‘पछिपछिको देख्नसक्ने र अरुभन्दा अघिअघि हिड्न सक्ने’ खुबी भएका सूर्य थापा

प्यूठान झिमरुक गाउँपालिका–१ मा २०३१ साउन ८ गते निम्न मध्यम परिवारमा जन्मिएका सूर्य थापाको खरो स्वभाव छ । आफूलाई लागेको कुरा स्पष्ट रूपमा भन्न र राख्न सक्ने उनको स्वभाव छ । समाजशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा स्नातक र पत्रकारितासम्बन्धी डिप्लोमा तालिम लिएका थापाको पत्रकारितादेखि राजनीतितिरको लामो यात्रा रहेको हुनाले अझै पनि उनको लेखनतिर मोह उत्तिकै छ । सम्पादनमा पनि उत्तिकै सक्रिय छन् । आफूमा भएको विशेष क्षमता बेलैमा पहिचान गर्नु, सही क्षेत्रमा लाग्नु, अध्ययन तथा अनुसन्धान गर्नु र निरन्तर मेहनत गर्नु कुनै एक व्यक्तिले सफलताको शिखर चुम्ने मुख्य आधार हुन् । यिनै आधारलाई पच्छाउँदै एकपछि अर्काे खुडकिलो चढ्दै गरेका व्यक्ति हुन्, सूर्य थापा ।

प्रतिकूल अवस्थामा जोखिम मोल्दै उनले राजनीति, साहित्य र पत्रकारितामा हात हाले । अध्ययन तथा अनुसन्धानलाई निरन्तर अघि बढाए । राज्यसत्तासँग पैठेजोरी खेल्दै राजनीति र प्रेस स्वतन्त्रताका लागि संघर्ष गरे । संघर्षशील व्यक्तित्व, धैर्यता, दूरदृष्टि र सही समयमा सही कार्य गर्न सक्ने क्षमताले नै थापाले अरुलाई पनि प्रेस स्वतन्त्रता र लोकतन्त्रको मार्गमा हिडाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसकै परिणामस्वरुप उनका आधा दर्जनभन्दा बढी महत्वपूर्ण कृतिहरु जन्मिएका छन् । थापाले करिव दुई दशक पत्रकारितामार्फत राजनीतिक व्यवस्था र समाज रूपान्तरणमा योगदान पुर्याए । पछिल्लो समय राजनीतिमार्फत सिङ्गो मुलुक रूपान्तरणको यात्रामा सक्रिय छन् । उनमा मूलतः नेपाली राजनीति र समाजलाई बुझ्ने र व्याख्या गर्न सक्ने खुबी छ । जसले गर्दा समकालीनहरूलाई पछि पार्दै बेग्लै पहिचान स्थापित गर्न उनी सफल भएका छन् । यस आलेखमा थापाको व्यक्तित्व तथा उनका कृतिहरूको चर्चा गरिएको छ ।

बहुआयामिक व्यक्तित्व

थापाको व्यक्तित्व राजनीतिक, पत्रकारिता, सामाजिक, साहित्यिक आदि फाँटमा फैलिएको छ । पार्टीभित्र र बाहिर उनी कडा स्वभाव तर जिम्मेवारी पाएको काम फत्ते गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । अरुले मन पराए पनि नपराए पनि आफ्नो कुरा खरो रुपमा राख्ने र विपक्षीमाथि कडा प्रहार गर्ने स्वभाव भएका उनको लेखनशैली पनि स्पष्ट र खरो नै छ । लेखनको माध्यमबाट बौद्धिक बहस गर्न रुचाउने उनले निरंकुश राजतन्त्रकै बेला राजपरिवारका सदस्यको सम्पत्ति सार्वजनिक गरेका थिए । र, पुस्तकहरु पनि प्रकाशन गरेका थिए । लोकतन्त्र र प्रेस स्वतन्त्रताका प्रखर हिमायती थापाले दरबारलाई चुनौती दिने गरी सामग्री प्रकाशन गरेपछि त्यसबेलाको सरकारले उनलाई पटकपटक जिल्ला प्रशासन कार्यालयमा हाजिर गराई बयान लिएर दुःख दिएको थियो ।

राजनीतिक व्यक्तित्व

सूर्य थापाले तत्कालीन नेकपा(एमाले)को पार्टी जिम्मेवारीमा रही काम गरेको तीन दशक नाघिसकेको छ । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य र प्रचार विभाग उपप्रमुखका रुपमा कार्यरत छन् । थापा पार्टी–पत्रकार केन्द्रीय फ्र्याक्सन (२०५३–५४) सदस्य, सञ्चार इलाका कमिटी (२०५४–२०५५) को सदस्य, प्यूठान–काठमाडौं सम्पर्क मञ्च (२०५५–२०५६) को सचिव, प्यूठान–काठमाडौं सम्पर्क मञ्च (२०५५–५९) को अध्यक्ष, राप्ती–काठमाडौं सम्पर्क मञ्च (२०५५–५९) को अध्यक्ष, पे्रस चौतारी नेपाल (२०५७–५९) को केन्द्रीय फ्र्याक्सन सदस्य र नेपाल पत्रकार महासंघ (२०६२–२०६५) को फ्र्याक्सन सचिव थिए । यस्तै केन्द्रीय प्रचार विभाग (२०५९–२०६४) सदस्य, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव (२०६४–२०७१) थिए । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनदेखि प्रचार विभाग उपप्रमुख र सम्बद्ध संगठनका सहइन्चार्ज र पर्यटन प्रबद्र्धन विभागको प्रमुख एवं पर्यटनसम्बद्ध संगठनहरुको ईन्चार्ज रही सफलतापूर्वक कार्यसम्पादन गरे । राजनीतिबाट पत्रकारितामा प्रवेश गरेका थापा पछिल्लो समय राजनीतिमा केन्द्रीत छन् । उनको राजनीतिक यात्रा झिमरुक नदी जस्तै निरन्तर छ ।

पत्रकार

सूर्य थापाले अर्घाखाँची जिल्लाको हंसपुरस्थित सिद्धार्थ माध्यामिक विद्यालयमा पढ्दा २०४४ सालदेखि अनेरास्ववियु (एकताको पाँचौ) बाट राजनीति सुरु गरेका हुन् । काठमाडौंमा क्याम्पस जीवनसँगै उनले २०४९ सालमा अभिमान त्रैमासिकबाट पत्रकारिता थालेका थिए । यो पत्रिकाको थापा सम्पादक÷प्रकाशक थिए । त्यसपछि उनले अरु विभिन्न साप्ताहिकमा काम थाले । त्यसपछि दृष्टि साप्ताहिकमा संवाददाता हुँदै सहसम्पादक र पछि बुधबार साप्ताहिकमा सहसम्पादक, कार्यकारी सम्पादक र सम्पादक भए । यी दुई चर्चित पत्रिकाको महत्वपूर्ण जिम्मेवारी लिएपछि उनी नेकपा (एमाले) को मुखपत्र नवयुगको सम्पादक मण्डल सदस्य, कार्यकारी सम्पादक हुँदै सम्पादक भए । रेडियो नेपालको घटना र विचार कार्यक्रमको सहसञ्चालक, रेडियो नेपालको परिवेश कार्यक्रमको सहसमन्वयकर्ता भई काम गरेको अनुभव उनीसँग छ । उनका लेखहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । थापासँग राज्यसत्ताको अनुभव पनि छ । उनले उपप्रधानमन्त्री भरतमोहन अधिकारी (२०६१) को सञ्चार परामर्शदाता (सल्लाहकार) र प्रधानमन्त्री झलनाथ खनाल (२०६७–६८) को प्रेस सल्लाहकार र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार (२०७६ मंसीर १ देखि २०७८ असार २८) जिम्मेवारी निर्वाह गरिसकेका छन ।

पत्रकारितासँग सम्बन्धित विभिन्न संगठनमा रहेर पनि उनले काम गरेका छन् । थापा केन्द्रीय सचिव, प्रेस चौतारी नेपाल, (२०५७–५९) केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ, (२०६२–६५), सचिव, साप्ताहिक–पाक्षिक पत्रिका संघर्ष सञ्जाल (२०६१–६५) र प्यूठान विकास मञ्च, काठमाडौं (२०७०) को अध्यक्ष रहिसकेका छन् । पत्रकारितामा अढाई दशकभन्दा बढीको उनको समर्पण मूलतः पार्टी, देश, जनता र आमूल परिवर्तनको पक्षमा खर्चिएको छ । नेकपा (एमाले)का तत्कालिन महासचिव जननेता मदन भण्डारीका संकलित रचनाहरु भाग १ देखि ७ सहित करिब एक दर्जन पुस्तक सम्पादन गरेका छन् ।

सामाजिक व्यक्तित्व

सूर्य थापा एउटा मिलनसार एवम् सहयोगी व्यक्तित्व भएकोले समाजमा उनको आफ्नै मौलिक पहिचान रहिआएको छ । गरिब, निसहाय, अनाथ, बृद्ध, महिला, बालबालिका आदिको सम्मान र अधिकारको वारेमा निरन्तर वकालत गरिरहने सामाजिक व्यक्तित्वको रूपमा परिचित छन् । देशमा आइपर्ने आपतविपतको समयमा जीउज्यान दिएर सेवामा खटिने उनको निच्छल स्वभाव छ । सेवाकै भावनाले विभिन्न संघसंस्थाहरूमा संलग्न रही लामो समयदेखि निरन्तर ढङ्गले कामकाज गर्दैआएका छन् ।

कृति

पत्रकारितामा प्रवेश गर्नु भनेकै समाचार लेख्नु हो । उनले समाचार मात्र होइन, त्यसको माथिल्लो तहमा पुगी खोजेर समाचार लेखे, जसलाई खोजी पत्रकारिता भनिन्छ । त्यससँगसँगै थापाले तथ्यतथ्यांकसहित गहन लेखनमा हात हाले । लेखन शैली, विषयको बुझाई, भाषा, व्यवस्थापन र नेतृत्व गर्ने क्षमताका कारण पत्रिकामा उपल्लो पद सम्पादकको भूमिका सम्हाले । ज्ञान र अनुभवले खारिदै गएपछि उनले पुस्तक सम्पादनमा पनि हाल हाले । उनका सम्पादनमा २०५५ सालमा संसदमा मदन भण्डारी (विचार संग्रह) प्रकाशित भयो ।

नेकपा (एमाले) का महासचिव भइसकेका र वैचारिक हिसावले प्रखर मदन भण्डारीको सामग्रीलाई सम्पादन गर्ने आँट गर्नु भनेको चुनौती मोल्नु थियो । तर, उनले त्यसलाई सहज रूपमा पूरा गरे र आफ्नो उचाइलाई अझ बढाए । खोजी पत्रकारिताको जगमा राजतन्त्र, राजनीतिक दल र गणतन्त्रसम्बन्धी चारवटा महत्वपूर्ण कृति लेखेका छन् । यी पुस्तकले भाषा, साहित्य, राजनीति र विश्व परिवेशवारे विशेष सूचना प्रदान गरेका छन् । यहाँ ती कृतिको छुट्टा–छुट्टै समीक्षा गरिएको छ ।

विश्वमा राजतन्त्र: उत्थान, पतन र भविष्य

मूलधारका राजनीतिक दलहरुमा संवैधानिक राजतन्त्रप्रति मोह जारी रहेका बेला थापाले २०६० साल असोज ८ गते विश्वमा ‘राजतन्त्र उत्थान, पतन र भविष्य’ नामक पुस्तक प्रकाशित गरे । जसमा मुख्य सन्देश थियो– ‘जनशक्तिसँग सम्झौता गरेर जनताका प्रतिनिधिसँग सहकार्य गर्न र त्यसमा इमान्दारिताका साथ टिक्न नसक्दा नेपाली राजतन्त्रको अस्तित्व मेटिन पनि सक्छ’ (पृ.१६३) । पुस्तकको पहिलो पृष्ठमा नै उनले राजाहरू कसरी राजा भएका हुन् भन्ने स्पष्ट गरेका छन् । ‘सुरुमा जनताको सुुरक्षा, राज्यको निर्माण, संरक्षण र विस्तारमा प्रत्यक्ष नेतृत्व गर्ने क्रममा तिनै जनताको विश्वास र सहयोगमा अघि बढ्नेहरू राजा कहलिएका हुन् र उपाधि एवम् पदवीका रूपमा ‘राजा’को प्रयोग भएको हो । त्यस्ता अगुवाहरूका सन्तानले पनि आफ्ना पुर्खाहरूको अनुशरण गरेर बिंडो थाम्ने काम गरेका हुनाले राजाको उपाधि वंशानुगत हुन पुग्यो र वंशमा आधारित शासनको परम्परा अघि बढ्यो’ (पृ.१) । ‘खास सामन्ती आर्थिक अवस्थाले नै राजतन्त्रलाई जन्म दिएको हो । पूँजीवादको विकासका साथै राजतन्त्रको वस्तुगत आधार समाप्त हुँदै गयो र निरङ्कुश राजतन्त्र ढल्दै गए’ (सिंह, २०६०, पृ.१३३) ।

पुस्तकमा अस्ताइसकेका राजतन्त्र शीर्षक अन्तर्गत नेदरल्याण्ड, बेलायत, फ्रान्स, पोर्चगुल, चीन, रुस, अटोमन साम्राज्य, जर्मनी, मंगोलिया, स्पेन, भियतनाम, इटाली, बुल्गेरिया, रोमानिया, इजिप्ट, कास्मिर, भारत, इराक, यमन, लिविया, कम्बोडिया, ग्रीस, अफगानिस्तान, इथोयोपिया, सिक्किम, लाओस्, इरानमा राजतन्त्रको उत्थान र पतनबारे चर्चा गरिएको छ । बेलायतमा राजा चाल्र्सलाई फाँसी दिइएको, फ्रान्समा राजा लुई सो–हौंलाई मृत्युदण्डको सजाय दिइएको लगायतका प्रसंगहरु पुस्तकमा उल्लेख गरिएको छ । ‘जतिबेलासम्म उनीहरु (राजतन्त्र) जनपक्षीय चरित्रका रहे र जनभावना अनुरुप चले त्यतिबेलासम्म टिकिरहे तर जब उनीहरुले जनताको चाहना र भावनालाई लत्याएर स्वेच्छाचारी ढंगले चले तब पतनको बाटो समातेर आफै धरासायी हुन पुगे । जनभावनाको कदर गरेर चल्ने राजतन्त्रहरु भने पतनपश्चात् पनि पुनःस्थापित भएर टिक्न सकेका छन्’ (पृ.५१) ।

विश्व राजनीतिमा पछिल्लो समयमा निरङ्कुशतन्त्रको पतन हुँदै प्रजातन्त्र स्थापनाको लहर नै चल्यो । तर, राजतन्त्र समाप्त हुनुमा मूलतः तीन कारण भएको लेखकको ठम्याइ छ ः पहिलो आफ्नै निरङ्कुश र जनविरोधी क्रियाकलाप एवम् स्वेच्छाचारी शासन शैलीले, दोस्रो युद्धमा पराजित भएर र तेस्रो कम्युनिष्ट (क्रान्ति) हरूले शासन सत्ता हत्ताएर (पृ.५७ र ५८) । विश्व परिवेशपछि पुस्तकको दोस्रो खण्डमा नेपालमा राजतन्त्रसम्बन्धी चर्चा गरिएको छ । जहाँ गोपालवंशबाट सुरु गरेर राजा ज्ञानेन्द्रको शासनकालसम्मका मुख्यमुख्य घटना तथा प्रवृत्तिबारे जानकारी दिइएको छ । त्यसैगरी राजदरबारमा हुने षडयन्त्र र तिकडम, राजतन्त्र र धर्म, राजा भएपछि ज्ञानेन्द्रले राजपरिवारका लागि पाँच सय प्रतिशतसम्म गरेको सुविधा बृद्धि, राजपरिवारको नाममा भएको जग्गा, लगानी, राजतन्त्रलाई विदेशी आडभरोसा, प्रजातन्त्र भर्सेस राजतन्त्र र प्रजातान्त्रिकरणको आवाजमा पनि छलफल गरिएको छ ।

मुलुकमा राजतन्त्रको भावी गन्तव्य कस्तो होला र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा लेखकले सक्रिय वा निरङ्कुश राजतन्त्र, पूर्ण संवैधानिक राजतन्त्र र गणतन्त्र स्थापनाका विकल्प अघि सारेका छन् । नेपालको सन्दर्भमा पूर्ण संवैधानिक राजतन्त्र राजतन्त्रका लागि सबैभन्दा उत्तम भए पनि लेखक चाहिँ ‘नेपालको राजतन्त्रको भविष्य स्वयं यसकै भूमिकामा निर्भर रहेकोभन्दा अत्युक्ति हुँदैन’ (पृ.१५५) भन्ने पक्षमा थिए । राजाको प्रतिगमनविरुद्ध सञ्चालित आन्दोलनको पक्षमा वातवारण तयार पार्न र राजतन्त्रबारे आलोचनात्मक दृष्टिकोणका साथ बुझ्ने र बुझाउने लेखकको जुन अपेक्षा थियो, त्यो उनको पुस्तकबाट धेरै हदसम्म पूरा भएको देखिन्छ ।

नेपालमा राजतन्त्र र दलहरुबीचको संघर्ष

राजाले राजनीतिक दलहरुलाई पटक–पटक धोखा दिएका थिए । प्रलोभनमा परेर नेताहरुले बीचमा आन्दोलनसमेत तुहाएका थिए । ‘२०६१ साल जेठमा राजाले पुनः शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरे । यस सरकारको गठनलगत्तै आन्दोलनरत पाँच दलमा फुट आयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँच दलको आन्दोलन त्यागेर ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै देउवा सरकारमा सामेल भयो’ (शर्मा र पन्थी, २०६३, पृ.६७) । कतिपय बेला त सडकमा नाम मात्रका आन्दोलन थिए । थापा भने स्पष्ट थिए, राजाले पुनः दलहरुलाई धोखा दिनेछन् । त्यसैले उनी अब गणतन्त्रमा जानुको विकल्प छैन भन्नेमा पुगिसकेका थिए । त्यसैले राजतन्त्रको उत्पत्तिदेखि, विश्व परिवेश, नेपालमा राजा र दलहरुबीचको संघर्षबारे र अब दलहरु राजाको पछि किन लाग्न हुन्न भन्ने स्पष्ट हुन मात्रै होइन, लेखकले जनतालाई समेत स्पष्ट पार्न चाहे । त्यसकै अध्ययन तथा अनुसन्धानमा लाग्नुको परिणाम हो, जनआन्दोलन उत्कर्षमा नपुगेको बेला २०६२ साल मंसिरमै प्रकाशित – नेपालमा राजतन्त्र र दलहरुबीचको संघर्ष ।

जहानियाँतन्त्र विरुद्ध विश्व र नेपालमा जागृति कसरी आयो भन्ने प्रसङपछि लेखक प्रजापरिषद् र वैधानिक राजतन्त्रमा प्रवेश गरेका छन् । जहाँ उनले गद्दी त्यागेर भारत पुगेका राजालाई नेपाली काग्रेसले पुनः राजगद्दीमा आसिन गराउन सहयोग गरेकोदेखि तत्पश्चात राजाले कसरी जालमा पारे भन्ने समेत उल्लेख गरेका छन् । ‘वैधानिक राजतन्त्रको उद्देश्य किटान गरेको पार्टी र त्यसका नेताहरुलाई राजाले आफ्नो प्रत्यक्ष शासनअन्तर्गत पद, सुविधा र सत्तामोहको गुलियोमा पार्न सक्नु राजा महेन्द्रको ठूलो सफलता थियो, जसलाई ज्यूँदा सहिदहरुको महाविचलन र थकाइ भन्न सकिन्छ’ (पृ.२५) ।

नेपाली काँग्रेस र राजतन्त्रको सम्बन्धलाई पनि पुस्तकमा गज्जब तरिकाले उतारिएको छ । जहाँ २००६ सालको अधिवेशनबाट ‘महाराजधिराजको वैधानिक नायकत्वमा जुनसुकै उपायद्वारा जनताप्रति उत्तरदायी शासन स्थापना गर्ने’ (पृ.२७), उद्देश्य लिएको, काँग्रेस र कम्युनिष्टलाई एकअर्काविरुद्ध लडाएर राजा त्रिभुवनले क्रमशः २००७ सालअघिको राणा शासन र मोहन शम्शेरको सर्वेसर्वा ठाउँ लिन पुगेको (पृ.३४), २०१७ सालको ‘कू’, २०३३ सालमा मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएकोदेखि २०४७ सालको नयाँ संविधान निर्माणका लागि राजा कसरी तयार भए भन्ने उल्लेख गरिएको छ । ‘घटनाक्रमले के देखाउँछ भने चैत २६ गते राति पञ्चायती व्यवस्थाको ‘दलबिहीन’ शब्द मात्रै हटाउन राजा सहमत भएको अवस्था थियो, बहुदलीय व्यवस्थाको बहाली, अन्तरिम सरकारको गठन र नयाँ संविधान निर्माणका निम्ति राजा सहमत भइसकेका थिएनन् । आन्दोलनकारीहरुले पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई वैशाख २ गते प्रज्ञा–प्रष्ठिानमा गरेको घेराउपश्चात् मात्र उल्लिखित उपलब्धि हासिल भए’ (पृ.३५) ।

त्यसैगरी पुस्तकमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट कसरी आफ्नो हातमा सत्ता लिन सफल भए भन्ने पनि स्पष्ट पार्ने प्रयास गरिएको छ । यस सन्दर्भमा पुस्तकमा ‘नयाँ राजाको गद्दी आरोहणपछि प्रधानमन्त्रीले संविधानको प्रावधानअनुरुप गर्न खोज्दा रोल्पाको होलेरीमा सेना परिचालन हुन मानेन । त्यसमा महाराजको निर्देशनले नै काम गरेको थियो । बरु, त्यही कारणले प्रधानमन्त्रीले राजीनामा गरे, तर वास्तविक कुरा जनतालाई भनेनन् । अन्ततः दलहरुलाई नै धारा १२७ को प्रयोग गर्ने अप्रत्यक्ष सिफारिस गर्न लगाई प्रधानमन्त्रीमार्फत आफूमा जाहेर गर्न लगाएर राजा ज्ञानेन्द्र २०५९ असोज १८ को सत्तापलट गर्न सफल भए’ (पृ.३७) उल्लेख गरिएको छ । त्यसपछि दलहरुको भूमिका, उनीहरुले सञ्चालन गरेको आन्दोलन, प्रधानमन्त्री पद पाउनका लागि दलहरुले दरबारमा पेश गरेको बिन्तिपत्रको प्रसङबारे पनि चर्चा गरिएको छ ।

राजनीतिक दलहरुले संवैधानिक राजतन्त्रप्रति झुकाव राख्दाराख्दै पनि देउवा सरकारलाई विघटन गरी २०६१ माघ १९ गते शाही कदम चालिएको, त्यसपछि दलहरुको भूमिका र अन्तर्राष्ट्रिय चासोलाई पनि उल्लेख गरिएको छ । त्यसैगरी माओवादी र राजतन्त्र, एमाले र राजतन्त्र, नेपाली काँग्रेस र राजतन्त्रबारे पनि लेखकले चर्चा गरेका छन् । जसमा संवैधानिक राजतन्त्रको वकालत गर्ने काँग्रेसले विधानबाट कसरी राजतन्त्र हटायो, माओवादी र एमालेको राजतन्त्रसँग सम्बन्ध कस्तो रह्यो र उनीहरु कसरी गणतन्त्रको तहसम्म स्पष्ट भएर आइपुगे भन्ने बारे चर्चा गरिएको छ ।

नेपालमा राजनीतिक दलहरुले संवैधानिक राजतन्त्रको वकालत गरिरहेका बेला थापा गणतन्त्रको विकल्प नभएको निष्कर्षमा पुगेका थिए । २०४६ पछि ‘असोज १८’ सम्म गणतन्त्रको आवाज विरलै उठेको थियो । तर, नेपालका राजा, राजपरिवार र दरबारको जेजस्तो व्यवहार, छवि र रवैया छ, त्यसको स्केन्डेभियन देशका राजतन्त्रको जस्तै रुपान्तरण होला भन्ने भ्रम पाल्नु व्यर्थ छ । यस स्थितिमा नेपालको राजतन्त्रलाई न अमेरिकी ढाडसले बचाउन सक्छ, न त भारतसँगको सौदावाजीले नै जोगाउनेछ ।

जनताको विश्वास गुमाएर राजाले सडकबाट नै अन्तिम फैसला गर्ने विकल्प रोज्दा अब पशुपतिनाथले पनि शाहवंशीय निरङ्कुश राजतन्त्रको रक्षा गर्न नसक्ने परिस्थिति खडा भएको छ’ (पृ.२४०) । २०६२ साल मंसिर ७ गते सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । समझदारीमा गणतन्त्र उल्लेख नगरिएपनि यसले नेपालमा गणतन्त्र स्थापना हुने आधार खडा गरेको थियो । ‘पूर्ण लोकतन्त्र’ भनेको आफ्नो सारतत्वमा ‘लोकतान्त्रिक गणतन्त्र’ नै हो र ‘लोकतान्त्रिक गणतन्त्र’ सम्म पुग्न ‘पूर्ण लोकतन्त्र’ ले कुनै छेकबार लगाएको छैन भन्नेबारे कुनै भ्रम वा आशंका रहिरहनु जरुरी छैन भनी बाबुराम भट्टराईले स्पष्ट गरेका थिए ।

राजतन्त्रको अर्थराजनीति

मूलधारमा रहेका मुख्य राजनीतिक दलहरुको नेतृत्व र सशस्त्र द्वन्द्वमा रहेको माओवादीबीचको सहकार्यमा २०६२÷२०६३ को शान्तिपूर्ण जनक्रान्ति सफल भइसकेको थियो । पुनःस्थापित प्रतिनिधिसभाले राजामा भएका धेरै अधिकार कटौती गरेको थियो । गणतन्त्र स्थापनाका आधारहरु पर्याप्त भइसकेका थिए । र, राजाको सम्पत्तिको बारेमा बहस थालनी हुँदै थियो भने पूर्व राजा वीरेन्द्रको परिवारको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भन्ने मुद्दा संस्थागत हुँदै थियो । तर, यसबारे ठोस प्रमाण र जानकारी भने कमैलाई थाहा थियो । थापाले भने छ वर्षदेखि नै त्यसबारे अध्ययन गर्दै आएका थिए । २०६२ सालमै थापाले खोज पत्रकारिता केन्द्रबाट राजपरिवारका नाममा भएको जग्गा जमिनको बारेमा अध्ययन गर्न लेखनवृत्ति पाएका थिए । व्यापक जनचासो रहेको विषय राजदबारको सम्पत्तिसम्बन्धी निरन्तर खोजको परिणामस्वरुप २०६४ सालमा राजतन्त्रको अर्थराजनीति प्रकाशित गर्न संभव भएको हो, जहाँ उनले नेपालमा राजतन्त्रको राजनीति र आर्थिक चलखेल तथ्यसहित प्रस्तुत गरेका छन् ।

दस पुस्तामा खर्बपति शीर्षकमा थापाले गोरखाका राजा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रको समयसम्म आउँदाको राजतन्त्रको आर्थिक अवस्थाको विवरण प्रस्तुत गरेका छन् । आर्थिक अभावका कारण नै राज्यविस्तार गर्ने प्रारम्भिक अभियानमा अस्थायी फौजा वा झारा फौजको अत्यधिक प्रयोग गरिएको (पृ.२–३), मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गर्न जाँदा यी पहाडिया हुन्, यिनलाई जिल्याउनुपर्छ भनेर बडो ठाँटसँग विवाह गरेको र विवाहपछि दुलहीलाई घर पठाउनैपर्ने, डोलासहित चन्द्रहार र एकदन्ता हात्ती पनि दिनुपर्ने कुरा गोरखाली पक्षले राखेपछि हेमकर्ण सेनले गोरखाली राजा छोटा हुन्, दाइजो पनि यति उति देऊ भनी लाउँछन भनी निन्दा गरेको (पृ.३) देखि ज्ञानेन्द्र खर्बपति भएको समेत चर्चा गरिएको छ । ‘शाह राजाहरु १०४ बर्षसम्म राणा शासकहरुले राष्ट्रिय ढुकुटीको दोहन गरेको, विदेशमा रकम जम्मा गरेको, वनजंगल फडानी गरी व्यापक आम्दानी गरेको जस्ता लुटखसोटका रमिते साक्षीजस्तै मात्र थिए । परिणामतः राणाहरुका विरुद्ध मूलतः यही कारणले नै राजा त्रिभुवन सक्रिय हुन पुगे’ (पृ.१२) ।

पुस्तकमा राजपरिवारको स्वामित्वमा रहेको जंगल, आवादी, गुठी, विर्ता, कम्पनी लगायतको फेहरिस्त दिइएको छ । शाही परिवारको नाममा खोलिएका उद्योगले ओगटेका जग्गा, गुठी हडपेर कारखाना बनाइएको, अपाङ्ग कोषमा गरिएको आम्दानी पनि देखाइएको छ । नारायणहिटी दरबार, हनुमान ढोका दरबार, गोरखा दरबार, रत्न मन्दिर (पोखरा), दियालो बंगला (आँपटारी, चितवन), कान्तिपुर इश्वरी घर (हेटौडा) जस्ता देशका सबैजसो दरबार राजाका नाममा दर्ता छन् (पृ.४०) । पुस्तकमा राजा र राजपरिवारको स्वामित्वको जग्गा पूर्वमा झापादेखि पश्चिममा सुर्खेतको लाटीकोइलीसम्म भएको विवरण प्रस्तुत गरिएको छ ।

गगनचुम्बी महल ः आम्दानीको नयाँ क्षेत्रअन्तर्गत काठमाडौं प्लाजा, हेरिटेज प्लाजा, काठमाडौं विजनेश पार्क, स्ट्याडण्र्ड चार्टर्ड बैंक लगायतको चर्चा गरिएको छ । यस्तै शाही नेपाल वायु सेवा निगमलाई डुबाउन भएका खेलबारे पनि चर्चा गरिएको छ । थापाले पुस्तकमा राजपरिवारको सम्पत्तिबारे के गरिनुपर्छ भन्नेमा सुझाव समेत दिएका थिए । ‘निजी सम्पत्तिमा नागरिकसरह हदबन्दीको व्यवस्था लागू गर्नैपर्छ र हदबन्दीभन्दा बढी जग्गाजमिन राष्ट्रले लिनुपर्छ । गुठीमा रहेको अनाधिकृत स्वामित्व खारेज गर्नुपर्छ’ (पृ.१०३) ।

‘आठ राजनीतिक दलले पटक–पटक सहमति गरेको तथा अन्तरिम संविधानमा समेत उल्लेख भइसकेको राजा वीरेन्द्र, रानी एश्वर्य र निजका परिवारहरुको सम्पत्ति नेपाल सरकारमा ल्याई ट्रष्ट बनाएर राष्ट्रिय हितमा लगाउने र राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्थालाई कागजमा सीमित राख्न हुँदैन’ (पृ.१०६) । पुस्तकबारे प्रतिनिधिभाका सदस्य तथा राजा र राजपरिवारको जग्गा खोजविन कार्यदलका संयोजक रहेका सुभाष कर्माचार्यको टिप्पणी थियो– ‘पुस्तकले राजपरिवार र तिनका विलासी जीवनशैली तथा सामान्ती रवाफलाई उदाङ्गो मात्र पारेको छैन, नाजायज ढंगले राष्ट्रको सम्पत्तिमाथि ब्रम्हलुट नै मच्चाएको यथार्थ प्रस्तुत गरेको छ ।’

नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना

२०६५ साल जेठ १५ गतेको संविधानसभाको बैठकले राजतन्त्रलाई विविधत् रूपमा विदा ग¥यो । त्यसको दुई सातापछि ज्ञानेन्द्र नारायणहिटी दरबार छाडेर नागर्जुन सरे । सेनाले घेर्न सक्छ, रक्तपात हुनसक्छ लगायतका चर्चा चलिरहेका बेला पत्रकार सम्मेलनको आयोजना गरी सहज रुपमा राजाले गद्दीत्याग गरेको यो घटना एक दुर्लभ नमूना नै हो, भलै त्यसो गर्नु ज्ञानेन्द्रको बाध्यता थियो । करिब २४० वर्षको विरासत रहेको राजतन्त्र समाप्तिमा कसरी पुग्यो, संवैधानिक राजनीतिक दलको वकालत गर्ने राजनीतिक दलहरु कसरी गणतन्त्रसम्म आइपुगे, गणतन्त्र ल्याउन कस्ता कस्ता चुनौती थिए, त्यसका आधारहरु कसरी तयार भए, गणतन्त्र आइसकेपछि राज्यको पुनःसंरचना कसरी हुनुपर्छ लगायतका विषयलाई प्रष्ट पार्न सहयोग गर्ने पुस्तक हो, २०६५ सालमा प्रकाशित – नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना ।

थापाले नेपालमा गणतन्त्र आउनुका पछाडि मूलतः ज्ञानेन्द्रकै कारण निर्णायक हो भनेका छन् । राजगद्दीमा बस्नासाथ २०४६ सालको जनआन्दोलनका उपलब्धि, २०४७ सालको संविधान र प्रजातन्त्रलाई भताभुङ्ग पार्न लागेको, माओवादीविरुद्ध सेना परिचालन गर्न खोज्दा संकटकालको शर्त तेर्साएको, पार्टी–पार्टीबीच तीव्र विवाद र नेता–नेताबीच आरोप–प्रत्यारोप गराएको, शेरबहादुर देउवालाई प्रतिनिधिसभा विघटन गर्न लगाएको, ‘त्यसपछि स्थानीय निकायहरुको न त चुनाव, न म्याद थपको स्थिति सिर्जना गर्दै १८ असोज २०५९ मा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक ढंगले बर्खास्त गरी जनआन्दोलनका उपलब्धिलाई खोस्ने र आसेपासेको शासन प्रारम्भ’ (पृ.२०) गरेको पुस्तकमा उल्लेख छ । ‘राजा महेन्द्रको सुयोग्य छोरा !’ बन्ने प्रयत्नस्वरुप उनले नयाँ रुपको पञ्चायती कालरात्री आरम्भ गरेका थिए । तर, २०६२÷०६३ को वेगवान् जनक्रान्तिको आँधीबेहरीका सामु उनी भाग्ने वा आत्मसमर्पण गर्ने स्थितिमा पुगे र तत्कालका लागि दोस्रो बाटो रोज्न विवश भए’ (पृ.२१) । लेखकका अनुसार देशलाई संविधानसभाको विन्दुसम्म जान नदिन उनले कैयौं षडयन्त्रहरू पनि गरे । तर, सफल हुन सकेनन् ।

‘अन्ततः २०६५ जेठ १५ का दिन संविधानसभाको पहिलो बैठकले राजतन्त्रको उन्मूलन एवं संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने ऐतिहासिक प्रस्ताव पारित गर्यो । मुख्यतः आफ्नै कर्मको फल भोगेर ज्ञानेन्द्र शाह २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्तिम राजा हुँदै पूर्व राजा बन्न पुगेका छन् । उनी जेठ २९ गते राती ८ः३० बजे नारायणहिटी राजदरबार खाली गर्दै श्रीपेच र राजदण्ड नेपाल सरकारलाई बुझाई हालका निम्ति नागरिक बन्ने प्रक्रियामा नागार्जुनतर्फ प्रस्थान गरे र मुलुकमा गणतन्त्रको नयाँ युगको सुत्रपात हुनपुग्यो’। (पृ.२१)

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि प्रदेशहरु बन्न बाँकी थियो । संघीय शासनअन्तर्गत प्रदेशहरु विभाजन हुनपर्छ भन्नेमा राष्ट्रिय जनमोर्चाबाहेक अधिकांश दल सहमत थिए । तर, ती कस्ता बनाउने भन्नेमा सहमति जुटेको थिएन । संविधानअनुसार उच्चस्तरीय आयोग गठन हुने र संविधानसभाले टुंगो लगाउने भन्ने भएपनि सोहीअनुसार पनि काम अघि बढेको थिएन । माओवादीले जातीयताका आधारमा प्रदेशहरु हुनुपर्छ भन्ने प्रस्ताव अघि सारेको थियो भने तराई मधेसकेन्द्रीत राजनीतिक दलहरुले भूगोल र पहिचानलाई बढी जोड दिएका थिए ।

थापाको प्रस्ताव भने बेग्लै थियो । यसको आधार ऐतिहासिकता, भौगोलिक सुगमता, क्षेत्रीय विकासको स्थिति, सांस्कृतिक पहिचान, सभ्यताको विकास, दीर्घकालीन विकासको सम्भाव्यता र विद्यमान पूर्वाधारहरुको स्थितिलाई बनाउनुपर्छ । जातीय सघनतालाई पनि ध्यान दिनुपर्छ, तर त्यसै आधारमा मात्र प्रदेशको निर्माण र नामाकरण गर्नु उचित हुँदैन’ (पृ.१५५) । साथै थापाले कोशी प्रदेश, मिथिला प्रदेश, काठमाडौं प्रदेश, गोरखा प्रदेश, राप्ती प्रदेश, सिंजा प्रदेश र सूदुरपश्चिम गरी मूलतः उत्तर–दक्षिण अवस्थितिका सात वटा प्रदेशहरुको प्रस्ताव नै गरेका थिए ।

विविध

आफ्नो कामलाई अध्ययन, प्रकाशन र चिन्तनमननका साथ व्यवस्थित गर्नुपर्ने र व्यवस्थित रुपमा दस्तावेजीकरण गर्नुपर्ने उनको मान्यता रहेको छ । समग्र युवा आन्दोलनलाई मार्गदर्शन गर्न उनले सम्पादन गरेको युवा ः आन्दोलन र अनुभवले नेपाली युवाहरुलाइ राष्ट्रिय अन्तराष्ट्रिय सन्दर्भ–सामग्री उपलब्ध गराएको छ, जसलाई तत्कलीन प्ररायुसंघ नेपालले आफ्नो अध्ययन सामग्रीका रुपमा प्रकाशित गरेको थियो । उनले अग्रज योद्धाहरुको विशेष सम्मान गर्ने गर्दछन् ।

त्यसैको परिणामस्वरुप उनले धेरै अलिखित इतिहासहरु सुरक्षित गरेर संघर्षशील योद्धाहरु नामक पुस्तक सम्पादन गरेका छन्, जसलाई मोतीदेवी स्मृति केन्द्रले प्रकाशित गरेको छ । पार्टीको पर्यटन क्षेत्रको प्रमुख जिम्मेवार रहँदा उनले नेपालमा पर्यटनः विकास र समृद्धिको आधार (२०७५) र पर्यटन स्मारिका (२०७५)जस्ता महत्वपूर्ण पुस्तकको सम्पादन गरी सम्बन्धित क्षेत्रको लागि महत्वपूर्ण सामग्री र नासोका रुपमा सुरक्षित गरेका छन् । यस्ता काममा उनको लगाव, अभिरुचि र सक्रियता निरन्तर रहेको पाउन सकिन्छ ।

निष्कर्ष

सूर्य थापा पत्रकारिता, राजनीति र अध्ययन अनुसन्धानलाई एकसाथ अघि बढाएका व्यक्ति हुन् । मेहनत र निरन्तरता उनको मुख्य विशेषता हो । ‘पछिपछिको देख्नसक्ने र अरुभन्दा अघिअघि हिड्न सक्ने’ खुबी उनमा छ । त्यस अतिरिक्त आफ्नो मार्गमा अरुलाई डोर्याउन सक्ने क्षमता पनि उनमा छ । खोजी पत्रकारिता गर्नु आफैमा जोखिम मोल्नु हो । थापाले राजाको प्रत्यक्ष शासनकालको चुनौती र जोखिमको सामना गर्दै राजतन्त्र र नेपाली राजनीतिको गहिराइमा पुगेर गहन अध्ययन र लेखनको काम गरे ।

नेपालको राजपरिवारसम्बन्धी उनको खोज अत्यन्तै प्रशसंनीय र सार्थक छ । उचित समयमा उचित मुद्दामा यसरी खोजी गरी पाठकलाई मात्र होइन, संसद र सरकारलाई समेत महत्वपूर्ण सहयोग सीमित व्यक्तिले पुर्याउँछन, जुन कार्यमा थापा सफल भएका छन् । एकपछि अर्काे गरी गरिएका खोजसम्बन्धी थापाले चारवटा पुस्तक प्रकाशन गरेका छन् । राजतन्त्र र नेपाली राजनीति बुझ्न उनका पुस्तकहरु निकै सहयोगी छन् । पुस्तक तर्क र विचारभन्दा बढी तथ्य, तथ्यांक र विश्लेषणबाट निर्देशित छन् ।

शृंखलाबद्ध रुपमा प्रकाशित पुस्तकहरु विगतमा मात्र होइन, नेपाली राजनीतिक दल, राजतन्त्र, नेपाली राजपरिवार लगायतबारे पर्याप्त जानकारी लिन भविष्यमा पनि उत्तिकै प्रयोगमा आउने खालका छन् । यसले थापाको समेत ओज बढाएको छ । पुस्तकमा पर्याप्त मात्रामा अनुसूची राखिएको छ । यिनले तथ्यलाई बुझ्न थप सहयोग पुर्याएका छन् ।

विगत र वर्तमान हेर्दा सूर्य थापामा जति राजनीतिक आस्था जब्बर छ, त्यत्तिनै साहित्यिक प्रतिभा रहेको छ । समष्टिगत रूपमा विश्लेषण गर्दा उनी अन्तर्मुखी स्वभावका छन् । उनका कृतिहरू बिषयवस्तुका दृष्टिले अब्बल रहेका छन् । शील्प, सौन्दर्य तथा रूप पक्षमा भने अझ राम्रो बनाउन सक्ने संभावना जहिलेसुकै रहिरहन्छ नै ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार ०९:५२