१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ग्रामिण पर्यटनबाट आर्थिक सम्बृद्धिमा योगदान बढाउन भिटोफ अध्यक्षमा मेरो उम्मेदवारीः पाण्डे


गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले पर्यटन प्रवर्द्धन लागि काम गर्दै आएको छ । यस संस्थाको यही साउन १५ गते अधिवेशन हुँदैछ । अधिवेशनमा आशा लाग्दा युवा पर्यटन व्यवसयी बासु पाण्डे अध्यक्षको उम्मेदवार बन्दैछन । नेपाल सोसल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको प्रमुखसमेत रहेका पाण्डे राष्ट्रले लिएको आर्थिक सम्बृद्धिकाे सपना पर्यटनका माध्यमबाट पूरा गर्न सकिने बताउँछन । उनै पाण्डेसँग भिटोफको आगामी निर्वाचनका बारेमा केन्द्रीत रहेर गरिएको कुराकानी ।

भिटोफको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
२२ वर्षको इतिहास बोकेको भिटोफ नेपालमै महासचिवको जिम्मेवारी निर्वाह गरेँ । गाउँ पर्यटनलाई नयाँ तरिकाले लैजाने र आर्थिक सम्बृद्धिकाे एजेण्डासँग जोड्ने योजनाकासाथ मैले गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ नेपालको आगामी साधारण सभामा अध्यक्षको उम्मेदवारी दिएको छु । हाम्रो वर्तमान कार्यसमितिले पनि राम्रो काम गरेको छ । तर अझै धेरै राम्रो काम गर्न भिटोफमा मेरो नेतृत्व आवश्यक देखेको छु । नेपालमा ग्रामिण पर्यटनकै धेरै सम्भावना रहेको छ । तर, संभावना हुँदाहुँदै पनि हामीले ग्रामीण क्षेत्रमा पर्यटक लैजान सकेका छैनौं । त्यसका निम्ति मेरो मुख्य प्रयत्न हुनेछ ।

भिटोफका महासचिव बासु पाण्डे ।

ग्रामिण पर्यटनको प्रवर्द्धन गर्न स्थानीय देखि केन्द्र सरकारसम्मले पर्याप्त बजेट नै विनियोनन गरेर काम गर्न खोजेका छन जुन आर्थिक सम्बृद्धिसँग जोडिएको पाटो छ यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
–अहिले सबै तहका सरकारले पर्यटनका निम्ति छुट्याएको बजेटले हामी निजी क्षेत्र एकदमै उत्साहित भएका छौँ । तर बजेटको कार्यान्वय कसरी हुन्छ भन्ने चाहिँ निकै चुनौतिपूर्ण रहेको छ । हामी यसलाई रचनात्मक रुपमा पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने गरी अघि बढोस भन्ने चाहन्छौँ । त्यसकारण हामी सम्भव भएसम्म सबै सरकारसँग समन्वय गरेर ग्रामिण पर्यटनको विकासका निम्त काम गर्नेछौँ ।

पर्यटनमा ग्रामिण क्षेत्रको भूमिका त अहिले पनि देखिन्छ तर किन नगन्यमात्रै भयो ?
–ग्रामिण क्षेत्रले पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि त्यहाँबाट फाईदा लिन स्थानीय जनताले सकेक छैनन् । मेरो मान्यता भनेको ग्रामिण जनताले पनि पर्यटनबाट पर्याप्त फाईदा लिनुपर्छ भन्ने हो । अहिले अलि बढी व्यवसायीहरुले नाफा लिने तर, ग्रामिण क्षेत्रमा चाहीँ अलि कम मुनाफा भएको छ । गाउँमा पर्यटक लगेर प्रसस्त मात्रामा गाउँकै जनताले आर्थिक लाभ दिलाउनको लागि मेरो प्रयास रहनेछ । ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च भनेको व्यावसायीको मात्रै होईन, गाउँमा बसेर होम स्टे चलाउनेहरुको पनि हो । यसको मुख्य लक्ष नै गाउँमा पर्यटक लैजाने र ग्रामिण क्षेत्रको विकास गर्ने हो । त्यसकारण यी कुरामा विशेष ध्यान दिएर अघि बढिन्छ ।

पर्यटन मार्फत समाजको विकासमा पनि सहयोग गर्न सकिन्छ की ?
–पर्यटक लाने र पर्यटकले खाने बस्ने र पैसा तिर्ने मात्रै होईन उनीहरुले सामाजिक क्षेत्रमा योगदा दिन सक्छन् । हामीले प्रोत्साहन दिन पनि सक्छौं । हामीले गाउँका विद्यालय बनाउन, शौचालय बनाउनका लागि उहाँहरुसँग सहकार्य गर्न सक्छौं । जनतासम्म पर्यटकको पहुँच लैजान सकियो भने समाजको विकासमा पनि योगदान दिन सक्छौँ ।

तपाई अध्यक्षमा निर्वाचित हुनुभयो भने चाहिँ के गर्नुहुन्छ ?
–ग्रामिण क्षेत्र पर्यटनको ठूलो सम्भावना भएको क्षेत्र हो तर, ग्रामीण क्षेत्र पछाडी पर्दै आएको छ । नयाँ डेस्टिनेशनहरु पत्ता लगाउने, ग्रामिण क्षेत्रमा नयाँ होम स्टेहरु निर्माण गर्ने अथवा पत्ता लगाउन आवश्यक छ । अहिले ग्रामिण क्षेत्रमा विकासको नाममा डोजर लगाउने काम भइरहेको छ । जसले ग्रामिण क्षेत्रको प्राकृतिक संरचनामा ठूलो क्षति पुगेकाे छ । ऐतिहासिक धरोहरहरु जिर्ण बन्दै गएका छन् । चौताराहरु भत्काइएका छन् । पर्यटकिय महत्व राख्ने स्थलहरु भत्किराखेको अवस्था छ । हाम्रो गाउँका मौलिक संस्कृति र संस्कारको विकासममा हामीले धेरै काम गर्नुपर्ने छ । हलो जाेतेको हेर्नैका लागि पनि हामीले पर्यटक लैजान सक्छौँ तर त्यसका निम्ति व्यवस्थित योजना आवश्यक हुन्छ त्यसलाई व्यवस्थित रुपमा ग्रामिण पर्यटनको विकासका निम्ति एउटा गुरु योजनानै बनाएर काम गर्छु ।

मतदाताका लागि के भन्नुहुन्छ ?
अबको भिटोफ नेपाल हामी सबै नेपालीको हुनुपर्छ । दूरदराजसम्म पुगेर हामीले आफ्नो उपस्थिती देखाउनुपर्छ । नेपालको ग्रामिण पर्यटनलाई विश्वभर चिनाउने हाम्रो अभियान बन्नुपर्दछ । यीनै अभियानको लागि म भिटोफ नेपालको अध्यक्षमा उम्मेदवार हुँदैछु । साथीहरुको साथ पाएँ भने पर्यटन क्षेत्रका संस्थाहरु मध्ये भिटोफलाई अब्बल बनाएर अघि बढाउने छु ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १२:२२