दैनिकी

  • २१ कार्तिक २०७८, आईतवार १९:००

महिला कृषि सहकारीको भवन निर्माणका लागि देउसी

२१ कात्तिक, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको छ । स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि देउसी खेल्न सुरु गरिएको हो ।

नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि देउसी खेल्न सुरु गरिएको च्यास्मीटार महिला कृषि सहकारी संस्थाकी अध्यक्ष अमृता राईले बताइन् ।

आइतबार दाल्फुबाट सुरु भएको देउसी अभियान बाङमा, हुन्डाखा, सार्पा, पिपलटार, पिपचाही, साबिकको च्यास्मीटार–९, ८ र ५ मा पुगेर २३ कात्तिकमा समापन गर्ने समूहले जनाएको छ । वडा कार्यालयमार्फत प्राप्त भएको तीन लाखबाट महिला कृषि सहकारी संस्थाको तीन कोठा भएको एक तले भवन निर्माणको काम सुरु गरिएको थियो ।

भवन निर्माणका लागि नगरपालिकाले ८ लाख उपलब्ध गराउने समूहकी अध्यक्ष राईले बताइन् । निर्माणाधीन भवनको काम पूरा गर्नका लागि आर्थिक अभाव भएकाले देउसी खेलेर रकम जुटाउनअघि सर्नु परेको समूहले जनाएको छ ।

कृषि सहकारीमार्फत महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको नीति अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको थियो । तरकारी खेती, फूल खेती, सिन्के धूप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारिएको हो ।

कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने बाध्यताबाट महिलालाई मुक्ति दिलाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् ।

प्रकाशित मिति: २१ कार्तिक २०७८, आईतवार १९:००