७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमाले महाधिवेशनमा बाग्मतीबाट मात्रै साढे दुई लाख कार्यकर्ता चितवन उत्रँदै


-शिव चौलागाईं

९ मंसिर, मकवानपुर । १० मंसिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेशका करिब दुई लाख ५० हजार जना सहभागी हुने भएका छन् ।

महाधिवेशनस्थलमा काठमाडौं उपत्यकाबाट ५५ हजार, काठमाडौं विशेषबाट ५० हजार, काभ्रेबाट १५ हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३५ हजार, नुवाकोटबाट आठ हजार, सिन्धुपाल्चोबाट आठ हजार, धादिङबाट १५ हजार, दोलखाबाट दुई हजार, रामेछापबाट दुई हजार, सिन्धुलीबाट १५ हजार र रसुवाबाट पाँच सय जनाको सहभागिता रहने एमाले बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट पाँच लाख उतार्ने तयारी रहेकोमा करिब आधा मानिस बागमती प्रदेशबाटै सहभागी हुने अध्यक्ष पोख्रेलले बताए । ‘बाग्मती प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यकालगायतबाट साढे दुई लाखदेखि तीन जनासम्मको महाधिवेशन उद्घाटन समारोहमा सहभागिता रहनेछ ।’ अध्यक्ष पोख्रेलले भने, ‘देशभरबाट हुने सहभागीमध्ये बाग्मती प्रदेशबाट आधा मानिस आउँनेछन् ।’

देशभरबाट दुई हजार नाै सय ९७ जना महाधिवेशन प्रतिनिधि चयन भएकोमा बाग्मती प्रदेशका तीन सय ३२ जना रहका छन् । यसमा मजदुर संगठनबाट पाँच जना, जिफन्टबाट ९६ जना, विद्यार्थीबाट पाँच जना, युवा संघबाट आठ जना, उपत्यका विशेषबाट पाँच जना, बाग्मती सम्पर्क मञ्चबाट ६ जना समेत रहनेछन् ।

महाधिवेशन कारण सार्वजनिक सवारीसाधन अभाव

चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा जानेहरूलाई ओसार्ना सार्वजनिक सवारीसाधन प्रयाेग भएपछि सर्वसाधारणले सवारीसाधनकाे अभाव महशुत गर्न थालेका छन् ।

देशभर जम्मा चार हजार बस, सुमोलगायतका सार्वजनिक सवारीसाधन रहेकाेमा ६ हजारभन्दा बढी सवारीसाधन चितवान पुग्ने अनुमान गरिएकाे छ । यसमा करिब दुई हजार वटा निजी सवारीसाधन हुने छन् । प्राय: सवारीसाधन महाधिवेशनका लागि एमालेले बुक गरेकाले अभाव भएको यातायात व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १३:२७