१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमालेले दशाैँ महाधिवेशनका लागि चितवन नै रोज्नुको यस्तो छ कारण


-रामबहादुर थापा ‘बादल’

हाम्रो पार्टी नेकपा (एमाले) को दशौं महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेको छ । हामी महाधिवेशनको अन्तिम चरणमा छौं । समय थोरै छ । महाधिवेशनलाई भब्यरुपमा सफल बनाउन हामीले १२ वटा समिति गठन गरेका छौं । सबै समितिहरुले आ–आफ्नो तयारी गरिरहेका छन् । यो महाधिवेशनलाई हामीले दुई वटा सत्रमा विभाजन गरेका छौं– बन्द सत्र र उद्घाटन सत्र । बन्द सत्रले मुख्यत केन्द्रिय नेतृत्वको निर्माण गर्नेछ । १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटीको गठन यो राष्ट्रिय महाधिवेशनले गर्नेछ । उद्घाटन सत्रमा अहिले हामीले प्रतिगमनका विरुद्ध, दक्षिणपन्थी अवसरवादका विरुद्ध, संगठनात्मक अराजकताका विरुद्ध लाखौं जनतालाई परिचालन गरेर आन्दोलनको रुप दिने छौं । त्यसैले उद्घाटन सत्रमा न्युनतम पाँच लाख जनतालाई परिचालन गर्ने हाम्रो योजना छ ।

जनपरिचालनका लागि सातैवटा प्रदेशहरुवाट जनता, कार्यकर्ता केन्द्रित गराउने योजना छ । सबैभन्दा बढी वागमती प्रदेशबाट मात्रै ३ लाख जनता केन्द्रित गर्ने योजना छ । त्यस्तै लुम्बिनी र प्रदेश नं २ वाट ७५ हजार, गण्डकी प्रदेशवाट ५० हजारभन्दा बढी र अन्य भौगोलिक हिसावले टाढाका प्रदेशबाट प्रतिनिधिमूलक ढंगले सहभागिता हुनेछ । जनपरिचालनका निम्ति सातै प्रदेशमा गठन गरिएका जनपरिचालन कमिटीहरुले युद्धस्रतमा तयारी गरिरहेका छन् । अहिलेसम्मको तयारी हेर्दा हामीले अपेक्षा गरेभन्दा निकै धेरै १० गतेको जनपरिचालनमा सहभागिता हुने देखिन्छ ।

हामीले पाँच लाख जनपरिचालन गर्ने लक्ष्यसहित विभिन्न जिल्लालाई कोटा निर्धारण गरेका थियौं । तर, अहिले धेरै जिल्लाबाट छुट्याइएको कोटा थोरै भयो भन्ने गुनासो आएको छ । चितवनबाट मात्रै १ लाख भन्दा बढी जनपरिचालन हुने देखिन्छ । अहिलेको यो विशेष परिस्थितिमा जनपरिचालनलाई नै हामीले यो महाधिवेशनको मुल लक्ष्य बनाएका हौं । अहिले देशमा प्रतिगमन भएको छ । राजनीतिक अस्थीरता फेरी शुरु भएको छ । त्यसैले, हामीले यो महाधिवेशनको मुख्य केन्द्र भागका रुपमा मंसीर १० गतेको उद्घाटन सत्रलाई नै बनाएका छौं ।

अर्कोकुरा, १० गतेको परिचालनलाई मुख्य लक्ष्य बनाउनुको पछाडि चाँडै नै स्थानीय तहको निर्वाचन हुँदैछ । यो जनपरिचालनलाई हामीले स्थानीय तहको निर्वाचनको तयारीका रुपमा पनि लिएका छौं । देशभर ६७४३ वडाहरु छन् । ७५३ पालिका छन् । ती सबै वडा र पालिकाबाट जनपरिचालन गर्ने हाम्रो लक्ष्य छ ।

जनता नेकपा (एमाले)कै पक्षमा छन् भन्ने सन्देश हामी दिन चाहन्छौं । अहिले परमादेशबाट जसरी नेकपा (एमाले)को सरकारलाई विस्थापित गरियो, हामी एउटा लोकतान्त्रिक विधिद्धारा पुन सत्तामा पुनस्थापित हुनेछौं भन्ने सन्देश हामी दिन चाहन्छौं । अहिले हामी सुन्दैछौं, हाम्रो तयारीबाहेक पनि जनताले स्वतःस्फूर्तरुपमा चितवन, नारायणगढका धमाधम होटलहरु बुक गरिरहेका छन् । यसको अर्थ जनता प्रतिगमन र अराजकताकाविरुद्ध जागरुक भएका छन् ।
जनपरिचालनलाई उचित व्यवस्थापन गर्न सोही अनुसारको तयारी पनि भइरहेको छ । जनता कार्यकर्तालाई सम्बन्धित ठाऊँवाट चितवनसम्म ल्याउने सम्पूर्ण योजनाहरु बनेका छन् । यातायातलाई व्यवस्थित गर्नकै लागि हामीले सरकारका सम्वन्धित निकायसँग पनि परामर्श गरेका छौं ।

बन्दसत्रमा के–के हुन्छ ?
१० गतेको उद्घाटन सत्रपछि ११ र १२ गते बन्द सत्र शुरु हुनेछ । बन्दसत्रले मुख्यतः केन्द्रीय नेतृत्वको निर्माण गर्ने हो । बन्द सत्रको शुरुमा पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ । त्यसपछि केन्द्रीय कमिटी र पदाधिकारीहरुमा मनोनयनको प्रक्रिया शुरु हुन्छ । निर्वाचन आयोगले उम्मेदवारहरुको सूची प्रकाशन गर्छ । यसपटक हामीले विद्युतीय मतदान गर्न गइरहेका छौं । ११ गते नै मतदाताहरुलाई मतदान कसरी गर्ने भन्नेबारे प्रशिक्षण पनि दिइन्छ । उम्मेदवारहरुको प्रचारप्रसारको काम पनि ११ गते नै हुन्छ । १२ गते बिहानैदेखि मतदान प्रक्रिया शुरु हुन्छ । मतदानका लागि १०० बटा मेशिनहरुको व्यवस्था गर्ने तयारी छ ।

भावी नेतृत्व निर्माण र छलफल
प्रतिनिधिहरु चयनको काम करिव सकिएको छ । पाँच प्रतिशत मनोनित गर्ने काम अझै बाँकी छ । यसर्थ पनि हामी अहिले नेतृत्व चयनका विषयमा त्यति छलफलमा छैनौं । प्रतिनिधिहरु चयन भइसकेपछि भोली केन्द्रीय कमिटीमा पदाधिकारी र केन्द्रीय सदस्य चयनका विषयमा सबै स्वतन्त्र हुनुहुन्छ । यो सबै प्रतिनिधिको अधिकारको पनि कुरा हो । त्यसैले यी विषयहरुमा बन्द सत्रको बेलामा नै इच्छुकहरुले दावी पेश गर्नुहोला ।

कम्युनिष्ट पार्टीमा अरु बुर्जुवा पार्टीहरुमा जस्तो पदका विषयमा छलफल कम हुन्छ । हाम्रो पार्टीको सन्दर्भमा प्रतिनिधि चयनको काम पूर्ण भइसेकेको छैन । यो काम सकिएपछि केन्द्रीय कमिटीमा उम्मेदवारी दिने सन्दर्भमा छलफल शुरु होला । अहिले स्थानीय तहका कमिटीहरु निर्माण गर्दा सहमतिमा गर्ने जुन विधि हामीले अपनायौं, यही नीतिलाई केन्द्रमा पनि लागू गर्ने भन्ने पार्टीको सामान्य धारणा छ । लोकतान्त्रिक विधिमा दुईटा तरिका हुन्छन् । एउटा, सहमतिमा नेतृत्व चयन गर्ने, अर्को निर्वाचनद्धारा चयन गर्ने । अहिले हामी यो विशिष्ट स्थितिमा सकेसम्म पहिलो अर्थात सहमतिकै विधिबाट जानुपर्छ भन्नेमा छौं । तर, प्रतिस्पर्धाद्धारा नेतृत्व निर्माण गर्ने विधि हामीले अवलम्बन गर्दै आएको हुनाले प्रतिस्पर्धाको ढोका पनि बन्द गरेका छैनौं । त्यसकारण, निर्वाचनको तयारी पनि हामीले गरेका छौं ।

अहिले पार्टीभित्र नेतृत्वका बारेमा सामान्य सैद्धान्तिक छलफल मात्र भएको छ । हाम्रो पार्टीको विधान महाधिवेशनले नेकपा (एमाले) भनेको नयाँ एमाले हो, कानुनीरुपमा एमाले भएपनि राजनीतिक रुपमा नेकपाकै निरन्तरता हो भनेको छ । यो महाधिवेशनले पनि एकताकै प्रक्रियाको निरन्तरतालाई व्यक्त गर्नुपर्छ भन्ने बिधान अधिवेशनको निष्कर्ष हो । अहिले केन्द्रीय कमिटीको निर्माण गर्दा पनि त्यसमा एकताको निरन्तरता अभिव्यक्त हुनुपर्छ भन्नेमा हामी छौं । यो ढंगको सैद्धान्तिक छलफल चाँही भएको छ । तर, ठोसरुपमा प्रतिनिधिमूलक ढंगले को को नेतृत्वमा चयन हुन्छन् त भन्नेबारे प्रवेश गरेका छैनौं । प्रतिनिधि मनोनयनको काम पनि टुगिंएपछि यसबारेमा बल्ल छलफल शुरु हुन्छ ।

किन रोजियो चितवन ?
चितवन नेपालको एउटा विशिष्ट जिल्लाभित्र पर्छ । देशको एउटा मध्यभाग पनि हो । अहिले महाधिवेशन सम्पन्न गर्ने सन्दर्भमा हामीले चितवन रोज्नुको पछाडि देशभरका जनता र कार्यकर्तालाई केन्द्रित गर्न पनि सुविधाजनक हुन्छ भनेर पनि हो । लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलनको पृष्ठभूमिबाट हेर्दा पनि चितवन आन्दोलनको केन्द्र बन्दै आएको पाउँछौं । पञ्चायत विरोधी आन्दोलन भन्नुस् वा गणतान्त्रिक आन्दोलन, चितवनले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसमाथि चितवन एउटा पर्यटकीय गन्तव्य पनि हो । पार्टीका नीति, विचारहरुको प्रचारप्रसारको दृष्टिले पनि यो जिल्ला महत्वपूर्ण हुन्छ भन्ने लागेर छनौट गरिएको हो ।

हामीले शुरुमा त बुटबलमा गर्ने कि भनेका थियौं । तर पछि छलफल गर्दै जादा चितवन नै सबैभन्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्यौं । हामीले विधान महाधिवेशन काठमाडौं उपत्यकामा ग¥यौं, महाधिवेशन चितवनमा गर्दा आम नेपाली जनता र विश्वलाई नै सन्देश दिने राम्रो थलो बन्न सक्छ भनेर चितवन छनौट गरिएको हो ।

नारा र लोगो
महाधिवेशनको लागो एक सिंगे गैंडा बनाएको छौं । यो नेपालकै एउटा मौलिक राष्ट्रिय जनावर भएकाले त्यसलाई छनौट गरेका हौं । गैंडाले झण्डा उचालेको छ । त्यसको अगाडिपट्टी सूर्य चिन्ह छ । जसले १० को आकार दिन्छ । समग्रमा चितवनको एक सिंगे गैडा राष्ट्रिय जनावर, पार्टी झण्डा र १०औं महाधिवेशन यो लोगोमा प्रतिविम्वत छ ।

नारा चाहिँ बिधान महाधिवेशनमा नै तय भएको हो । यो महाधिवेशनले बिधान महाधिवेशनले निरुपण गरेका विचार, नीतिलाई अनुमोदन गर्छ । यो पार्टीका विचार, नीतिहरु यो नारामा निहीत छन् । अहिले यथास्थितिवादी दक्षिणपन्थीहरुको सरकार छ, यसको विरुद्धको नारा पनि हो । समाजवादको पक्षमा र सुशासन, स्थायित्वको, फुटवाद विरुद्धका नारा पनि हो यो ।

महाधिवेशनले दिने सन्देश
यो महाधिवेशनले नेकपा एमालेको पक्षमा जनता छन् भन्ने एउटा सन्देश दिन्छ । दोस्रो, समाजवादी आन्दोलनलाई नेतृत्व गर्ने देशलाई समृद्ध बनाउने र सुशी नेपालीको राष्ट्रिय आकांक्षालाई नेकपा एमालेको नेतृत्वले मात्र पुरा गर्न सक्छ भन्ने सन्देश पनि दिन्छ । विगतका घटनाहरुले. पनि यो कुरालाई सिद्ध गरेका छन् । अब चितवनमा हुने महाधिवेशनले पनि यही सन्देश दिने हो । यो देशको जिम्मेवारी, स्वाधिनताको रक्षा, लोकतन्त्रको रक्षा, यो देशलाई समृद्ध बनाउने काम एमालेले मात्र पुरा गर्छ भन्ने सन्देश चितवनले दिन्छ । यहि सन्देश दिएर हामी चितवनबाट फर्कन्छौं ।

अन्त्यमा,
नेकपा एमाले यो देशको सबैभन्दा शक्तिशाली पार्टी हो । नेतृत्व हो । घटनाक्रमहरुले यी कुराहरुलाई स्पष्ट पारिरहेका छन् । अहिले एमालेका विरुद्ध सबै दलहरुको महागठबन्धन बनेको छ । यो कुरा पनि त्यही पुष्टि गर्छ, एमाले नै यो देशको सबैभन्दा शक्तिशाली र स्थापित पार्टी हो, नेतृत्व हो । जनताले यहि रुपमा बुझेका छन् ।

यो देशमा समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी नेकपा एमालेले मात्र पुरा गर्न सक्छ । देशको स्वाधिनता, अस्मिताको रक्षा एमालेले मात्र गर्न सक्छ । देशमा वाह्य हस्तक्षेप बढ्दै गइरहेको छ । यसलाई एमालेको नेतृत्वले मात्र प्रतिरोध गर्नसक्छ । हामी सबै जनतालाई यहि अपिल गर्न चाहन्छौं । यो अपिललाई आम जनताले स्वागत र सहयोग गर्नुहुनेछ । (कुराकानीमा आधारित)

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २१:५४