१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दीपक कलाकार, निर्देशक निश्चल


१४ कात्तिक काठमाडौं । टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६, वडा नम्बर ६ सँगै छक्का पन्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् ।

निर्देशक निश्चल बस्नेतले डेब्यु फिल्म ‘लूट’ मै आफूलाई स्थापित गराउन सफल भए । उनको फिल्मले नेपाली फिल्म बन्ने शैलीलाई नै परिवर्तन गरिदियो । निश्चलले नेपाली फिल्मको शैलीमा नयाँपन दिएको दीपक पनि स्वीकार गर्छन् ।

गत शुक्रबार कीर्तिपुरस्थित सञ्चालनमा आएको हल कीर्तिपुर सिनेप्लेक्सको उद्घाटनमा पुगेका दीपकले निश्चलको फिल्मपछि कथा र पात्रलाई ध्यान दिने क्रम बढेको बताए । ‘कथा र पात्र नै फिल्मको हिरो हो । हिरोले पात्रलाई बलियो बनाउने होइन भन्ने सोचाई विकसित भयो,’ दीपकले भने ।

निश्चलकी पत्नी तथा अभिनेत्री स्वस्तिमा खड्काले छक्का पन्जामा काम गरेपछि दीपक र निश्चल नजिकिएका हुन् । बेलाबखतमा निश्चल र स्वस्तिमासँग दीपक र दीपाश्री निरौलाले जमघट गर्ने गरेका छन् । के यो सहकार्यको संकेत हो ? दीपकले कुराकानी भइरहेको स्वीकारे । ‘केही समयमै हाम्रो सहकार्य हुने फिल्म घोषणा हुन्छ भन्नु हतार हुन्छ । तर, कुराकानी भइरहेका छन्,’ दीपकले भने ।

उनले अब सहकार्यले नै नेपाली फिल्मलाई चलायमान बनाउनेमा जोड दिँदै आफू अन्य फिल्मकर्मीहरूसँग पनि सहकार्यका लागि तयार रहेको बताए । उनले निश्चलको निर्देशनमा आफूले अभिनय गर्ने इच्छा जाहेर गरे । ‘म उहाँको निर्देशनमा कलाकार भएर काम गर्न तयार छु,’ दीपकले भने । निश्चलले पनि आफूलाई फिल्ममा काम गर्दा निर्देशनमा मज्जा आउने बताए ।

‘फिल्ममा मेरो प्राथमिकता निर्देशन नै हो । त्यसपछि मात्र अन्य रूपमा म अगाडी आएको हुँ,’ निश्चलले भने । उनी दीपकलाई निर्देशन गर्ने कथा पाएमा अवश्य फिल्म अफर गर्ने बताए । यद्यपि उनले यो समय दर्शकलाई हल सुरक्षितको सन्देश दिनु पर्ने र निर्माताको लगानी पनि सुरक्षित हुने फिल्म ल्याउनु पर्ने रहेको बताए ।

‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ,’ निश्चल भन्छन्, ‘अन्ततः फिल्ममा जोडिने भनेकै बिजनेस हो, त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १९:१८