१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब १६ करोड बराबरको कारोबार


७ मंसिर, काठमाडौँ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो ।

कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ । होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन् ।

एउटा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेको छ । मानुषी लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार ९९० रुपैयाँ १० पैसा पुगेको छ ।

आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १६:१२