७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दशाैँ राष्ट्रिय महाधिवेशन, नेकपा एमाले र चितवन


-पार्वती रावल

कम्युनिष्ट आन्दोलनको मूलधार एवं एक सशक्त अग्रगामी र प्रगतिशील पार्टीको रूपमा अगाडि बढिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन २०१० मा भूमिगत रूपमा पाटनमा गरियो । दोस्रो राष्ट्रिय महाधिवेशन २०१४ मा काठमाडौंमा सम्पन्न भयो । तेस्रो राष्ट्रिय महाधिवेशन २०१९ मा सम्पन्न गरियो । २०४६ मा सिरहामा भूमिगत रूपमा चौथो महाधिवेशन सम्पन्न भयो ।

चौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा २०४९ मा खुला र अभूतपूर्व रूपमा सम्पन्न भयो । यसले नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद पारित ग¥यो । जसको प्रतिपादन जननेता मदन भण्डारीले गर्नुभएको थियो । यही सिद्धान्तको जगमा नेकपा एमाले अहिले देशकै सर्वाधिक शक्तिशाली पार्टीको रूपमा स्थापित हुन पुगेको छ ।

छैठौं महाधिबेशन २०५४ मा नेपालगञ्जमा, सातौं २०५९ मा जनकपुरमा, आठौं २०६५ मा बुटवलमा र नवौ २०७१ मा काठमाडौँमा सम्पन्न भए । अहिले हामी दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छौं । नेपालको मध्यभागमा रहेको चितवनले यो ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको छ ।

ऐतिहासिक चितवन
चितवन जिल्ला देशको मध्य भागमा पर्दछ । देशका अधिकांश जिल्लाबाट बसाइँ सरेर आएका नागरिकहरूको उल्लेख्य उपस्थिति रहेकाले कतिपयले यसलाई देशको ७८औं जिल्ला पनि भन्ने गर्दछन् । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, एकसिंगै गैँडा, दुर्लभ वन्यजन्तु र घडियाल गोही आदिको बासस्थान जस्ता कारणले चितवन पर्यटकीय गन्तब्यका रुपमा पनि चर्चित छ ।

चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका चितवन जिल्लामा पर्ने स्थानीय तह हुन् ।

समुद्री सतहबाट १४१ मिटरदेखि १९४५ मिटरको उचाइसम्म फैलिएको यो जिल्ला हालको संघीय संरचनामा बाग्मती प्रदेश अन्तर्गत पर्छ । चितवनको क्षेत्रफल २,२०५.९० वर्गकिलोमिटर छ । २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या ५,७९,९८४ छ । यस जिल्लाको पूर्वतर्फ मकवानपुर र पर्सा, पश्चिमतर्फ नवलपुर र तनहुँ, उत्तरतर्फ गोरखा र धादिङ जिल्लाहरू पर्दछन् । दक्षिणतर्फ भारतको बिहार राज्य पर्दछ ।

चितवनलाई विभिन्न जनजाति, भाषाभाषी र संस्कृतिको विविधतामा एकता भएको जिल्लाका रूपमा चिनिन्छ । अधिकांश भाग जंगलले ढाकिएको छ । जहाँ विभिन्न जंगली जीवजन्तुहरू पाईन्छन् । मनोरम भूमि, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशेष जीवजन्तु र आदिम मानवको उत्पति थलो तथा आधुनिक विकासका सञ्जालहरू जस्ता कारणले चितवन अनुपम रहेको मान्न सकिन्छ ।

यहाँका मैदानी भागमा वर्षाैँदेखि बसोवास गर्दै आएका आदिवासी थारू जाति छन् भने अर्कातर्फ पहाडी क्षेत्रमा अर्को आदिवासी समुदाय चेपाङ जाति रहेका छन् । ऐतिहासिक र सांस्कृतिक महत्वका ‘महाभारत’ र ‘रामायण’ कालको झल्को दिने पुरातात्विक स्थलहरू र वस्तुका अवशेषहरू वाल्मीकि आश्रम, गोद्धक, परशुरामकुण्ड, देवघाटको रामअश्वमेघ यज्ञकुण्ड, बागेश्वरीको सरस्वती मन्दिर आदिले पनि ऐतिहासिक सभ्यतालाई जनाउँछ ।

नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा उहाँकै पहलमा माडीको अध्योध्यापुरीमा ‘अयोध्याधाम’को पहिचान र निर्माण भएको छ । रामको वास्तविक जन्मभूमि अयोध्यापुरी हो भन्न सकिने विभिन्न आधारहरू फेला परेका छन् । यसमा अझै धेरै अध्ययन हुनु आवश्यक छ ।

श्रद्धेय अध्यक्ष ओलीले केही दिनअघि पनि अयोध्याधामको अवलोकन तथा स्थानीयवासीहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो । भौतिक प्रगतिको हिसाबले चितवन देशभरिमै तीव्र विकास भइरहेका जिल्ला अन्तर्गत पर्दछ । देशका छ वटा महानगरपालिकामध्ये भरतपुर एक हो ।ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले भरतपुर निकै सम्भावना बोकेको शहर हो । शिक्षा, स्वास्थ्य, कृृृृृृृषि, पर्यटन, गरीबी न्यूनीकरण लगायतका सूचकहरूमा भरतपुर र यहाँका अन्य नगरपालिकाहरू अग्रणी छन् ।

चितवनमा कम्युनिष्ट आन्दोलन

चितवनमा कम्युनिष्ट आन्दोलनको शुरूआति क्षण केलाउँदै जाँदा २००८ मा पुगिन्छ । एक अध्ययन अनुसार गौरीभक्त प्रधानलाई चितवनको पहिलो कम्युनिष्ट संगठनकर्ता मानिएको छ । प्रधान काठ्माडौंबाट बसाइँ सरेर चितवन आएपछि विस्तारै कम्युनिष्ट गतिविधि शुरू भएको थियो ।

यद्यपि उहाँको चितवन बसाई राजनीतिक भन्दा व्यापारिक प्रयोजनका लागि बढी रहेको इतिहासका जानकारहरू बताउँछन् । तैपनि हालसम्म पहिचान भएकामध्ये प्रधान चितवनको पहिलो कम्युनिष्ट अगुवा भएको मान्न सकिन्छ । नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि प्रधान गुरिल्ला तालिमका लागि चीन जानुभएको थियो ।

उहाँ झण्डै तीन वर्ष चीन बसेर नेपाल फर्किनुभयो । त्यसपछि उहाँको बसाइँ कहिले चितवन त कहिले काठमाडौं हुन थाल्यो । वि.सं. २०६२ माघमा दिएको एक अन्तर्वार्तामा प्रधान स्वयंले यी कुरा उल्लेख गर्नुभएको छ । प्रधानका अलावा किशोरचन्द्र ढुंगाना पनि चितवनका पुराना कम्युनिष्ट अगुवा मानिनुहुन्छ ।

२०२२ सालतिर वीरेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख भएर आउनुभएका आनन्ददेव भट्टलाई पनि चितवनको कम्युनिष्ट आन्दोलनको ईतिहासमा निकै स्मरण गर्ने गरिन्छ । उहाँका अलावा नरबहादुर खाँण,जेपी भेटवाल लगायतको देन चितवनको आन्दोलनमा स्मरणीय छ ।

चितवन जिल्लामा हाल नेकपा (एमाले)का २५ हजार संगठित सदस्य छन् । जिल्ला अधिवेशन गर्नका लागि पार्टीको दशौं जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको छ । उक्त कमिटी ७ सय ९९ सदस्यीय छ ।
एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटै स्थानीय तहमा पालिका कमिटी क्रियाशील छन् । जिल्लाका ९८ वटै वडामा वडा कमिटी र रामपुर कृषि विश्वविद्यालय तथा क्यान्सर अस्पतालमा गरी दुई दुई वटा शाखा कमिटी गठन भएर क्रियाशील रहेको छ ।

्सबै जनवर्गीय संगठन र पेशागत संगठनका कमिटीहरूले पनि निकै सशक्त ढंगले आफ्ना गतिविधि गर्दै आएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौतर्फी घेराबन्दी र विपक्षीको मोर्चाबन्दीका बावजुद पनि पार्टीले उत्साहजन नतिजा हात पारेको थियो । जिल्लाका सात स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा प्रमुख र पाँच वटामा उपप्रमुख नेकपा एमाले एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

भरतपुर महानगरपालिकामा भने मतपत्र च्यात्ने जस्तो घृणित गतिविधिका कारण हाम्रो पार्टीका महानगर प्रमुखका उम्मेदवारले पराजित हुने अवस्था आयो । जुन घटना देशव्यापी रुपमा चर्चामा पनि आएको थियो । स्थानीय पालिकाका वडातर्फ एमालेले ५५ वडाअध्यक्ष र २५५ वडा सदस्य जितेको थियो । स्थानीय तहमा पार्टीका कुल ३ सय १९ उम्मेदवारले जीत हात गरेका थिए ।

जिल्ला समन्वय समिति पनि पार्टीको एकल शक्तिका आधारमा गठन भएको छ । प्रमुख, उपप्रमुख सहित नौ जना नै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू छन् । प्रतिनिधि सभाका तीन मध्ये दुई र प्रदेश सभाका छ मध्ये चार निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएकोमा सबैले जीत हात पार्न सफल हुनुभयो ।

चितवनमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन हुनु चितवन र चितवनवासीका लागि गौरवको विषय बनेको छ । मुलुकभरका प्रतिनिधिबाट चितवनको आर्थिक, सामाजिक, पर्यटकीय अवस्था आदिको अध्ययन र अवलोकन हुनुले देश बिदेशमा चितवनको पहिचान फैलिन मद्दत पुग्ने छ । परिणमस्वरूप भविष्यमा उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका विषय र क्षेत्रमा चितवन थप आकर्षणको केन्द्र बनेको छ ।

कम्युनिष्ट आन्दोलन र मुलुकका सबै राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्दै आएको चितवनमा गैरवशाली पार्टीको दशौं महाधिवेशन आयोजना हुनुले पार्टीका नेता कार्यकर्तालाई थप उत्साही बनाएको छ । चितवनका राजनीतिक चेतना भएका सबै मानिसलाई यसले प्रत्यक्ष वा परोक्ष रूपले राजनीतिक प्रशिक्षण प्रदान गर्ने छ । साथै आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन थप मद्दत पुग्ने गरी जागरण ल्याउने छ ।

चितवनलाई महाधिवेशन स्थल तोक्ने निर्णय गरेर ऐतिहासिक अवसर प्रदान गरेकोमा पार्टीको केन्द्रीय नेतृत्वलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । देश विदेशबाट आउनु हुने नेता कार्यकर्ताहरू फर्किएर आफ्नो कार्यक्षेत्रमा पुग्दा पार्टीको विचार, संगठन, संघर्ष र उत्पादनको क्षेत्रमा थप सक्रियता देखाउने अपेक्षा गर्न सकिन्छ ।

यो महाधिबेशनले श्रद्धेय अध्यक्ष ओलीले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र पार्टीलाई थप शक्तिशाली बनाउन अतुलनीय योगदान पुर्याउने छ । महाधिवेशनका क्रममा चितवन पाल्नु हुने सबै नेतागण, प्रतिनिधिहरू, स्वयंसेवक, पत्रकार र आम जनसमुदायमा हार्दिक स्वागत एवं अभिवादन ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:१५