६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको मूल नाराः सार र सन्देश


-प्रदीप ज्ञवाली

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन यही २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यताका साथ सम्पन्न भयो । नीति र विधि निर्माणमा मात्रै केन्द्रित हुने गरी नेपाली कम्युनिष्ट आन्दोलनको ७३ वर्षे इतिहासमै पहिलो पटक आयोजना गरिएको महाधिवेशन हुनाले यसको महत्व विशिष्ट हुने नै भयो । झण्डै ६ हजार प्रतिनिधिहरूको विशाल सहभागिता, जीवन्त छलफल एवं तोकिएकै समयमा सुरु भएर निर्धारित समयमै सम्पन्न भएको यस महाधिवेशनले हाम्रो पार्टीको व्यवस्थापकीय क्षमतालाई पनि राम्रोसँग पुष्टि गरेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त, त्यति ठूलो सहभागिताका बीचमा जसरी राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन सम्बन्धी दस्ताबेज सर्वसम्मत रुपले पारित भयो, यसको विशेष अर्थ छ । पार्टीमाथि चौतर्फी हमला र व्यापक घेराबन्दी भइरहेको, पार्टीलाई सत्ताबाट विस्थापन गरिएको र संविधानको अपव्याख्या, अध्यादेशको दूषित प्रयोग तथा निर्वाचन आयोग एवं सभामुख जस्ता संस्थाहरूको समेत सङ्लग्नतामा पार्टीलाई विभाजित गर्ने धृष्टता गरिएको प्रतिकूल परिस्थितिमा यस खालको व्यापक सहभागिता, छलफलमा यस्तो जीवन्तता, निष्कर्षमा यस खालको सर्वसम्मतिको दूरगामी महत्व छ । असोज १७ गते अपराह्न ५ बजे ‘गोदावरी सनराइज’ सम्मेलन केन्द्रबाट बाहिर निस्कँदा सहभागीहरूको मुहारमा देखिएको आत्मविश्वास, उर्जा र उत्साहले नेकपा (एमाले) को विशाल पार्टी संरचना अभेद्य र यसको अभियान अप्रतिरोध्य छ भन्ने स्पष्ट सङ्केत गरिरहेको थियो ।

विधान महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारा (थिम) पारित गरेका छौं । आगामी पाँच वर्षसम्म पार्टीलाई मार्गदर्शन गर्ने यो मूल नारा अर्थपूर्ण र विशेष महत्वको छ । यसको पहिलो आयाम पार्टी निर्माणसँग सम्बन्धित छ । दोस्रो आयाम भने राष्ट्र निर्माणसँग सम्बन्धित छ, राष्ट्र निर्माणका लागि पार्टीले खेल्नुपर्ने दायित्व, भूमिका र कार्यदिशासँग सम्बन्धित छ ।

दक्षिणपन्थी अवसरवाद सधैभरि एउटै स्वरुप र एउटै सारमा देखा पर्दैन । आन्दोलन या क्रान्तिका बेला, आम रुपमा यो प्रतिक्रियावादी शक्तिसामु आत्मसमर्पणमा, अपवित्र साँठगाँठमा, व्यवहारिकताका नाममा आन्दोलनलाई मलुवा र भुत्ते बनाउने तर्कमा, दीर्घकालीन रणनीतिक लक्ष्यलाई पञ्छाएर क्षणिक सुधार र लाभमा आन्दोलनको विसर्जन गर्ने क्रियाकलापमा प्रकट हुन्छ । क्रान्ति–उत्तर कालमा क्रान्ति र आन्दोलनका उपलव्धि समाप्त पार्न प्रतिक्रियावादीहरूसँग मिलिभगतका रुपमा यो अभिव्यक्त हुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादले ठूलो क्षति पु¥याउँदै आएको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई एउटा महाधिवेशनसमेत हुन नपाउँदै विस्थापित गरिएपछि र पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी अस्वस्थ हुँदा केशरजङ्ग रायमाझीले नेतृत्व हत्याउन सफल भएपछि दक्षिणपन्थी अवसरवादले सङ्गठित स्वरुप ग्रहण ग¥यो । उनको नेतृत्वमा कम्युनिष्ट पार्टी क्रमशः जनताबाट अलग–थलग तथा आन्दोलनबाट विमुख हुँदै गयो र यसको प्रतिरोधी क्षमतामा ह«ास आउँदै गयो । फलतः राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गर्दा पार्टी प्रतिरोध नै गर्न नसक्ने गरी कमजोर बन्न पुग्यो । पछि त रायमाझी स्वयं राजासामु आत्मसमर्पण गर्न पुगे ।

दक्षिणपन्थी प्रवृत्ति हावी हुँदै गयो भने पार्टी कसरी क्षयीकरण हुन पुग्छ भन्ने दृष्टान्त पचासको दशकमा नेकपा (एमाले) का सन्दर्भमा देख्न सकिन्छ । जननेता मदन भण्डारीको निधन र २०५२ सालमा सरकारबाट बहिर्गमनसँगै पार्टीभित्र जसरी पनि सत्तामा पुग्ने कुरा नै जबज हो भन्ने भ्रान्त मान्यता विकसित हुन थाले । राजनीतिमा स्थायी शत्रु या मित्र हुँदैनन् भन्ने भनाइको मनोगत व्याख्या गर्दै जस्तासुकै शक्तिसँग पनि हात मिलाउने, जनसरोकारका मुद्दाबाट क्रमशः टाढिने र अन्त्यमा ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्षका साथ ज्ञानेन्द्र मातहतको सरकारमा जाने जस्ता प्रवृत्ति देखा परे । जसले एमालेलाई माओवादी सशस्त्र द्वन्द्व र राजाको तानाशाहीका सामु निष्प्रभावी बनाउँदै लगे । पहिलो संविधानसभा निर्वाचनमा पार्टीको निकै कमजोर प्रदर्शनका पछाडि यो पनि एउटा महत्वपूर्ण कारण थियो ।

अनेकौं घुम्ती र मोड पार गरेपछि र लामो प्रयास पश्चात हामीले कम्युनिष्ट आन्दोलनमा विभाजनको शृङ्खलालाई अन्त्य गरेका थियौं । आन्दोलनको टुटेको कडीलाई झण्डै ५० वर्षपछि जोड्दै २०७५ जेठमा दुई पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टीले जनताबाट प्राप्त विश्वासको जगमा लोकप्रिय सरकार सञ्चालन गरेका थियो र जनताको समृद्धिका सपना पूरा गर्ने कामलाई तीव्रता दिँदै थियो । राष्ट्र बलियो बन्दै थियो, राष्ट्रिय स्वाभिमान उचो हुँदै थियो । राजनीतिक स्थायित्वको जगमा लोकतन्त्र परिणाममुखी र जनताको जीवनसँग जोडिँदै थियो ।

वामपन्थी शक्तिहरू सुदृढ भएको, उनीहरूले राज्यको नेतृत्व गरिरहेको र उनीहरूको अगुवाइमा मुलुकमा सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको अभियानले नयाँ गति लिएको कुरा प्रतिक्रियावादी शक्तिलाई पाच्य भइरहेको थिएन । तर जनताको अभिमतबाट सरकारमा आएको र लोकतान्त्रिक मूल्य अनुसार सञ्चालन भइरहेको पार्टी र सरकारमाथि प्रत्यक्ष हमला गर्न उनीहरूलाई संभव थिएन । त्यसैले उनीहरूले आन्दोलनलाई कमजोर गर्न आन्दोलनभित्रैका पात्रहरूको खोजी गरे । यस क्रममा, पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई कमजोर पार्ने प्रतिक्रियावादीहरूको योजनालाई टेवा पु¥यायो ।

दक्षिणपन्थी अवसरवाद आज निकै भद्दा र नग्न रुपमा प्रकट भएको छ । यसले राजनीतिक स्थिरता चाहन्न, अस्थिरताबाट निजी स्वार्थको दोहन गर्न चाहन्छ । यसले मुलुकको समृद्धि चाहन्न, यो यात्रामा अवरोध सिर्जना गर्न चाहन्छ । राष्ट्रले आफ्ना मामलाहरू आफै सल्ट्याएको, सार्वभौमसत्ताको साँचो प्रयोग गरेको मन पराउँदैन । क्षणिक सत्ता स्वार्थका लागि वाह्य शक्तिका लागि ‘कम्फर्टेबल’ हुन चाहन्छ । कम्युनिष्ट पार्टीलाई एकताबद्ध, सुदृढ र राज्य सञ्चालनमा अब्बल साबित गर्दै समाजवादका आधार निर्माणमा अगुवाइ गर्ने वृहत्तर लक्ष्यलाई लत्याएर विभाजित आन्दोलनमा एउटा सानो समूहको नेता बनेर भागबण्डाको फाइदा उठाउन चाहन्छ ।

नेकपाको एकीकरण प्रक्रिया निष्कर्षमा पुगोस्् भन्ने चाहना सिङ्गो पार्टी पङ्क्तिको थियो । तर त्यसो हुन दिइएन । निश्चित व्यक्तिका निहित स्वार्थका लागि पार्टीलाई विभाजित गरियो । केही व्यक्तिको महत्वाकाङ्क्षाका पूर्ति गर्न आफ्नै पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरियो । केही थान मन्त्री÷मुख्यमन्त्रीका लागि एकीकृत पार्टीलाई नै विभाजन गरियो । जुन पार्टी (नेपाली काङ्ग्रेस) पुँजीपति वर्गको मुख्य प्रतिनिधि र हाम्रो मुख्य प्रतिष्पर्धी शक्ति हो, त्यसैको नेतृत्वमा सरकार बनाउनका आफ्नो सरकार ढाल्ने जस्तो अन्तरघाती प्रवृत्तिका रुपमा आज दक्षिणपन्थी अवसरवाद प्रकट भएको छ । आफू जुन चुनाव चिह्न र जुन घोषणापत्रका आधारमा निर्वाचन लडियो, ती सबैलाई लत्याएर दक्षिणपन्थीहरूको पछि लागी सरकारमा पुग्नु चाहिँ ‘अग्रगमन’, अनि ताजा जनादेशका लागि जनतामा जाने कुरालाई ‘प्रतिगमन’ ठान्ने– दक्षिणपन्थी अवसरवाद यस्तो गलत भाष्य निर्माण गर्न चाहन्छ । यो नेपालको राष्ट्रिय हित र स्वाभिमानका विरुद्ध वाह्य तत्वहरूसँग प्रत्यक्ष÷परोक्ष साँठगाँठ गर्छ । र, कम्युनिष्ट पार्टीलाई मुलुकको पहिलो, बहुमतप्राप्त र नेतृत्वदायी शक्ति बनाउने होइन, नेपाली काङ्ग्रेस जस्तो दक्षिणपन्थी शक्ति नेतृत्वको गठबन्धनको एउटा अङ्ग अर्थात् दक्षिणपन्थी शक्तिहरूको पिछलग्गू बनाउन चाहन्छ ।

दक्षिणपन्थी अवसरवादको वैचारिक राजनीतिक पतन आज यस रुपमा भएको छ । इतिहासमा केशरजङ्ग रायमाझी कम्युनिष्ट आन्दोलनमा गरेको गद्दारीका कारण कुख्यात छन् । रायमाझीले २०१७ सालको कदमलाई स्वागत गरे र राजावादी क्याम्पमा छिरे । तर २०१७ साल ल्याउन उनको निर्णायक भूमिका थिएन । राजा महेन्द्रले सेनाको बल, नेपाली समाजको पछ्यौटे तप्काको समर्थन र भूराजनीतिक द्वन्द्वको लाभ उठाउँदै तानाशाही कदम लादेपछि रायमाझी उनका अगाडि आत्मसमर्पण गर्न पुगेका थिए । तर नेकपा (एमाले) नेतृत्वको सरकार ढालेर काङ्ग्रेस नेतृत्वको सरकार बनाउने घटनामा भने माधवकुमार नेपालको भूमिका निर्णायक थियो । यस अर्थमा, २०१७ सालको प्रतिगमनमा रायमाझीको भूमिका सहयोगी थियो भने छ दशकपछि २०७४ सालको जनादेश विरुद्धको प्रतिगमनमा माधव नेपालको भूमिका निर्णायक थियो।

माथि उल्लेख गरिएको प्रवृत्ति दक्षिणपन्थी अवसरवादका प्रतिनिधि उदाहरण भए पनि यो यत्तिमा सीमित भने छैन । आज विश्वमा कम्युनिष्ट आन्दोलन समग्रमा जसरी रक्षात्मक अवस्थामा छ; विश्व वित्तीय पुँजीवादले व्यक्तिवाद, उपभोक्तावाद र विचारशून्यता जस्ता कुरालाई प्रवद्र्धन गर्दै जसरी चर्को सांस्कृतिक आक्रमण गरिरहेको छ र पुँजीवादी शक्तिहरू जसरी कम्युनिष्ट आन्दोलनलाई कमजोर गर्न आन्दोलनभित्र आस, त्रास र अन्तरध्वंशको अभियान सञ्चालन गरिरहेका छन्, यस पृष्ठभूमिमा दक्षिणपन्थी अवसरवाद नयाँ–नयाँ कलेवरमा प्रकट हुन सक्ने जोखिम एकदमै बढेको छ ।

कम्युनिष्ट आन्दोलनको अग्रगति र सफलताका लागि दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नै पर्छ । अन्यथा जनताको अभिमत, कार्यकर्ताहरूको रगत–पसिना र सिङ्गो राष्ट्रको चाहनामाथि बारम्बार घात भइरहने छ । विचार र राजनीतिमा देखा परेको दक्षिणपन्थी अवसरवाद सङ्गठनात्मक क्षेत्रमा अराजकताका रुपमा प्रकट भएको छ । एउटा जीवन्त र लोकतान्त्रिक पार्टीभित्र बहस, मतभिन्नता र अन्तरविरोधहरू स्वाभाविक विषय हुन् । पार्टीभित्रका अन्तरविरोध मैत्रीपूर्ण हुन्, तिनीहरू ‘वाद–प्रतिवाद र संवाद’ को, ‘एकता– अन्तरसङ्घर्ष र अझ उच्चस्तरको एकता’ को माध्यमबाट रुपान्तरित हुन्छन् । तर सङ्गठनात्मक अराजकताले ‘वाद–प्रतिवाद–विग्रह’ को बाटो अवलम्बन गर्छ, ‘एकता–अन्तरसङ्घर्ष र विभाजन‘ को दिशामा लैजान्छ । त्यसले पार्टीमा स्थापित विधि, पद्धति र प्रचलित असल परम्परालाई लत्याउँछ । पार्टीभित्र हुने बहसहरूलाई अस्वस्थ, कटुतापूर्ण र गुटगत स्वरुप दिन्छ । संस्थाको मानमर्दन गरेर, त्यसको प्रतिष्ठामाथि आँच पु¥याएर आफू ‘हिरो ’बन्न चाहन्छ । सङ्गठनात्मक अराजकताले महाधिवेशन र बैठकहरूलाई बहसका नाममा निर्णयविहीनतामा पु¥याउँछ ।

विधान महाधिवेशनले पार्टी निर्माणका क्षेत्रमा देखा परेका वैचारिक र सङ्गठनात्मक चुनौतीहरूको सही पहिचान गरेर त्यसको समाधानमा केन्द्रित हुन दिशानिर्देश गरेको छ । विधान महाधिवेशनबाट पारित मूल नाराको दोस्रो आयाम ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ राष्ट्र निर्माणसँग जोडिएको छ । नवौं महाधिवेशनमै हामीले निष्कर्ष निकालेका थियौं– नेपालमा सम्पन्न पुँजीवादी–जनवादी क्रान्ति मौलिक ढङ्गको छ । यो क्रान्ति श्रमजीवी वर्गका प्रतिनिधि र वुर्जुवा वर्गका प्रतिनिधिहरूको संयुक्त नेतृत्वमा सम्पन्न भयो । वैचारिक नेतृत्व, राजनीतिक पहलकदमी र आन्दोलनमा मुख्य शक्ति वामपन्थीको रहे पनि अग्रभागमा वुर्जुवाहरू समेतको उपस्थिति थियो । यसले राजनीतिक प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । राजतन्त्रको अन्त्य भएको छ, गणतन्त्रको स्थापना भएको छ । सङ्घीयता र समावेशिता, सामाजिक न्याय र उन्नत स्तरमा मौलिक अधिकारहरूको प्रत्याभूति सहित नयाँ संविधान जारी भएको छ । धर्मनिरपेक्षता र समाजवाद–उन्मुख राज्यको रुपरेखा जस्ता उपलव्धि अत्यन्त महत्वपूर्ण छन् ।

तर मुलुकको सामाजिक–आर्थिक रुपान्तरणको कार्यसूची भने अधुरै छ । शासन प्रणालीमा परिवर्तनका बाबजुद सामाजिक–आर्थिक संरचना त्यस रुपमा बदलिन सकेका छैनन् । पार्टीले वर्तमान अवस्थालाई पुँजीवादी–जनवादी क्रान्तिका राजनीतिक अभिभारा पूरा भएको तर सामाजिक–आर्थिक रुपान्तरणको कार्यभार भने बाँकी रहेको अर्थमा विश्लेषण गरेको छ ।

आजको कार्यभारलाई हामीले समाजवादका आधार तयार गर्ने कार्यभारका रुपमा परिभाषित गरेका छौं । राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादक शक्तिको उन्नयन गर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने, असमान सन्धीहरू खारेज गर्ने, राष्ट्रियतालाई थप सुदृढ गर्ने र सामाजिक–सांस्कृतिक क्षेत्रमा रहेका सामन्तवादका अवशेष अन्त्य गर्ने जस्ता उक्त कार्यक्रममा उल्लेखित कतिपय विषय पूरा भएका छैनन् । तसर्थ आज पनि हामी जबजको कार्यक्रम कार्यान्वयनकै चरणमा छौं । जनताको बहुदलीय जनवादका कार्यक्रमिक अभिभारा पूरा गर्ने, समाजवादका आधार तयार गर्ने र समाजवाद निर्माण गर्ने समग्र प्रक्रियामा हामीलाई जबजले मार्गदर्शन गरिरहने छ ।

सामाजिक–आर्थिक रुपान्तरण, समाजवादका आधार निर्माण र समाजवादी लक्ष्य प्राप्तिको सुनिश्चितताका लागि श्रमजीवी वर्गले प्रतिष्पर्धामा निरन्तर श्रेष्ठता हासिल गर्नु अनिवार्य पूर्वशर्त हो । प्रतिष्पर्धामा वुर्जुवा वर्गले निरन्तर अग्रता हासिल ग¥यो भने हाम्रो क्रान्ति दिशाहीन हुने, यो यथास्थितिवादमा सीमित हुने या एकाधिकार पुँजीवादतिर अग्रसर हुने जोखिम रहन्छ । त्यसैले महाधिवेशनले श्रमिक वर्गको पार्टी कम्युनिष्ट पार्टीको नेतृत्व स्थापित गर्दै जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने विषयलाई आगामी कार्यदिशाका रुपमा निक्र्यौल गरेको छ । महाधिवेशनबाट पारित मूल नाराले हाम्रो यही कार्यदिशालाई सूत्रबद्ध रुपमा अभिव्यक्ति दिएको छ ।

(एमालेका प्रवक्ता समेत सचिव ज्ञवालीको यस लेख इनवयुगबाट साभार गरिएको हो ।-सम्पादक)

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:०१