१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

तीन महिनाको शेयर कारोबारको अवस्था यस्ताे छ


६ मंसिर, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७८/७९को पहिलो तिन महिना अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ ।

आर्थिक वर्षको सुरुवात देखि शेयर बजारमा निकै ठूलो उचार चढाव आइरहेको छ। धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो । उक्त काण्डबाट शेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले शेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुदै आएको छ ।

तर, विविध कारणले बजार प्रभावित भएता पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । पछिल्लो एक वर्ष देखि नेपाली शेयर बजारमा लगानी कर्ताक आकर्षण बढ्दै गएको छ। लगानीकर्ता बढ्दै जाँदा शेयर बजारले नयाँ रेकर्ड समेत राख्न सफल भएको छ । तर, चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ करोड देखि १२ करोड सिमा तोकेसँगै शेयर बजार ओरालो लागिरहेको छ ।

चार महिना देखि शेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पुँजीबजारको लागि राम्रो पक्ष हो। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धितोकर्जामा लगाएको सिमामा लचकता अपनाएमा पुन शेयर बजार गति लिने अपेक्षा रहेको छ ।

त्यस्तै, पछिल्लो एक साताको शेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पतीमा समेत बृद्धि भएको छ। शेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

आइतबार देखि बिहिबार (कार्तिक २८ देखि मंसीर २ सम्म)सम्म भएको शेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकामा सातको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो । सातामा ५ दिनको शेयर कारोबारमा ३ दिन नेप्से बढ्दा बिहिबार भने ३२.३९ अंकले गिरावट आएको थियो।

आइतबारको तुलनामा बिहीबारसम्म आईपुग्दा लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ । आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजारपुँजीकरण बिहीबारसम्ममा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहिबार बजार दोहोरो अंकले गिरावट हुदाँ बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजारपुँजीकरण घटेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ३ अर्ब ५६ करोड बराबरको सर्वसाधारणका लागि जारी गरीको साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचिकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर) थपिएको छ ।

उक्त प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस शेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएको छ । त्यस्तै, ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन्। जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, ४ व्यापारिक संस्था , पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन्। गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनीहरू सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ ।

त्यस्तै,जलविद्युतको ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको पुगेको छ । चालू आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ। तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो ।

गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँमात्रै रहेको थियो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रहेको थियो । चार वर्षअघि १ हजार ८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ विन्दुसम्म पुग्न सफल भएको थियो।

पछिल्लो तिन महिनामा नेप्सेमा सूचिकृत भएका नयाँ आइपीओ

१.युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड–२ करोड १५ लाख कित्ता आइपीओ ।

२.जीवन विकास लद्युवित्त वित्तीय संस्था लिमिटेड–६० लाख ६४ हजार एक सय कित्ता आइपीओ ।

३.मनकामना स्मार्ट लद्युवित्त वित्तीय संस्था लिमिटेट–१२ लाख ११ हजार ५ सय कित्ता आइपीओ ।

साउन महिनामा तीन नयाँ आइपीओ सहित २१ कम्पनीको बोनस शेयर बापत शेयर सूचिकृत गरेका छन् ।

४. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड–कम्पनीले ६० करोड रूपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर (आईपीओ) ।

५. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड–७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत ।

६.मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड– ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सूचिकृत ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १७:१०