११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताः प्रशंसा र सुनिराकाे जाेडीलाई स्वर्ण पदक


८ मंसिर, काठमाडौँ । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट एकको पनि विजेता हुन् ।

उक्त स्पर्धाको पुरुषतर्फ नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६-२ र ६-२ को सिधा सेटमा हराए ।

सक्षमले पनि सर्किट एकको युगलमा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालकै आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए । पुरुष एकलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६-३ र ६-१ जित्दा नेपालकै दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे ।

त्यसै स्पर्धाको महिला तर्फको खेलमा नेपालकै सुनिरा थापाले आध्या पौडेललाई ६-३ र ७-५ पराजित गर्दा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-१ र ६-० को सीधा सेटमा पन्छ्याउँदै फाइनल भिडन्त पक्का गरे । एकल तर्फको फाइनल बिहीबार हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १६:४४