१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ओलीको नेतृत्वमा पदाधिकारी चयन भए महाधिवेशन सफल हुन्छः सुवास नेम्वाङ


९ मंसिर, चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली नै चयन भए महाधिवेशन सफल हुने बताएका छन् । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आएका नेम्वाङले ओलीको नेतृत्वमा पदाधिकारी सर्वसम्मत चयन भए महाधिवेशन भव्य रूपमा सफल हुने प्रतिक्रिया दिएका हुन् ।

आफू कुन पदमा आकांक्षी रहेको भनेर नखुलाएका उनले एमालेको नेतृत्व पुन ओलीले नै गर्नुपर्ने दोहोर्‍याए । ‘भोलि महाधिवेशन उद्घाटनपछि बन्द सत्रमा प्रवेश गर्छौँ । त्यसपछि सबै प्रक्रिया सुरू हुन्छ । हामी भनिरहेका छौँ, जस्तो हामी जुन ठाउँमा उभिएका छौँ । हामी चुनौतीका बीचमा छौँ ।

 

हामी महाधिवेशनलाई भव्यताका साथ सफल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छौँ’, उनले भने । अध्ययक्षमा ओली नाम विवादमा नरहेको बताएका नेम्वाङले भने, ‘अध्यक्ष ओलीमा विवाद छैन । उहाँले केही नभने पनि सिंगो देशले ओलीको अध्यक्षतामा बन्ने एमाले चाहेका छन् ।’ आफूले पनि ओलीलाई अध्यक्षमा दोहोर्‍याउनुपर्ने पक्षमा रहेको बताएका उनले ओली नेतृत्वमा सर्वसम्म नेतृत्व चयन गर्नुपर्ने बताए ।

‘म ओलीलाई अध्यक्षमा दोहोर्‍याउनुपर्छ भन्ने पक्षमा छु । उहाँको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने । त्यो भयो भने यो महाधिवेशन भव्य रूपमा सफल भएको सन्देश जान्छ । त्यसको लागि प्रयास गर्ने थलो महाधिवेशन नै हो । कथमकदाचित निर्वाचन हुने भयो भने पनि त्यो त्यहीँबाट टुंगिन्छ । सबै पदाधिकारीको टुंगो हामी महाधिवेशनबाट गर्छौ’, नेम्वाङले भने ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १४:४३