चासो नदिएको धारणा राख्दै खेलकूद विश्वविद्यालयको आवश्यकता औँल्याउनुभयो ।

खेलकूदमा निजी संस्थाको सहभागिता हुनुपर्ने कुरा गर्दै खेलकूद राजनीतिबाट मुक्त राख्नुपर्नेमा उहाँको जोड थियो । तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा ९४ टिममा १८६ जना खेलाडीको सहभागिता रहेको आयोजक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता खेलाडीले क्रमशः २०, १५ र १० हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार २१:०८