दैनिकी

  • १४ कार्तिक २०७८, आईतवार १९:०३

रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

१४ कात्तिक रसुवा । रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका कोरोना विरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । जसमध्ये २८ हजार ९ सय ३६ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाएका छन् । जुन ९९.४१ प्रतिशत हो ।

अब १ सय ७० जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । २० हजार ५२ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् ।

त्यसैगरि, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९०.५३ प्रतिशतले पाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । १९ हजार २८ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् ।

एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । ४ असार १ सय ३९ जनाले एष्टाजेनेकाको खोप लगाइएको जनाइएको छ । करिब १२ सय जनालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।

गएको भाद्र १६ गतेदेखि पहिलो मात्राको भेरोसेल खोप लगाएका व्यक्तिले २१ दिनपछि दोस्रो मात्राको खोप पाएका थिए । एष्टाजेनेकाको पहिलो मात्राको खोप लगाएको ८ हप्तापछि मात्र नागरिकले दोस्रो मात्राको खोप पाएका छन् ।

असोज महिनाभित्र १८ वर्ष माथिका योग्य सबैलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्यपछि धकेलिएको छ । दुई महिनापछि मात्र दोस्रो खोप लगाउनुपर्ने भएकाले लक्ष्य अनुसार पूर्ण खोपयुक्त जिल्ला निर्माणमा ढिलाइ भएको बताइएको छ ।

खोप लगाउन बाँकीलाई लगाउने खोप जिल्लामा पर्याप्त रहेकाले कात्तिक अन्तिमसम्ममा पूर्ण खोपयुक्त जिल्ला हुने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आईतवार १९:०३